पुटिन लोकतान्त्रिक मुलुक र युरोपियन युनियनजस्ता अन्तर–सरकारी संस्थालाई आफ्नो एजेन्डाका लागि चुनौतीका रूपमा बुझ्छन्
भ्लादिमिर पुटिनले युरोपेली संसदीय चुनावमा उग्र–दक्षिणपन्थी पार्टीको हालैको उदयबाट उल्लेखनीय लाभ उठाउने देखिन्छ । पूर्वसोभियत राज्यलाई प्रभाव पार्नुबाहेक क्रेमलिनले अब बृहत् युरोपमा पनि आफ्नो समर्थन विस्तार गरिरहेको छ । यो परिवर्तनको स्पष्ट उदाहरण जर्मनीको उग्र–दक्षिणपन्थी अल्टरनेटिभ फर ड्युसल्यान्ड (एएफडी) र लोकप्रियातावादी बुन्डनिस साहरा वागेनक्नेच पार्टीले युक्रेनका लागि हुने सैन्य सहायताको विरोधमा ११ जुनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जर्मन बुन्डेस्टागमा गरेको भाषणमा उपस्थित हुन अस्वीकार गरेपछि देखियो ।
जर्मनीमा १६ प्रतिशत मत प्राप्त गर्ने एएफडी चान्सलर ओलाफ सुल्जको सोसल डेमोक्य्राटभन्दा मात्रै पछाडि छ । यो पार्टीले युक्रेनका राष्ट्रपतिले द्वन्द्व रोक्नका लागि वार्ता नगरेको भन्दै आलोचना गरेको थियो र आलोचनाको आधारले पुटिनको अडानलाई प्रतिध्वनित गरेको थियो । चुनावपछि दुई उग्र–दक्षिणपन्थी समूहले अब युरोपेली संसद्मा सात सय २० मध्ये एक सय ३१ सिटमा नियन्त्रण गर्छन् ।
पुटिनसँग जर्मन उग्र–दक्षिणपन्थी पार्टीको सम्बन्धको चिन्ताका कारण अप्रिलमा युरोपेली संसद्को प्रस्तावमा एएफडीलाई विशेषगरी रुससँगको सबै वित्तीय सम्बन्ध खुलाउन माग गरेको थियो । रुस र युरोपको बढ्दो फासीवादी दक्षिणपन्थी पार्टीबीचको गठबन्धन रुसको फासीवादीविरोधी अडानलाई हेर्दा विरोधाभासपूर्ण लाग्न सक्छ । तर, रुसले अन्य देशलाई अवरोध पुर्याउने उद्देश्यले चरमपन्थीलाई तिनको वैचारिक पंक्तिबद्धताको पर्वाह नगरी समर्थन र आर्थिक सहयोग गर्छ ।
उग्र–दक्षिणपन्थी खतरा : पुटिनले युरोपमा उग्र–दक्षिणपन्थी समूहलाई निकै ठूलो प्रभाव पारेका छन् र महाद्वीपमा एक बलियो गुप्तचरी सञ्जाल स्थापना गरेका छन् । समाचारका आडमा प्रोपगन्डा प्रयोग गर्दै क्रेमलिन समर्थित भाष्य फैलाइन्छ । यी भाष्यमा रुसी ऊर्जामा प्रतिबन्धले जीविका संकट निम्त्याइरहेको जस्ता दाबी समावेश छन् । यो प्रभाव जर्मनीभन्दा बाहिर अन्य युरोपेली देशमा फैलिइरहेको छ, जहाँ स्लोभाकियाको रिपब्लिका, हंगेरीको फिडेज, रोमानियाको एलायन्स फर द युनियन अफ रोमानिया, बुल्गेरियाको रिभाइभल पार्टी र फ्रान्सको रासेम्बलमेन्ट नेसनलजस्ता उग्र–दक्षिणपन्थी पार्टीले हालैको युरोपेली संसदीय चुनावमा आकर्षण हासिल गरेका छन् । यी पार्टीका नेता (उदाहरणका लागि हंगेरीका भिक्टर ओर्बान) रुसमाथिको प्रतिबन्धको कडा विरोध गर्छन् ।
युरोपेली संसद्मा उग्र–दक्षिणपन्थी युरोपेली सांसद प्रायः पुटिनको रुसको आलोचनात्मक कदममा मतदान गर्नबाट टाढा रहन्छन् । यसमा आन्तरिक दमनको प्रतिक्रिया, भ्लादिमिर कारा–मुर्जा र अलेक्सी नाभाल्नीजस्ता कार्यकर्ताको जेल सजाय एवं आतंकवादका लागि रुसी समर्थन समावेश छ । यी पार्टीले पूर्वी साझेदारी पहलमा सुरक्षाका लागि चुनौती पनि खडा गर्छन्, जसले दक्षिण ककेससका देशसँग युरोपियन युनियनको सम्बन्ध बढाउन खोज्छ ।
