रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको सैन्य र प्राविधिक सहयोग स्वीकार गर्ने गरी गरेको सम्झौतामा जापान गम्भीर रूपमा चिन्तित भएको सरकारी प्रवक्ताले बताएका छन्।
प्योङयाङमा बुधबार उत्तर कोरियाली नेता किम जोङ–उनसँगको भेटवार्तामा राष्ट्रपति पुटिनले आक्रमणको समयमा एक–अर्कालाई सहयोग गर्ने प्रतिबद्धताका साथ रणनीतिक सम्झौतामा हस्ताक्षर गरेका थिए।
बुधबार हस्ताक्षर भएको सम्झौताअनुरूप रुसले उत्तर कोरियासँग सैन्य–प्राविधिक क्षेत्रमा आवश्यकताअनुसार सहकार्य गर्ने रुसी राष्ट्रपति पुटिनले सम्झौतापछि उत्तर कोरियाली सञ्चारमाध्यमसँगको कुराकानीमा बताएका थिए।
‘यसप्रकारको सहकार्यले हाम्रा देश र वरपरका क्षेत्रको सुरक्षा सन्दर्भमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को संकल्पको प्रत्यक्ष उल्लंघन गर्छ,’ जापान सरकारका प्रवक्ता योसिमासा हयासीले बताए।
‘जापान राष्ट्रपति पुटिनले उत्तर कोरियासँग सैन्य प्राविधिक सहयोग स्वीकार गरेको तथ्यलाई लिएर गम्भीर रूपमा चिन्तित छ,’ उनले भने। राष्ट्रपति पुटिनले उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्धको समीक्षा गर्नुपर्ने पनि बताए।
‘अन्तर्राष्ट्रिय समुदायको इच्छाविपरीत रुसले उत्तर कोरियाबाट ब्यालेस्टिक क्षेप्यास्त्रसहित हतियार र गोलाबारुद खरिद गरेको छ र संयुक्त राष्ट्र सुरक्षा परिषद्को संकल्पको स्पष्ट उल्लंघन गर्दै युक्रेन आक्रमणमा प्रयोग गर्दै आइरहेको छ,’ उनले भने।