नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया थप पेचिलो बन्न पुगेको छ । अन्तर्वार्ताका लागि सर्टलिस्टमा परेका पाँजनामध्ये तीनजना उम्मेदवार बुधबार पुनः उपस्थित नभएपछि छनोट प्रक्रिया अन्योल भएको हो ।
सर्टलिस्टमा परेका पाँचजनालाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित सिफारिस समितिले आइतबार कार्यमूल्यांकन प्रस्तुति र अन्तर्वार्ताका लागि बोलाएको थियो । सो दिन मुक्ति अर्याल र सन्तोषनारायण श्रेष्ठ मात्र उपस्थित भएर आफ्नो प्रस्तुति दिएका थिए ।
अन्य तीनजना भने उपस्थित नै भएनन् । सर्टलिस्टमा परेर पनि अनुपस्थित भएका डा. नवराज अधिकारी, कृष्णबहादुर कार्की र चिरञ्जीवी चापागाईंलाई प्रेस विज्ञप्तिमार्फत बुधबार उपस्थित हुन जानकारी गराएको थियो । तर, बुधबार पनि तीनैजना उम्मेदवार पुनः अनुपस्थित भएपछि छनोट प्रक्रिया थप अन्योलतर्फ धकेलिएको बोर्डका एक अधिकारीले बताए ।
पाँचजनामध्ये दुईजनाले मात्र कार्यमूल्यांकन प्रस्तुति दिएपछि छनोट सिफारिस समिति अन्योलमा परेको छ । धितोपत्रसम्बन्धी ऐनको दफा ७ को उपदफा ४ अनुसार योग्यता पुगेका कम्तीमा तीनजनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । तर, दुईजना मात्र अन्तर्वार्ताका लागि उपस्थित भएको अवस्थामा सिफारिस समितिमा नै दुई धार देखिएको छ । स्रोतका अनुसार समितिमा एक पक्षले यो प्रक्रियालाई नै रद्द गरेर जानुपर्ने बताएका छन् भने अर्को पक्षले दुईजनाकै वा नम्बरका आधारमा तीनजनाकै नाम सिफारिस गर्नुपर्ने मत राखेका छन् । अब महान्यायाधिवक्ताबाट आवश्यक राय लिएर प्रक्रिया रद्द गर्ने वा नाम थपेर तीनजना नै सिफारिस गर्ने निर्णय लिने छनोट समितिका एक सदस्यले बताए । स्रोतले भन्यो, ‘अहिले ठ्याक्कै के गर्ने भन्नेमा दोधार देखिन्छ, महान्यायाधिवक्ताबाट मौखिक रूपमा रद्द गर्नु भन्ने आयो, तर लिखित रूपमै सुझाव आएपछि त्यहीअनुसार अघि बढ्छौँ ।’
आइतबार छनोट समितिमा अर्याल र श्रेष्ठ मात्र उपस्थित हुँदा अनुपस्थित तीनैजनाको मोबाइल दिनभर स्विचअफ थियो । एकैपटक तीनैजना अनुपस्थित हुनु र मोबाइल पनि अफ हुनु तथा दोस्रोपटक पनि पुनः तीनैजना सहभागी नहुनुलाई आर्थिक र राजनीतिक चलखेलको रूपमा लिन सकिने जानकारहरू बताउँछन् । अनुपस्थित उम्मेदवारमध्ये एकले आफूलाई अब अध्यक्ष बन्ने चाहना नभएको बताए । उनले भने, ‘पहिल्यै ग्यारेन्टी भएपछि यसमा थप चासो राख्न आवश्यक छैन त्यसैले नगएको हो ।’ अर्को उम्मेदवार डा. नवराज अधिकारीले छोटो प्रतिक्रिया दिँदै आफू चार–पाँचदिनदेखि बिरामी भएर अस्पताल भर्ना भएको बताए । उनले भने, ‘म अहिले अस्पतालमा छु, धेरै बोल्न सक्दिनँ, बाहिर के भइरहेको छ मलाई थाहा छैन ।’
नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष तथा अर्थविद् रेवतबहादुर कार्की अहिलेको अध्यक्ष छनोट प्रक्रिया पेचिलो बन्नुमा सत्ता राजनीतिको स्वार्थ जोडिएको बताए । उनले भने, ‘कसलाई अध्यक्ष बनाउने भन्ने कुरा बन्दकोठामा भइसकेको बुझिएपछि नै तीनजना उपस्थित नभएको देखिन्छ ।’ अहिलेको नियुक्ति प्रक्रियामा अलिक बढी नै व्यवसायीहरू हाबी भएको देखिएको उनको भनाइ छ ।
पटक–पटक विलम्ब
धितोपत्र बोर्ड अध्यक्षका लागि आवेदन परेको १९ जनामध्ये पाँचजनाको संक्षिप्त सूची आएपछि लगत्तै प्रक्रिया अघि बढाउनुपर्ने थियो । तर, अर्थमन्त्री वर्षमान पुनले प्रक्रियालाई तत्काल रोकेर अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका गए । २५ चैतमा संक्षिप्त सूची सार्वजनिक भएको एक महिनाभन्दा बढी भइसकेपछि बल्ल मन्त्री पुनले यो प्रक्रियालाई अघि बढाउने निर्णय गरेका थिए । हालै भएको धितोपत्रको केही ऐन संशोधनले अर्थ मन्त्रालयको सदस्यलाई बोर्डको कार्यकारी अध्यक्ष हैसियतमा काम गर्ने अधिकार दिएको छ । सोअनुसार रितेश शाक्य अध्यक्ष थिए, तर मन्त्री पुनले शाक्यलाई हटाएर सहसचिव नरेन्द्र रानालाई जिम्मेवारी दिए ।