पुटिनले युरोपेली उग्र–दक्षिणपन्थीबाट काम निकालेर महत्वपूर्ण लाभ लिन्छन्, किनभने यी पार्टीले प्रायः कडा आप्रवासन कानुन र लोकतान्त्रिक संस्थामा लैंगिक एवं यौनिक अल्पसंख्यक अधिकारलाई सीमित पार्नेजस्ता पुरातनपन्थी नीतिलाई प्राथमिकता दिन्छन् । यी उग्र–दक्षिणपन्थी शक्ति सूचनाको स्वतन्त्र प्रवाह र सक्रिय नागरिक समाजलाई आफ्ना एजेन्डाका लागि खतराका रूपमा हेर्छन् । रुसले ‘विदेशी एजेन्ट कानुन’जस्ता विभिन्न कानुन बनाएको छ, जसले गैरसरकारी संस्था र स्वतन्त्र मिडियाका लागि आउने अनुदान÷कोषलाई प्रतिबन्धित गर्छ । यस्तै कानुन रुस, हंगेरी र हालै जर्जियामा पनि अपनाइएका छन् ।
पुटिनले लोकतान्त्रिक मुलुक र युरोपियन युनियनजस्ता अन्तर–सरकारी संस्था, जसले मानव अधिकार र लोकतन्त्रलाई प्रोत्साहन गर्छन्, तिनलाई आफ्नो एजेन्डाका लागि चुनौतीका रूपमा बुझ्छन् । उनले युरोपेली राष्ट्रिय राजनीतिमा अव्यवस्था सिर्जना गरेर यसलाई कमजोर पार्ने लक्ष्य राखेका छन् । यो अवरोधले रुसी महत्वाकांक्षाका लागि ठूलो बाधा नेटोको एकतालाई सम्भावित रूपमा कमजोर पार्न सक्छ र बढ्दो हतियार आपूर्तिका साथ युक्रेनलाई समर्थन गर्ने नेटोको क्षमतालाई पनि असर गर्न सक्छ ।
नयाँ विश्व व्यवस्था : पुटिनलाई दक्षिणपन्थीले यी मूल्यलाई कमजोर पार्ने उदारवादी पश्चिमको प्रयासको विरोध गर्ने बलियो पुरातनपन्थी नेताका रूपमा प्रशंसा गर्छन् । रुसको अधिनायकवाद र पश्चिमावादविरुद्धको परिवर्तनले दक्षिणपन्थीका लागि नमुनाका रूपमा काम गर्छ, जसले नेतृत्वको भूमिकामा पुरुष र परिवार–बालबालिकाको हेरचाहमा महिला हुनुपर्छ भन्ने परम्परागत पारिवारिक मूल्यमा पुटिनको अडानलाई समर्थन गर्छन् ।
पुटिनले उग्र–दक्षिणपन्थी सहयोगीको हालैको चुनावी लाभलाई स्वागत गर्छन्, जसले उनको प्रभावलाई बलियो बनाउँछ । सन् १९८० को दशकमा युरोपियन युनियन राज्यमा एक प्रतिशत मत पाएको उग्र–दक्षिणपन्थी शक्तिले सन् २०१० आफ्नो स्थान १० प्रतिशत पुर्याएको थियो र अहिले पहिलेभन्दा ठूलो राजनीतिक प्रभावको संकेत देखिन्छ । यद्यपि उग्र–दक्षिणपन्थी शक्ति आन्तरिक रूपमा विभाजित छन्, अर्थात् युरोपको सबैभन्दा खण्डित राजनीतिक गुटमध्ये एक इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले रुसमा प्रतिबन्धको समर्थन गर्छिन् । तर, फ्रान्सको मरिन ले पेनले समर्थन गर्दैन । मरिन ले पेनले पुटिनसँग व्यक्तिगत र राजनीतिक सम्बन्ध राख्छ र युक्रेनलाई दिइने सशस्त्र सहयोगको विरोध गर्छ ।
यी उग्र–दक्षिणपन्थी पार्टीले आगामी वर्षमा खेल्ने भूमिकाले युरोपेली लोकतन्त्र र स्थिरतामा गम्भीर असर पार्नेछ । युरोपले सामना गर्ने समस्या बृहत् छन् । उग्र–दक्षिणपन्थीको उदय जीविका लागत र पहिचानका मुद्दामा वास्तविक आक्रोश मात्र नभई मनोवैज्ञानिक र सूचना युद्धमा रुसको विशेषज्ञता पनि एक आधार हो ।
(लिन्ड्स्टेट एसेक्स विश्वविद्यालयको सरकार विभागकी प्राध्यापक हुन्)
द कन्भर्सेसनबाट