राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोस्टममै भौतिक पूर्वाधार यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद लिङ्देनले रोस्टममा उभिएरै बजेट पुस्तिका च्यातेका हुन्।
‘सामान्यतया म कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो । तर, जब भौतिक पूर्वाधार मन्त्रालयको यो बजेट पुस्तिका हातमा पर्याे त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर हुर्याउने मन छ,’ बजेट पुस्तिका च्यात्दै उनले भने, ‘तर, यो संसदीय मर्यादाविपरीत हुन्छ भनेर कहाँ हुर्याउनुपर्ने त्यहाँ नहुर्याई यहाँ (पोडियम) राख्छु।’
उनले चारवटा निर्वाचन क्षेत्रदेखिबाहेक प्रतिनिधिसभाका अन्य सबै निर्वाचन क्षेत्रका सदस्यको मन यो बजेटले दुखाएको जिकिर गरे। अहिले मन्त्रीको मुखबाट, गोजीबाट निस्कने चिर्कटोबाट बजेट बन्ने गरेको र त्यस्तो बजेटमाथि सभामा सांसदले छलफल गरिदिनुपर्ने अवस्था चिन्ताजनक रहेको बताए।
उनले बजेट बनाउने मौका पाउँदा मनपरी गरेर यो राज्यसत्ता काम लाग्दैन भन्ने अवस्थामा अहिलेका दलहरू नै पुगेको दाबी गरे। ‘यो व्यवस्था, जो हामीले काम लाग्दैन भनिराखेका छौँ। यसलाई तपाईंहरूले पुष्टि गर्नुभएको छ । यसलाई चाँडो भत्काउन आफैँ सहयोगी बन्नुभएको छ,’ उनले भने।