पहिलो खण्ड कोटेश्वर–कलंकीको निर्माण सकिएको ६ वर्ष बितिसक्दा पनि दोस्रो खण्ड कलंकी–वसुन्धरा विस्तारका लागि डिपिआर नै बनेको छैन, यात्रु र सडकआसपासका बासिन्दा धुलो र हिलोले हैरानी खेपिरहँदा आयोजना कहिले सुरु हुन्छ निश्चित छैन
काठमाडौं चक्रपथको पहिलो खण्ड कोटेश्वर–कलंकीको निर्माण सकिएको ६ वर्ष बितिसक्दा पनि दोस्रो खण्ड कलंकी–वसुन्धरा विस्तार अनिश्चित बनेको छ । पहिलो खण्डजस्तै चीनको आर्थिक तथा प्राविधिक सहयोगमा बनाउने सम्झौता भएको दोस्रो खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत नबनेको हो ।
८.२ किलोमिटर लामो यो खण्डको विस्तार दुई वर्षभित्र सक्ने गरी ४ माघ ०७४ (१७ जनवरी २०१८) मा नेपाल र चीनबीच सम्झौता भएको थियो । ०७५ असार (जुलाई २०१८) मा पहिलो खण्ड विस्तार सकाएर हस्तान्तरण भएपछि दोस्रो खण्डले गति लिने अपेक्षा गरिएकोमा अझैसम्म अलपत्र छ । सडक कहिले बन्न सुरु हुन्छ भन्ने टुंगो छैन । यात्रु र सडकआसपासका बासिन्दाले धुलो र हिलोको सास्ती खेपिरहेका छन् । साइट क्लियरेन्स तथा सर्भिस ट्र्याक निर्माणका क्रममा पुरानो सडक अव्यवस्थित र साँघुरो भई ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त भएको छ ।
पहिलो खण्ड विस्तारमा पनि ढिलाइ भएपछि आलोचना खेपेको चिनियाँ पक्षले दोस्रो खण्ड समयमै सक्ने अपेक्षा गरिएको थियो । तर, अपेक्षाअनुसार काम हुन सकेन । आयोजना नै सक्ने भनिएको दुई वर्षमा साइट क्लियरेन्स (सडकले चर्चेको क्षेत्र खाली गर्ने), स्थलगत अनुगमन, विस्तृत सम्भाव्यता अध्ययनलगायतका काम मात्रै भए । साइट क्लियरेन्स गर्ने काम नेपाल पक्षको हो, तर पूरै क्लियरेन्स भने अझै पनि भइसकेको छैन ।
सन् २०१९ डिसेम्बरमा विश्वव्यापी कोभिड सुरु भएपछि चीनले चक्रपथ विस्तारका सबै काम स्थगित गरिदियो । करिब दुई वर्षपछि ०७८ मंसिर (डिसेम्बर २०२१) मा मात्रै चिनियाँ प्राविधिक टोली आएर चक्रपथ दोस्रो खण्ड विस्तार आयोजनाको स्थलगत अनुगमन गर्यो । तर, कामले गति भने लिएन । त्यसको एक वर्षपछि ०७९ मंसिरमा पनि एक चिनियाँ टोली आएर अर्को एक वर्षभित्र डिपिआर बुझाउने बताए । तर, अझैसम्म डिपिआर निर्माणका लागि बनाइएको मस्यौदा नै स्वीकृत हुन सकेको छैन ।
चीन र नेपाल दुवै पक्षको पालैपालो खेलाँची
दुई वर्षभित्र सक्ने भनिएको आयोजनाको साइट क्लियरेन्स नै समयमा हुन सकेन । साइट क्लियरेन्सको काम नेपाल पक्षको हो । चीनले सुरुमा साइट क्लियरेन्स नभएको र त्यसपछि कोभिडको कारण देखाउँदै डिपिआर निर्माणमा ढिलासुस्ती ग¥यो । अहिले फेरि नेपाल सरकारकै कारण आयोजना अलमलमा छ । चीनले पठाएको डिपिआर बनाउनेसम्बन्धी सम्झौताको मस्यौदा तीन महिनादेखि स्वीकृत नहुँदा प्रक्रिया अघि बढ्न सकेको छैन । अहिले उक्त फाइल अर्थ मन्त्रालयमा अड्किएको छ ।
चीनले डिपिआर बनाउन गत मार्च १५ (२ चैत ०८०) मा लेटर अफ एक्सचेन्ज (डिपिआर बनाउनेसम्बन्धी सम्झौताको मस्यौदा) पठाएको थियो । त्यसमा द्विपक्षीय हस्ताक्षर हुनासाथ चीनले परियोजनाको डिजाइनसम्बन्धी काम सुरु गर्ने जानकारी दिएको छ । तर, अर्थ मन्त्रालयले अझै त्यो स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाउन सकेको छैन ।
