बुटवलकोे डेल्टा कम्प्लेक्समा लागेको आगो झन्डै आठ घण्टामा निभेको छ । आगलागीबाट करिब ५० करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । बिहीबार साँझ साढे ६ बजेबाट लागेको आगो शुक्रबार राति २ बजेतिर बल्ल नियन्त्रणमा आएको थियो । कम्प्लेक्समा लागेको आगोले भवनसँगै भित्र रहेका सामानहरू पूर्ण रूपमा जलेर नष्ट भएपछि निभेको हो ।
आगलागीपछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक नगरपालिका, नवलपरासीका बर्दघाट र परासी, कपिलवस्तुको वाणगंगा तथा नेपाल आयल निगम भलबारी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत गरी १३ वटा दमकल आगो नियन्त्रणमा प्रयोग गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले बताए ।
कम्प्लेक्सनजिक मोटर ग्यारेज, दुईवटा पेट्रोल पम्प र बाक्लो बस्ती रहे पनि अन्यत्र आगो फैलिनबाट जोगाइएको थियो । मेटल स्ट्रक्चरमा निर्माण गरिएको चारतले भवनको चौथो तलामा रहेको डेल्टा एजुकेसन मार्टको पश्चिमतर्फबाट साँझ साढे ६ बजेदेखि आगलागी सुरु भएको थियो।
करिब ३० हजार स्क्वायर फुट क्षेत्रफलमा बनेको कम्प्लेक्समा स्टेसनरी, झन्डै दुई दर्जनभन्दा बढी विद्यालयका तयारी पोसाक, खेलकुदका सामग्री, नेपाली लुगाघर, जुत्ता बजार र खाद्यान्नका मार्ट सञ्चालनमा थिए ।
फलाम र प्यानलबोर्डबाट बनेको चारतले भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ । चौथो तलाबाट सुरु भएको आगो एकैपटक सबै तलामा फैलिएको थियो। कम्प्लेक्सको माथिल्लो तलामा डेल्टा एजुकेसन मार्ट रहेको थियो भने अन्य तीनवटा तलामा नेपाली जुत्ता बजार, नेपाली लुगाघर र खाद्यान्न पसल थिए । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहे पनि करिब ५० करोडबराबरको क्षति भएको हुन सक्ने जनाइएको छ ।
बुटवलका ठूला व्यवसायी र शिक्षण पेसाका अगुवाहरूले पाँच वर्ष पहिले सञ्चालन गरेको डेल्टा एजुकेसन मार्टमा पछिल्ला दुई वर्षदेखि नेपाली जुत्ता घर र नेपाली लुगाघर पनि सञ्चालन गरिएको कम्प्लेक्सका सञ्चालक घनश्याम पाठकले जानकारी दिए।