लमजुङका होमस्टे बर्खा लागेसँगै सुनसान

बिहिबार, ६ असार, २०८१
डिजिटल संस्करण

बर्खायाममा बाटो अवरुद्ध हुने, यात्रा कठिन हुने, अवलोकनमा स्पष्टता नहुनेलगायत कारण असार लागेदेखि जिल्लामा सञ्चालित पर्यटकीय गाउँहरू सुनसान भएको होमस्टे सञ्चालकहरू बताउँछन्

पर्यटकको चहलपहल हुने लमजुङका होमस्टे गाउँहरू बर्खाका कारण यतिवेला सुनसान छन् । नेपालकै पहिलो स्मार्ट भिलेज सुखी गाउँ घलेगाउँमा केही साताअघिसम्म पनि दैनिक दुई सयभन्दा बढी पर्यटक आउने गरेका थिए । तीन सातायता भने पर्यटक आगमन स्वात्तै घटेको घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले बताए । 

उनका अनुसार अहिले दैनिक १०–१२ जना मात्र पर्यटक आउने गरेका छन् । पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका कार्यालय सचिव दीर्घ घलेले असार महिनाको सुरुवातदेखि गाउँमा पर्यटकको चहलपहल छैन । होमस्टेसम्म आउने सडक गुणस्तरीय नभएको तथा बढी वर्षा हुने भएकाले यात्रा कठिन हुने समस्याका कारण पर्यटक आवागमन घटेको घलेले बताए । 

यस्तै, सदरमुकामबाट नजिकै रहेको काउलेपानी होमस्टेमा पनि पर्यटक आगमन घटेको होमस्टे सञ्चालक तिलमाया गुरुङले बताइन् । उनले भनिन्, ‘असार लागेसँगै पर्यटक आगमन घट्न थालेको हो । अहिले त दैनिक ५–१० जनामा सीमित भएको छ ।’ जिल्लाको राइनासकोट सामुदायिक होमस्टेमा पर्यटकको आगमन संख्यामा स्वात्तै कमी आएको छ । ‘बर्खाकै कारण पर्यटक आउन छाडे,’ होमस्टे सञ्चालक विष्णु गुरुङले भनिन्, ‘एक महिनाअघि मात्रै गाउँमा घुम्न र फोटो खिच्न आउने पर्यटकको भिड लाग्ने गर्थ्यो ।’ उनका अनुसार दैनिक ४०–५० जना पर्यटक आउने राइनासकोटमा अहिले नौ–दशजना मात्र पर्यटक आउने गरेका छन् । बर्खाका कारण पर्यटकीय चहलपहल कम भएपछि जिल्लाका पर्यटकीय गाउँ सिउरुङ, भुजुङ, खासुर, भुस्मे, नरुवाल, तुर्लुङकोट, घनपोखरा, पसगाउँ, मिप्रालगायत गाउँका होमस्टे पनि सुनसान भएका छन् । 

बर्खायाममा बाटो अवरुद्ध हुने, यात्रा कठिन हुने, दृश्य राम्रो अवलोकनमा स्पष्टता नहुनेलगायत कारण असार लागेदेखि जिल्लामा सञ्चालित पर्यटकीय गाउँहरू सुनसान भएको होमस्टे सञ्चालकहरू बताउँछन् । पर्यटकीय मौसममा यहाँका घरवास सञ्चालकले मासिक ३० हजारदेखि ६० हजारसम्म कमाउने गर्छन् ।  

See More On

सुझावित समाचार