कूटनीतिक होइन, आर्थिक दबाबले मात्र युद्ध अन्त्य गर्न सक्छ इजरायल

बिहिबार, ७ असार, २०८१
डिजिटल संस्करण

तेल अभिभका रेस्टुरेन्टहरू खचाखच छन् । उच्च प्रविधिको निर्यात अझै मजबुत छ । इजरायली मुद्रा ‘सेकेल’को मूल्य खस्किएको छैन । केही उपायका कारण गाजायुद्धले इजरायलको अर्थतन्त्रलाई खासै नछोएको देखिन्छ । तर, त्यहाँ एउटा वित्तीय तनाव भने छ र युद्ध जति लम्बिन्छ, यो त्यत्ति नै खराब हुँदै जानेछ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई अहिले चलिरहेको युद्धलाई सक्दो छिटो अन्त्य गर्न कूटनीतिक दबाब बढ्दो छ । मलाई भने उनलाई युद्ध अन्तका लागि बाध्य गर्ने कुरा कूटनीतिक शक्ति होइन कि आर्थिक शक्ति होला जस्तो लाग्दै छ ।

गत हप्ता मैले सन् २०२१ देखि २०२२ सम्म प्रधानमन्त्री रहेका नफ्ताली बेनेट र नेतन्याहुको राष्ट्रिय आर्थिक परिषद्का प्रमुख अभि सिम्होनसँग कुराकानी गरेको थिएँ । दुवैजना यो युद्ध चाँडै अन्त्य हुने र इजरायल यसबाट थप बलियो भएर निस्कनेमा आशावादी सुनिए । बेनेटले मलाई प्रवासिनुपर्छ कि भनी कुरा गर्न थालेका उच्च–प्रविधि क्षेत्रका इजरायलीले सैनिक, हमास पीडित र गाजा र लेबनानको सीमाक्षेत्रबाट विस्थापितहरूलाई मद्दत गर्न रचनात्मक कदम चालेको बताए । ‘यो युद्धले मानिसलाई आदर्शवादी बनाएको छ,’ उनले भने, ‘यो परिवर्तन हुनेवाला छैन ।’

मैले प्राज्ञिक अर्थशास्त्रीहरूसँग पनि कुरा गरेँ । उनीहरू भने चिन्तित सुनिए । ‘हामीले झट्काहरू सहन सक्छौँ भन्ने पटक–पटक प्रमाणित गरेका छौँ,’ तेल अभिभ विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक म्यानुएल ट्राज्टेनबर्गले भने, ‘सबैभन्दा ठूलो समस्याचाहिँ अनिश्चितता हो । यदि अत्यन्त अनिश्चितताका साथ यो एउटा खुला युद्धमा पुग्यो भने त्यसले भने क्षति पुर्याउँछ ।’

युद्ध जति लामो समय चल्छ, त्यति नै इजरायली कम्पनीले बहिष्कारजस्ता दबाबको सामना गर्नेछन् । त्यो बहिष्कार द्वन्द्व समाप्त भएपछि पनि चाँडै हटाउन सकिनेछैन । ‘प्रविधिज्ञहरूमा देशभक्तिको लहर लामो समय टिक्ने सम्भावना छैन,’ जेरुसेलमस्थित हिब्रु विश्वविद्यालयका अर्थशास्त्री इट्ज्चाक राजले भने, ‘युवा र शिक्षित इजरायली भविष्य नियालिरहेका छन् र उनीहरूले भविष्य उज्ज्वल देखिरहेका छैनन् । युद्धले यसलाई थप खराब मात्रै बनाएको छ ।’ इजरायलका राष्ट्रपति आइज्याक हर्जाेगले गत महिना इजरायल डेमोक्रेसी इन्स्टिच्युटको सम्मेलनमा ‘यो उत्तरी र दक्षिणी भेगका समुदायको पुनस्र्थापना, रिजर्भ सैनिकको अभाव, वर्तमान र भविष्यमा आकाश छुने अपरिहार्य सुरक्षा खर्च, युद्धको परिणामस्वरूप इजरायलमा लगानीमाथि मडराइरहेको खतरा र अन्तर्राष्ट्रिय व्यापारमा आउने परिवर्तनजस्ता युद्ध सिर्जित अर्थतन्त्रमा पर्ने प्रभावसँग जुझ्ने समय हो’ भएको टिप्पणी गरेका थिए । 

