युरो- २०२४ : दोस्रो जितसँगै जर्मनी प्रिक्वार्टरफाइनलमा

बिहिबार, ६ असार, २०८१
डिजिटल संस्करण

जर्मनीले समूह ‘ए’बाट लगातार दुई जित निकाली अन्तिम १६ मा स्थान बनाएको छ, यस क्रममा हंगेरीलाई २–० र स्कटल्यान्डमाथि ५–१ को सानदार जित निकाल्यो

आयोजक जर्मनी युरो– २०२४ मा लगातार दुई जितका साथ प्रिक्वार्टरफाइनलमा पुगेको छ । स्टुगार्ट एरिनामा बुधबार राति भएको खेलमा जर्मनीले हंगेरीलाई २–० ले हराउँदै नकआउट चरण पक्का गरेको हो । जर्मनीले दुई खेलबाट ६ अंक बटुलेको छ । हंगेरीले आफ्नो दुवै खेल गुमाएको छ । जर्मनीलाई जित दिलाउने क्रममा मुसिआला र गुन्डोगानले समान एक गोल गरेका थिए । खेलको २२औँ मिनेटमा मुसिआलाले जर्मनीलाई १–० को अग्रता दिलाए । 

उनले गुन्डोगानको पासमा गोल गरेका हुन् । खेलको ६७औँ मिनेटमा गुन्डोगानले आयोजकलाई २–० को स्थितिमा पुर्याए । यसअघि उद्घाटन खेलमा जर्मनीले स्कटल्यान्डमाथि ५–१ को सादार जित निकालेको थियो । हंगेरी पहिलो खेलमा स्विट्जरल्यान्डसँग ३–१ ले निराश भएको थियो । हंगेरीले समूह चरण पार गर्न जर्मनीलाई हराउनुपर्ने थियो ।

क्रोएसियालाई रोक्यो अल्बानियाले 
अल्बानियाले इन्जुरी समयमा क्रोएसियालाई २–२ को बराबरीमा रोकेको छ । खेलको ९० मिनेटसम्म २–१ ले पछि रहेको अल्बानियाले इन्जुरीको पाँचौँ मिनेटमा गोल गर्दै क्रोएसियालाई बराबरीमा रोेकेको हो । बराबरीपछि दुवै टोलीले समूह ‘बी’मा समान १ अंक जोडेका छन् । यसअघि पहिलो खेलमा क्रोएसिया स्पेनसँग पराजित भएको थियो । साबिक विजेता इटालीले अल्बानियालाई हराएको थियो । 

अल्बानियाले बलियो क्रोएसियाविरुद्ध ११औँ मिनेटमा अग्रता लिएको थियो । काजिम लासीले डिबक्सभित्र उत्कृष्ट हेडिङ गोल गर्दै अल्बानियालाई १–० को अग्रता दिलाए । उनले जासिर असानीको क्रसमा गोल गरेका हुन् । पहिलो हाफमा क्रोएसियाले दबाब राखे पनि बराबरी गोल फर्काउन सकेन । खेलको ७४औँ मिनेटमा क्रोएसियाले १–१ को बराबरी गोल फर्काएको थियो । आन्द्रेज क्रामारिचले बराबरी गोल गरेका हुन् । 

दुई मिनेटपछि नै क्रोएसिया २–१ ले अघि रह्यो । यसपटक क्रोएसियाले आत्मघाती गोल उपहार पाएको थियो । क्लाउस जासुलाले बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गरे । खेलको अन्तिम इन्जुरी समयमा जासुलाले नै गोल गर्दै अल्बानियालाई हारबाट जोगाउँदै २–२ को नतिजा दिलाए । 

रोनाल्डोको कीर्तिमान खेल
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोमा कीर्तिमान राखेका छन् । उनी सर्वाधिक छैटौँपटक युरो खेल्ने पहिलो खेलाडी बनेका छन् । ३९ वर्षीय रोनाल्डोले चेक रिपब्लिकविरुद्ध मंगलबार राति मैदानमा उत्रँदै रेकर्ड बनाए । रोमाञ्चक खेलमा पोर्चुगलले चेकलाई २–१ ले हरायो । समूह ‘डी’को पहिलो खेलमा पोर्चुगलले पुनरागमन जित निकालेको हो । पोर्चुगलको जितमा फ्रान्सिस्कोले एक गोल गरे । पोर्चुगलले एक गोल आत्मघाती उपहार पाएको थियो । चेकका लुकास प्रोभोडले ६२औँ मिनेटमा १–० को अग्रता दिलाए । खेलको ६९औँ मिनेटमा ह्रानाको आत्मघाती गोलमा पोर्चुगल १–१ को बराबरीमा फर्कियो । अन्तिम इन्जुरी समयमा फ्रान्सिस्कोले पोर्चुगललाई २–१ को जित दिलाए । रोनाल्डो सन् २००४ पछिका सबै युरोकपमा सहभागी भएका छन् ।

सुझावित समाचार