औद्योगिक ग्रामका लागि लगानीमैत्री वातावरण बनाउन माग

बिहिबार, ७ असार, २०८१
डिजिटल संस्करण

तातोपानी गाउँपालिका– ४ गिडिखोलाको रातेखोलामा औद्योगिक ग्राममा लगानीमैत्री वातावरण बनाउन माग गरिएको छ। उद्यमी रामकृष्ण चौलागाईंले औद्योगिक ग्राम निर्माणसम्बन्धी प्रारम्भिक वातावरण परीक्षण अध्ययन प्रतिवेदनको सार्वजनिक सुनुवाइ तथा बहस कार्यक्रममा यस्तो बताएका हुन् । 

उनले यस औद्योगिक ग्राममा लगानी गर्ने वातावरण बनेपछि पानी उद्योग सञ्चालन गर्ने बताएका छन्। उनले भने, ‘जुम्लाका खोलानालामा पानी बगिरहेका छन्। तर, अहिले पानीका बोतल, जार बाहिर जिल्लाबाट आउने गर्छन्। हाम्रो पैसा बाहिर जिल्ला गइरहेको छ। यो राम्रो पक्ष होइन ।’ 

औद्योगिक ग्राममा आवश्यक भौतिक संरचना, सडक, बिजुली, पानी, उद्योग श्रमिकका बालबालिका पठनपाठन गर्न मिल्ने मन्टेस्वरी स्कुलसहितको व्यवस्थापन हुनुपर्नेमा उनले जोड दिए ।  जसका कारण औद्योगिक ग्राम सञ्चालन गर्न सहज हुने उनले बताए । उनले भने, ‘सुरुमा औद्योगिक ग्राममा के–कस्ता उद्योग सञ्चालन गर्ने हो तिनै उद्योग सूचीकृत गरेर सोहीअनुसार भौतिक संरचना निर्माण गर्नुपर्दछ ।’

सामाजिक अभियन्ता धनबहादुर गौतमले औद्योगिक ग्राम निर्माणसम्बन्धी प्रराम्भिक वातावरण परीक्षण अध्ययन प्रतिवेदनमाथि टिप्पणी गरेका छन् । उद्योग सञ्चालनले वातावरणमा असर कसरी कम गर्न सकिन्छ भन्ने उपाय प्रतिवेदनमा नखोजिएको टिप्पणी गरे । 

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले  औद्योगिक ग्राम सञ्चालन गर्नका लागि जिल्लाभरका सरोकारवाला निकायको राय, सल्लाह, सुझाव लिन खोजिएको बताए । यसमा सबैको सहयोग गर्न आवश्यक रहेको औँल्याए ।
 
नागरिकको समृद्धिका लागि यस्ता औद्योगिक ग्राम सञ्चालन हुनेपर्ने संंविधान सभा सदस्य तथा पूर्वराज्यमन्त्री गोमा गौतमले बताइन् । 

औद्योगिक ग्रामको पहिलो चरणमा एक करोड ७० लाख लागतको घेराबार निर्माण भइसकेको छ । भ्याटसहित एक करोड ७० लाख लागतमा मेसिनरीवाल र घेराबार निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए । देशभर आठवटा औद्योगिक ग्राममध्ये जुम्लाको पनि एउटा औद्योगिक ग्राम हो । स्थानीय कच्चा पदार्थ उद्योगमा प्रयोग हुने गरी औद्योगिक ग्राम सञ्चालन गर्न थालिएको वडाध्यक्ष अमरबहादुर रोकायाले बताए ।

रातेखोलामा रहेको करिब १५ हजार ८८२ वर्गमिटर क्षेत्रफल सार्वजनिक जग्गामा औद्योगिक ग्राम निर्माण भइरहेको छ । स्थानीय स्रोत साधन, सीप, पुँजीको अधिकतम प्रयोग परिचालन रोजगारी सिर्जना गर्न कृषि तथा वन पैदावारसँग सम्बन्धित साना उद्योग स्थापना गर्ने डिपिआरमा उल्लेख छ।

स्थानीय राडीपाखी, आरन, काष्ठकलाजस्ता व्यावसायिक स्याउ तथा ओखर खेतीलगायतका परम्परागत उद्योग तथा खेती औद्योगिक ग्राममा सञ्चालन हुनेछन् । औद्योगिक ग्राम निर्माण गर्न १५ करोड बजेट लागत रहेको छ । डिपिआरअनुसार औद्योगिक ग्राममा जडीबुटी, फलफूल, पानी, काष्ठकला तथा साना उद्योग सञ्चालन गरिने उल्लेख छ । औद्योगिक ग्राम सञ्चालनपश्चात् स्याउ, सिमी, ओखर, जल, जमिन, जडीबुटीको उत्पादन वृद्धि, प्रशोधन तथा बजारीकरणमा सहज हुने अपेक्षा गरिएको छ ।

सुझावित समाचार