युद्ध जति लामो समय चल्छ, त्यति नै इजरायली कम्पनीले बहिष्कारजस्ता दबाबको सामना गर्नेछन् । त्यो बहिष्कार द्वन्द्व समाप्त भएपछि पनि चाँडै हटाउन सकिनेछैन ।

सन् २०२३ को अन्तिमताका हमासबाट करिब १२ सय व्यक्तिको नरसंहार र अन्य दुई सय ५३ जनाको अपहरण र हमासलाई जरैदेखि उखेलेर गाजाबाट फ्याँक्ने घोषित लक्ष्यका साथ इजरायलले सुरु गरेको आक्रमणपछि यहाँको आर्थिक उत्पादन खुम्चिन थालेको हो । इजरायल सरकारबाट सन् २०२४ का लागि कुल गार्हस्थ उत्पादन(जिडिपी)को ६ प्रतिशतभन्दा बढीको घाटा बजेट आउने प्रक्षेपण छ । विदेशी पर्यटक आउन रोकिएको छ भने वेस्ट बैंकबाट प्यालेस्टाइनी श्रमिकहरूलाई प्रवेशमा रोक लगाइएपछि कामदारको अभावले निर्माण क्षेत्र सुस्तिएको छ । श्रमशक्तिलाई सेनामा रिजर्भिस्टको रूपमा सेवाका लागि आह्वान गरिँदा प्रविधि क्षेत्रले पनि कर्मचारी अभावको सामना गर्नुपरेको छ । यसैगरी, मुडिज इन्भेस्टर्स सर्भिसले देशको क्रेडिट रेटिङ कटौती गरेको छ ।

पक्कै पनि इजरायल र गाजाको अवस्थाबीच कुनै तुलना हुन सक्दैन । गाजामा ३० हजारभन्दा बढी मानिस मारिइसकेका छन् । मारिनेमध्ये धेरै गैरलडाकु छन् । हजारौँ भवन माटोमा मिलेका छन् भने भोकमरीको स्थिति छ । प्यालेस्टिनी केन्द्रीय तथ्यांक विभागका अनुसार सन् २०२३ को अन्तिम त्रैमासमा गाजाको आर्थिक गतिविधि अघिल्लो वर्षको तुलनामा ८० प्रतिशतले घटेको छ ।

इजरायली अर्थतन्त्र भने चालू वर्षको पहिलो त्रैमासमा पुनरुत्थान भएको छ । प्रविधि उत्पादनको विश्वव्यापी मागमा निरन्तर वृद्धिले प्रविधि क्षेत्र उत्साहित छ । गत साता मात्रै जर्मन सफ्टवेयर कम्पनी एसएपीले १.५ अर्ब डलरमा तेल अभिभस्थित कम्पनी ‘वाकमी’लाई किन्ने घोषणा गरेको थियो ।

इजरायली सरकारका केही सदस्य युद्ध सिर्जित आर्थिक चुनौतीहरू व्यवस्थापनयोग्य रहनेमा आशावादी छन् । आर्थिक सहयोग तथा विकास संगठन (ओइसिडी)का अनुसार यस वर्षको अनुमानित बजेट घाटाले लगानीकर्तालाई निराश गर्नेछैन । देशको जिडिपीमा ऋणको अनुपात विकसित राष्ट्रहरूको औसतको करिब दुईतिहाइ मात्र छ । इजरायलको मापन विधिअनुसार यो अनुपात युद्धअघि ६० प्रतिशत थियो भने यो वर्षको अन्त्यसम्ममा यो अनुपात ६६ देखि ६७ प्रतिशत पुग्ने सम्भावना रहेको नेतन्याहुका सल्लाहकार सिम्होन बताउँछन् । अक्टोबर ७ मा हमासको आक्रमणपछि अमेरिकी डलरको तुलनामा सेकेल २५ सेन्टभन्दा तल झरेको थियो । तर, अहिले २७ सेन्टको हाराहारीमा उक्लिएको छ ।

