विराटनगरमा शनिबारदेखि नाटक महोत्सव, कोशीका पाँच नाटक देखाइने

शनिबार, २ असार, २०८१
डिजिटल संस्करण

विराटनगरमा शनिबारदेखि असार ५ गतेसम्म नाटक महोत्सव आयोजना हुँदैछ। हाटखोलास्थित नाटकघरमा हुने महोत्सवमा कोशी प्रदेशका विभिन्न ६ समूहले नाटक मञ्चन गर्नेछन्। उद्घाटनको दिन ४:३० बजे आयोजक आरोहण विराटनगरको नाटक ‘चौथो अध्याय’ मञ्चन हुने जनाइएको छ।

त्यस्तै असार २ गते कदम थिएटरले ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ मञ्चन गर्नेछ। असार ३ गते दिउँसो १ बजे ह्वी क्यान संस्थाले ‘स्कूल’ मञ्चन गर्दा सोही दिन दिउँसो ३ बजे पिस नेपालले ‘हेत्छाकुप्पा’ मञ्चन गर्नेछ। असार ४ गते दिउँसो ३ बजे गौरादह जेसीज तथा झोराहाट नाट्य समूहले ‘सुरुङ’ मञ्चन गर्ने छ भने अन्तिम दिन दिउँसो ३ बजे कलालय इटहरीले ‘शत्रु’ नामको नाटक मञ्चन गर्ने जनाइएको छ ।

महोत्सवमा नाट्यपेशामा आबद्ध प्रदेश भित्रका नाट्य समूह, कलाकार, लेखक, निर्देशक तथा साहित्यप्रेमीबीच हुने भेटघाटले आपसी सहयोग र आदानप्रदानको ढोका खुल्ने विश्वास रहेको आरोहण विराटनगरका अध्यक्ष तथा महोत्सव निर्देशक भैरव क्षेत्रीले बताए। कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको अनुदान सहयोग तथा विराटनगर महानगरपालिकाको सहयोगमा नाटक महोत्सव हुन लागेको हो । 
 

सुझावित समाचार