लेटर अफ एक्सचेन्जको मस्यौदामा सडकको चौडाइ तथा लम्बाइ, त्यहाँ बन्ने संरचनालगायतका आधारभूत विषयको विवरण हुन्छ । मस्यौदामा चीनले निर्माण सामग्री तथा उपकरण नेपाल ल्याउँदा भन्सार छुट पाउनुपर्ने माग पनि गरेको छ । यस विषयमा सम्झौता भएपछि सोही आधारमा परियोजनाको डिपिआर तयार गरिन्छ । तर, अर्थ मन्त्रालयले यस विषयमा अझै निर्णय गर्न सकेको छैन ।
मन्त्रालयका एक उच्च अधिकारीले भने चिनियाँ पक्षबाट डिपिआर बनाउनेसम्बन्धी सम्झौताको मस्यौदा हेरफेर गरेर दोस्रोपटक आएकाले प्रक्रियामा ढिलाइ भएको बताए । ‘डिपिआर बनाउन गरिने सम्झौतापत्र (लेटर अफ एक्सचेन्ज) को मस्यौदा चिनियाँ पक्षबाट आएको थियो । त्यसमा हामीले कानुन र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको राय लिएर स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेका थियौँ । तर, बीचमा चिनियाँ पक्षले मस्यौदा हेरफेर गरेर पुनः पठायो,’ उनले भने, ‘सम्बन्धित मन्त्रालयहरूसँग दोस्रोपटक राय लिनुपर्दा केही ढिलाइ भएको हो । यद्यपि, अर्थ मन्त्रालयले यसमा आवश्यक समन्वय गरिरहेको छ ।’
उनले डिपिआर र ठेक्काको टुंगो एकैपटक लगाउने गरी काम गर्न चिनियाँ दूतावासलाई आग्रह गरेको पनि जानकारी दिए । सम्भाव्यता अध्ययन विस्तृत रूपमा गरिसकेकाले डिपिआर टुंगो लाग्नेबित्तिकै काम अघि बढ्ने उनको भनाइ छ । अर्थ मन्त्रालयले सरोकारवाला निकायको राय लिएर उक्त मस्यौदा मन्त्रिपरिषद् पठाउनुपर्नेछ । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि चीन र नेपालबीच यससम्बन्धी सम्झौता हुनेछ ।
सडक विभागका वरिष्ठ डिभिजनल इन्जिनियर तथा काठमाडौं चक्रपथ सुधार योजनाका प्रमुख कृष्णनाथ ओझाले चिनियाँबाट आएको लेटर अफ एक्सचेन्जमा केही प्र्राविधिक सुझावहरू थपेर एक महिनाअघि अर्थ मन्त्रालयमा पठाएको बताए । तर, त्यसपछिको प्रगतिबारे जानकारी नआएको उनको भनाइ छ । काठमाडौं चक्रपथ सुधार आयोजनाका इन्जिनियर रामबिहारी चौधरीले साइट क्लियरेन्स करिब–करिब सकिएको भन्दै चिनियाँ पक्षबाट के भइरहेको छ भन्ने जानकारी आफूहरूसँग नभएको बताए ।
निर्माण कार्य सुरु हुन अझै कम्तीमा एक वर्ष लाग्ने
प्रक्रियागत काम सरासर गर्दा पनि परियोजनाको निर्माण कार्य सुरु हुन अझै न्यूनतम एक वर्ष लाग्ने चिनियाँ पक्षहरूले नै बताउँदै आएको अर्थ मन्त्रालय तथा सडक विभाग अधिकारीहरू बताउँछन् । लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएपछि मात्रै डिपिआर निर्माणको काम अघि बढाउने चिनियाँ पक्षको अडान छ । तर, लेटर अफ एक्सचेन्जमा कहिले हस्ताक्षर हुन्छ भन्ने अझै टुंगो छैन । हस्ताक्षर भएपछि पनि डिपिआर तयार गर्न न्यूनतम ६ महिना समय लाग्ने बताइएको छ । त्यसपछि बोलपत्र आह्वान गरेर निर्माण कम्पनी छनोट गर्दा थप ६ महिना लाग्ने अनुमान गरिएको छ । त्यो अवस्थामा अझै एक वर्ष चक्रपथ दोस्रो खण्डको विस्तार तथा स्तरोन्नतिको काम अघि नबढ्ने अधिकारीहरू बताउँछन् ।
कस्तो बन्छ चक्रपथको दोस्रो खण्ड ?