‘अहिले साक्षात्कार गरिरहेको अवस्था नै सबैभन्दा खराब अवस्था हो । आगामी महिनामा हामीले युद्धको असर कम पाउनेछौँ,’ सिम्होनले भने । युद्ध समाप्त भएपछि ऋण–जिडिपीको अनुपात सन् २०२५ मा स्थिर हुने र त्यसपछि घट्ने सम्भावना भएको उनको तर्क छ । त्यसैले नेतन्याहुलाई कर वृद्धिको आवश्यकता नरहेको सल्लाह दिइरहेको उनले बताए ।

सरकारबाहिर भने आशावादिता कम छ । राजस्वको तात्कालिक आवश्यकताका लागि भन्दा पनि विश्वलाई इजरायल बजेट घाटालाई नियन्त्रणमा राख्न कटिबद्ध छ भन्ने विश्वास दिलाउन पनि कर वृद्धि विवेकपूर्ण हुने ठान्छन् ट्राजटेनबर्ग । तर, प्रायः इजरायले यस्तो गर्ने गरेको छैन । सन् १९७३ को योम किप्पुर युद्धपछि वृद्धि एक दशक सुस्तिएको थियो । युद्धको दुष्प्रभाव बैंकिङ असफलता, उच्च सरकारी खर्च र अन्ततः मुद्रास्फीतिमा चक्रवृद्धिमा अनुवाद भएको थियो । सन् १९८५ मा स्फीति वार्षिक ४५० प्रतिशतमा पुगेको थियो । सन् १९८५ पुनरावृत्तिको चिन्ता ऋणपत्र बजारमा प्रवेश गरेको देखिन्छ । १० वर्षे इजरायली सरकारी ऋणपत्रको प्रतिफल पछिल्लो समय १३ वर्षकै उच्च बिन्दुमा पुगेको छ । यसले लगानीकर्ताले जोखिमबापत थप प्रतिफल खोजेको तथ्यलाई नै प्रतिबिम्बित गर्छ ।

इजरायलको गाजा एक मात्र मोर्चा होइन । यो कुराले पनि अनिश्चितता थपिरहेको छ । हिजबुल्लाहले लेबनानबाट रकेट र ड्रोनबाट आक्रमण गर्दै आएको छ । गत हप्ता नेतन्याहुले ‘अत्यन्तै कडा’ सैन्य प्रतिक्रिया दिने धम्की दिए । हिजबुल्लाह हमासभन्दा शस्त्रास्त्रले सुसज्जित छ । त्यसैले ऊसँगको पूर्ण युद्ध ठूलो समस्या बन्नेछ । पहिलो जीवनको हानिमा, दोस्रो घर तथा कलकारखानाको विनाशमा र तेस्रो आन्तरिक विस्थापन र व्यवसायको अवरोधमा ।

यीमध्ये एउटा युद्ध समाप्त हुने र अर्काे टरेर जाने मान्दा पनि इजरायलले दीर्घकालीन चुनौतीहरूको सामना गर्नुपर्नेछ । आफ्ना उत्कृष्ट प्रतिभाहरू शान्तिको सुनिश्चितता खोज्दै बसाइँ सर्ने खतरा छ । इजरायली कम्पनीहरू लक्षित दीर्घकालीन बहिष्कारबाट बच्न पनि उनीहरू स्थानान्तरण हुन सक्छन् । 

