एकीकृत समाजवादीमा ९५ प्रतिशत महाधिवेशन प्रतिनिधि छनोट

बिहिबार, ६ असार, २०८१
डिजिटल संस्करण

एकीकृत समाजवादीमा १०औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट अन्तिम चरणमा पुगेको छ । देशभर प्रतिनिधि छनोट भएको संगठन विभागका सचिव लक्ष्मण केसीले जानकारी दिए ।

‘अधिकांश ठाउँबाट प्रतिनिधि छानिनुभएको छ । करिब ९५ प्रतिशत छनोटको काम सम्पन्न भएको छ । केही ठाउँमा सहमतिका लागि भोलिसम्मको समय माग भएको स्थिति छ,’ उनले भने । बिहीबारसम्ममा प्रतिनिधिको सबै विवरण आइसक्ने प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए । उनले भने, ‘विवरण आउने क्रम जारी छ । भोलिसम्ममा आइसक्छ ।’ 

महाधिवेशनका लागि ‘दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादी बाटोमा अगाडि बढौँ’ नारा तय गरिएको छ । एमालेमा विद्रोह गरेर पार्टी पुनर्गठन गरेकाले १०औँ महाधिवेशन भनिएको अर्यालले बताए । एकीकृत समाजवादीको महाधिवेशन आगामी १६ देखि २० असारसम्म काठमाडौंमा हुँदै छ ।

१८ सय ७८ जना महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । तीमध्ये केन्द्रीय कमिटीका ३४६ र केन्द्रीय आयोगबाट १०४ जना स्वतः प्रतिनिधि चयन भइसकेका छन् । एमालेबाट करिब तीन वर्षअघि विद्रोह गरेर बनेको एकीकृत समाजवादीमा डेढ लाख संगठित सदस्य छन् ।

सुझावित समाचार