सुन तस्करीमा संलग्न छुटाइदिने भन्दै पूर्वडिएसपीद्वारा साढे आठ लाख असुली

शनिबार, ९ असार, २०८१
डिजिटल संस्करण

सुन तस्करी तथा हुन्डी कारोबारमा संलग्नलाई छुटाइदिने भन्दै नेपाल प्रहरीका पूर्वडिएसपीले पैसा असुली गरेका छन् । पूर्व डिएसपी कृष्णप्रसाद (केपी) शर्माले पक्राउ परेका व्यक्तिका आफन्तसँग पैसा लिएका हुन् ।

सिआइबीले उनलाई शुक्रबार पक्राउ गरेको छ । मुद्दा मिलाइदिन्छु भन्दै शर्मा र झविन्द्र खत्रीले साढे आठ लाख रुपैयाँ लिएका थिए । सोही सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए । 

उनीहरुले पेवेल नेपालका कार्यकारी अधिकृत प्रज्वल आचार्यसहितका व्यक्तिसँग पैसा लिएका हुन् । सिआइबी स्रोतका अनुसार पक्राउ नै नपरी उनीहरुले सिआइबीमा सेटिङ मिलाएर मुद्दा मिलाइदिने भन्दै डिल गर्न गएका थिए । उनीहरुको मोबाइलमा सिआइबीले पेवेल नेपाल र सजिलोपेको सम्बन्धमा नेपाल राष्ट्र बैंकलाई लेखेको पत्र समेत बरामद भएको छ । 

पक्राउ परेका पूर्वडिएसपी शर्मा सेवामा रहँदा पनि विवादास्पद छवीका अधिकृत हुन् । अपराधिक समूहसँग मिलेर पैसा असुलेको आरोपमा उनी कारबाहीमा परेका थिए । अवकाशपछि पनि अवैध गतिविधिमा संलग्न रहेको खुलेको छ । प्रहरीका अन्य मुद्दा समेत मिलाइदिने भन्दै पैसा उठाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनीसँगै पक्राउ परेका खत्री पहिला बैंकमा काम गरेका कर्मचारी हुन्। 

सुन तस्करीको पैसा पेवेल र सजिलोपे नामक डिजिटल मोबाइल वालेट कम्पनीमार्फत विदेशमा भुक्तानी भएको खुलेपछि सिआइबीले ती कम्पनीमाथि छानविन थालेको थियो । उनीहरुले नेपालमा सुन किन्नेसँग पैसा लिने र विदेशबाट आउने रेमिटेन्स सुन तस्करी गर्ने चिनियाँ गिरोहका सदस्यलाई दिने गरेको अनुसन्धानले देखाएको छ । 

सिआइबीले पेवेल नेपालका अध्यक्ष भिमप्रसाद तिमल्सिना, सञ्चालक सुरज शमशेर जबरा, प्रज्वल आचार्य, सजिलो पेका अध्यक्ष सुनिल जाकिबन्जा लगायतलाई समेत पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

गत वर्ष विमानस्थलबाट पास भएको ६० केजी सात १६ ग्राम बरामद गरी अनुसन्धान गर्दा सो समूहले एक वर्षमा करिब तीन हजार केजी सुन तस्करी गरेको खलेको छ । पहिलो चरणमा गत वर्ष २९ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ ।

दोस्राे चरणमा सिआइबीले २० जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । आगामी साता अनुसन्धान टुंगाउने गरी अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।

सुझावित समाचार