चीनले जुन ०२३ मा दोस्रो खण्डको विस्तारका लागि ‘टेक्निकल कन्फरमेसन’ पठाएको थियो । उक्त ‘टेक्निकल कन्फरमेसन’अनुसार काम भए पहिलो खण्डको भन्दा फरक डिजाइनमा दोस्रो खण्ड विस्तार हुनेछ ।
पहिलो खण्डमा कुल आठ लेनको सडक छ । बीचमा २–२ लेनको मुख्य सडक र दायाँ–बायाँ २–२ लेनको सर्भिस लेन छ । साथै, मेन लेन र सर्भिस लेनको बीचमा फुटपाथ छ । दोस्रो खण्ड भने फरक डिजाइनमा बनाइनेछ । दोस्रो खण्डको चौडाइ ६२ मिटर हुनेछ । त्यसमा बीचमा तीन मिटरको सेन्टर मिडियन (खाली ठाउँ) राखिनेछ । सोही मिडियनको दायाँ–बायाँ चार–चार लेनको मुख्य सडक बनाइनेछ । त्यसपछि दायाँ–बायाँ पौने तीन मिटरको फुटपाथ निर्माण गरिनेछ । मिडियनदेखि फुटपाथसम्मको चौडाइ ३८.८ मिटरको हुनेछ । यी सबै संरचना चिनियाँ पक्षले नै बनाउनेछ ।
फुटपाथपछि दायाँ–बायाँ चार–चार मिटरको ग्रिन बेल्ट (हरियाली क्षेत्र) बनाइनेछ । तर, यो चीनले बनाउने कि नेपालले भन्ने टुंगो लागेको छैन । हरियाली क्षेत्रपछि दुवै साइडमा ६–६ मिटरको सर्भिस लेन बनाइनेछ । सर्भिस लेनपछि दुवै साइडमा थप ५–५ फिटको फुटपाथ बनाइनेछ । सर्भिस लेन र बाहिरी फुटपाथ भने नेपाल सरकारले नै बनाउनेछ, त्यसको प्रक्रिया अघि बढिसकेको छ ।
त्यस्तै, विष्णुमती र स्युचाटारमा मोटरेबल पुल निर्माण गरिनेछ । चीनले यात्रुलाई बाटो काट्न सहज हुने गरी एउटा अन्डरपास फुटपाथ (सब–वे) बनाउने गरी टेक्निकल कन्फरमेसन पठाएको सडक विभागको भनाइ छ । चीनले एउटा ओभरपास बनाउने प्रस्ताव पनि गरेको छ । सडक विभागले नयाँ बसपार्कस्थित विष्णुमती नदीदेखि बसपार्कभित्रसम्म ओभर पास बनाइदिन प्रस्ताव गरेको छ । पश्चिम क्षेत्रबाट आउने गाडीहरूलाई बसपार्कभित्र प्रवेश गर्न सहज हुने गरी उक्त क्षेत्रमा ओभर पास बनाउन प्रस्ताव गरिएको विभागको भनाइ छ । यस्तै, साना खोल्साहरूमा पनि ओभरपास बनाउने गरी टेक्निकल कन्फरमेसन आएको विभागको भनाइ छ ।
तर, युटिलिटी करिडोर भने त्यसमा समावेश छैन । पछिल्लो समय यस्तो करिडोरको महत्व बढ्दै गएको छ । एकैठाउँमा खानेपानीको पाइप, इन्टरनेटको तार, बिजुलीका तारलगायत सामग्री बिछ्याउन (राख्न) युटिलिटी करिडोर प्रभावकारी हुन्छ । अव्यवस्थित तारहरूलाई व्यवस्थित गर्न सजिलो हुन्छ । तर, नेपालले आग्रह गर्दागर्दै पनि चिनियाँ पक्षले त्यसलाई डिजाइनको प्रारम्भिक खाकामा राखेको छैन । युटिलिटी करिडोर नेपालकै लगानीमा बनाउने सहमति भए पनि चीनको प्रारम्भिक खाकामा नसमेटिएकोमा डिपिआरमा सम्बोधन गर्न सकिने विभागका अधिकारीहरू बताउँछन् ।
