टर्कीले मंगलबार राति युरो २०२४ मा जर्जियालाई ३–१ ले हराएको छ । जितसँगै समूह ‘एफ’मा टर्कीले तीन अंक जोडेको छ । खेलमा टर्कीले २५औँ मिनेटमा अग्रता लिएको थियो । मुल्डुरले डिबक्सभित्र सहज गोल गर्दै टर्कीलाई १–० को अग्रता दिलाएका थिए । टर्कीको अग्रता सात मिनेटसम्म रह्यो । खेलको ३२औँ मिनेटमा मिकाउटाडेजले जर्जियालाई १–१ को बराबरीमा पुर्याए । कोचोरासभलीको पासमा मिकाउटाडेजले बराबरी गोल फर्काएका हुन् ।
खेलको ६५औँ मिनेटमा टर्कीले २–१ को अग्रता बनायो । यसपटक गुलेरले टर्कीलाई अग्रता दिलाएका हुन् । उनले आहानको पासमा गोल गरे । खेलको अन्तिम ६ मिनेटको इन्जुरी समयमा जर्जियाले बराबरी गोल फर्काउने प्रयास गरेको थियो । तर, फिनिसिङमा कमजोर रहँदा जर्जियाले बराबरी गोल गर्न सकेन । इन्जुरी समयमै अटुकोग्लु एकल प्रयासमा जर्जियाको खाली पोस्टमा गोल गर्दै टर्कीलाई ३–१ अग्रता दिलाए ।
टर्कीको पोस्टमा जर्जियाका सबै खेलाडी गोल प्रयासका लागि अगाडि बढेका थिए । अटुकोग्लुले अफ साइड ट्याप बिट गरी मैदानको मध्यभागबाट बल अगाडि बढाउँदै खाली पोस्टमा गोल गरेका हुन् ।
आत्मघाती गोलले बचेको फ्रान्स
पूर्वविजेता फ्रान्सले युरो २०२४ मा सोमबार राति कठिन जित निकालेको छ । समूह ‘डी’मा फ्रान्सले अस्ट्रियालाई १–० ले हराउँदा आत्मघाती गोलको सहयोग पायो । खेलको ३८औँ मिनेटमा अस्ट्रियाका बाबेरको एक मात्र आत्मघाती गोलमा फ्रान्सले बाजी मारेको हो । एम्बाप्पेको प्रहार क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गर्न पुगे । खेलमा यही आत्मघाती गोल नै फ्रान्सले तीन अंक जोड्यो । प्रतिस्पर्धामा कप्तान केलियन एम्बाप्पे घाइते भएका थिए । दोस्रो हाफमा नाकमा चोट लागेपछि उनी ९०औँ मिनेटमा मैदानबाट बाहिरिए ।
अस्ट्रियाका डिफेन्डर केचिन डान्सको कुहिनामा एम्बाप्पेको नाक ठोक्किएको थियो । उनको नाकबाट रगत बगेको थियो । मैदानमा केहीबेर प्राथमिक उपचारपछि एम्बाप्पे मैदानबाट बाहिरिए ।
एम्बाप्पेले फ्रान्सका लागि ८० खेलमा ४७ अन्तर्राष्ट्रिय गोल गरेका छन् । प्रशिक्षक डिडिएरले एम्बाप्पेसहित निकोलास कान्टे, एन्टोनियो ग्रिजम्यान तथा ओस्मान डेम्बेलेलाई फिनिसिङमा प्राथमिकतामा राख्दा पनि फ्रान्स गोल गर्न चुकेको थियो । उपाधि दाबेदार फ्रान्स खेल अवधिभरि नै अस्ट्रियाविरुद्ध फिनिसिङमा चुकेको थियो ।
बेल्जियम पहिलो खेलमै स्तब्ध
उपाधि दाबेदार बेल्जियम समूह ‘इ’को पहिलो खेलमा स्लोभाकियासँग १–० ले स्तब्ध भएको छ । स्लोभाकियाले खेलको सातौँ मिनेटमा लिएको अग्रता नै अन्तिमसम्म यथावत् राख्दा बेल्जियम पहिलो खेलमै पराजित भयो । स्ट्राइकर स्चान्जले डिबक्सभित्र सटिक पासमा दोस्रो बारमा गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाएका थिए ।