इजरायलले आफ्नो पुरातनपन्थी जनसंख्यालाई राम्ररी समेट्नु पनि आवश्यक छ, जुन उच्च जन्मदरको कारण दु्रत गतिमा बढिरहेको छ । तर, तिनका सदस्य अधिकतर धार्मिक शिक्षा मात्रै लिन्छन् र प्रायः काम गर्दैनन् । अर्थाेडक्स पुरुषहरूलाई सेनामा सेवा र जागिरका लागि दबाब भने बढ्दो छ । हालै गठन भएको ‘इकोनोमिस्ट फोरम’ले एउटा खुलापत्र जारी गर्दै अल्ट्रा अर्थाेडक्स मुद्दालाई सम्बोधन गरिएन भने धेरै उदारवादीले मुलुक छाड्ने र इजरायल ‘पतनको मार्गमा जाने’ खतरा रहेको चेतावनी दिएको छ । हिब्रु विश्वविद्यालयका अर्थशास्त्री राज पनि यो मञ्चका सदस्य हुन् ।

मञ्च सदस्य मुख्यतः इजरायली अर्थशास्त्रका प्राध्यापक र केही पूर्वसरकारी अधिकारी छन् । मैले इकोनोमिस्ट फोरमका प्रमुख, तेल अभिभ विश्वविद्यालयका एसोसिएट प्रोफेसर र इजरायल डेमोक्रेसी इन्स्टिच्युटका सिनियर फेलो इटाई अटेरसँग पनि अन्तर्वार्ता गरँे । उनले राजधानी जेरुसलेममा अल्ट्रा–अर्थाेडक्सप्रति झुकाव बढ्दा सरकारी सहयोगका बाबजुद यो सहर विपन्नतातर्फ अग्रसर भएको टिप्पणी गरे । ‘यही बाटोमा लाग्यौँ भने इजरायलमा यस्तै हुनेछ,’ उनले भने । 
आशावादी कुरा के भने इजरायलीले पहिलेजस्तै एक–अर्कालाई सहयोग गरिरहेका छन् । ‘मैले इजरायलीको मनोभावनामा परिवर्तन देखेको छु,’ इजरायलको अर्थ तथा उद्योग मन्त्रालयका पूर्वप्रमुख वैज्ञानिक एबी हसनले भने, ‘गत ग्रीष्ममा मैले आफू चिन्तित भएको बताएको थिएँ । लगानीकर्ता खुलेआम आफ्नो व्यवसायलाई इजरायलबाट अन्यत्र लैजाने वा स्थानान्तरणबारे कुरा गरिरहेका थिए । तर, केही पछि भने ‘हामी यही बस्छौँ । हामी लड्दै छाैँ र हामी चीजहरूलाई ठीक गर्दै छौँ’ भन्ने आवाज नै सुनिरहेका छाैँ ।’

बेनेट अल्ट्रा–अर्थाेडक्स इजरायलीहरू पनि सेना र रोजगारमा छिर्न थालेकाले उनीहरू अर्थव्यवस्थाको स्रोत बन्न थाल्ने आशा गर्छन् । महिलासहित अरब इजरायली र विदेशबाट इजरायल भित्रिने यहुदीले पनि श्रमशक्तिमा योगदान गर्ने उनको ठम्याइ छ । तात्कालिक परिदृश्य उथलपुथलपूर्ण भए पनि ‘आधारभूत कुराहरू दीर्घकालका लागि ठीक भएको बेनेटले मलाई न्युयोर्क भ्रमणका क्रममा बताए । आजका दिन इजरायलका अँध्यारा दिन हुन् । त्यसैले यहाँ आशावादीहरू हुनु राम्रो कुरा हो । यद्यपि मुलुकलाई सन्देहको नजरले हेर्ने यथार्थवादीको पनि उत्तिकै खाँचो छ । युद्धको समयमा आशा नै योजना भने हुन सक्दैन ।
– द न्युयोर्क टाइम्सबाट (पिटर कोय द न्युयोर्क टाइम्सका स्तम्भकार हुन् ।) 

See More On

सुझावित समाचार