साइट क्लियरेन्स गर्न नसक्दा दोस्रो खण्ड विस्तार योजना वसुन्धरासम्म मात्रै
चिनियाँ अनुदानमा १९७७ मा निर्माण गरिएको २७ किमि लामो चक्रपथको विस्तार चीनकै अनुदानमा गर्ने सम्झौता पहिल्यै भएको थियो । त्यसैअनुसार पहिलो चरण कोटेश्वर–कलंकी विस्तार भयो । लगत्तै, दोस्रो खण्डअन्तर्गत कलंकीदेखि धोबीखोला(चाबहिल)सम्म ११.६ किमि विस्तार गर्ने सम्झौता भयो । तर, नारायणगोपाल चोकदेखि धोबीखोलासम्म साइट क्लियरेन्स हुन नसकेपछि कलंकी–वसुन्धरा ८.२ किमि मात्रै विस्तार हुने भएको छ । नारायणगोपाल चोक क्षेत्रमै मुआब्जाको विवाद छ ।
वसुन्धरादेखि कोटेश्वरसम्मको खण्ड विस्तारको विषयमा त कुनै टुंगो नै लागेको छैन । उक्त खण्डको सर्भे डिजाइन गर्न आगामी आर्थिक वर्षको बजेटमा रकम विनियोजन भएको सडक विभागको भनाइ छ । तिलगंगादेखि कोटेश्वरसम्मको विस्तारबारे सडक डिभिजन काठमाडौंले तीन वर्षअघि एक अध्ययन गरेको थियो । अध्ययनले आयोजना निर्माणमा बढी लगानी लाग्ने देखाएपछि तत्काल उक्त खण्ड विस्तार नगर्ने मनसायमा सरकार पुगेको बताइन्छ ।
चक्रपथ विस्तार टाइमलाइन
- ३ पुस ०६९ (१८ डिसेम्बर २०१२) : पहिलो खण्ड (कोटेश्वर–कलंकी) विस्तार गर्न नेपाल र चीनबीच सम्झौता
- २ चैत ०६९ (१५ मार्च २०१३) : पहिलो खण्ड विस्तारको काम सुरु
- ४ माघ ०७४ (१७ जनवरी २०१८) : दोस्रो खण्ड (कलंकी–धोबीखोला) विस्तार गर्ने गरी नेपाल र चीनबीच सम्झौता
- असार ०७५ (जुलाई १०१८) : पहिलो खण्ड विस्तारको काम सम्पन्न
- मंसिर ०७८ (डिसेम्बर २०२१) : चिनियाँ प्राविधिक टोलीद्वारा आयोजनास्थल (दोस्रो खण्ड) अनुगमन
- कात्तिक ०७९ (नोभेम्बर २०२२) : एक चिनियाँ विशेष प्रतिनिधिको अनौपचारिक अध्ययन
- मंसिर ०७९ (नोभेम्बर/डिसेम्बर ०२२) : चिनियाँ प्रतिनिधिमण्डलको भ्रमण, एक वर्षमै डिजाइन बुझाउने प्रतिबद्धता
- ११ फागुन ०७८ ः तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठसहितको अनुगमन
- चैत ०८० (१५ मार्च ०२४) : चीनबाट लेटर अफ एक्सचेन्जको मस्यौदा प्राप्त
लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएपछि मात्रै डिपिआर निर्माणको काम अघि बढाउने चिनियाँ पक्षको अडान छ । तर, लेटर अफ एक्सचेन्जमा कहिले हस्ताक्षर हुन्छ भन्ने अझै टुंगो छैन । हस्ताक्षर भएपछि पनि डिपिआर तयार गर्न न्यूनतम ६ महिना समय लाग्ने बताइएको छ । त्यसपछि बोलपत्र आह्वान गरेर निर्माण कम्पनी छनोट गर्दा थप ६ महिना लाग्ने अनुमान छ । त्यो अवस्थामा अझै कम्तीमा एक वर्ष चक्रपथ दोस्रो खण्डको विस्तार तथा स्तरोन्नतिको काम अघि नबढ्ने अधिकारीहरू बताउँछन् ।
मुद्दा संसद् प्रवेश : प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
चक्रपथ विस्तारमा विलम्ब भएर सडक अस्तव्यस्त हुँदा लाखौँ नागरिकको जीवन कष्टकर बन्दै गएको भन्दै प्रदीप पौडेलको नेतृत्वमा कांग्रेस र रास्वपाका सांसदले संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । सन् २०१८ मा भएको समझदारीपत्रले उल्लेख गरेको समयसीमालाई आधार मान्दा निर्माण सुरु गर्न अझै धेरै खुड्किला पार गर्नुपर्ने र काम सम्पन्न गर्न धेरै वर्ष लाग्ने निश्चित भएको संकल्प प्रस्तावमा उल्लेख छ । राजधानीकै मुटुमा सडकको एउटा खण्ड वर्षौँसम्म अलपत्र रहिरहँदासमेत राज्यको जवाफदेहिता कतै नदेखिएको भन्दै ध्यानाकर्षण गराइएको छ । ‘आयोजना ढिलो हुँदा नागरिकको स्वास्थ्यमा प्रतिकूल असर परेको छ । सामाखुसीको ढलमा परेर मान्छे मरेको छ । राजधानीको मुटुमा रहेको र सम्झौता भइसकेको आयोजना सरकारले सुरु गर्न सक्दैन भने के गर्न सक्छ ?’ पौडेलको प्रश्न छ । नेपाल पक्षले डिपिआर परिवर्तनको माग गरेकाले काम अगाडि बढ्न नसकेको भन्दै पहिलाकै डिपिआरअनुसार भए पनि निर्माण अगाडि बढाउनुपर्ने उनको माग छ ।
किशोर थापा, पूर्वसचिव एवं पूर्वाधारविज्ञ : आमजनतामा काठमाडौं महानगरपालिका, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केही गर्न सकेन भन्ने छ । तर, यो परियोजना नेपालको हातमा छैन । लगानी, निर्माण र ठेकेदार सबै चीनकै हुन्छ । तर, यो परियोजना बन्ने हाम्रो लागि हो । निर्माण सकिएपछि सञ्चालन र व्यवस्थापन पनि नेपालले नै गर्ने हो । तसर्थ, यो परियोजना नेपालको चाहनाअनुसार बन्नुपर्छ ।
रामबिहारी चौधरी, इन्जिनियर, काठमाडौं : चक्रपथ सुधार आयोजना हामीले नेपाल सरकारको तर्फबाट गर्नुपर्ने पोल हटाउने, जग्गा अधिग्रहण, रुख कटानलगायतको काम लगभग सकाएका छौँ । डिपिआर के हुँदै छ र चीनले कहिलेदेखि काम गर्छ भन्ने जानकारी भएन । हाल कलंकीदेखि स्वयम्भूसम्म आयोजनाको सर्भिस ट्र्याक निर्माण सम्पन्न भइसकेको छ भने स्वयम्भूदेखि–धोबीखोलासम्मको काम पनि थालिएको छ ।