ठूलो वर्षा भएमा मेलम्चीको पानी जुनसुकै वेला बन्द गरिने

शुक्रबार, ३२ जेठ, २०८१
डिजिटल संस्करण

मनसुन सुरु भएसँगै ठूलो वर्षा भएमा सरकारले मेलम्ची खानेपानी आयोजना बन्द गर्ने भएको छ। बिहीबारदेखि आयोजना बन्द गर्ने तयारी गरिएको भए पनि तत्काल मनसुन सक्रिय नहुँदा बन्द नगरिएको हो। 

मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन सरकारले वर्षा सुरु भएसँगै बन्द गर्ने र वर्षा अन्त्य भएसँगै खोल्ने गर्दै आइरहेको छ। जल तथा मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेको छ। 

मनसुन सुरु भए पनि मुलुकको पूर्वी क्षेत्रमा मात्रै सक्रिय भएको र अन्य भू-भागमा सक्रिय भएको छैन। मनसुन सक्रिय भएर मेलम्ची आयोजनामा ठूलो क्षति पुग्ने सम्भावना देखिएमा जुनसुकै समयमा बन्द गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए। 

लामिछानेका अनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिए पनि हाल मेलम्ची खानेपानी आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ। 

मौसमविद्ले बागमती प्रदेशमा पनि छिट्टै मनसुन सक्रिय हुने जानकारी दिएका छन्। काठमाडौं उपत्यकालगायत बागमती प्रदेशको केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

महाशाखाका मौसमविद् सरोज पुडासैनीले हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहारआसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभावले मनसुन सक्रिय हुन नसकेको जानकारी दिए। 

मनसुन सुरु भएमा केही दिनपछि उपत्यकावासीको धारामा मेलम्चीको खानेपानी आउने सम्भावना न्यून छ। दुई वर्षअघि मेलम्ची खोलामा आएको बाढीले आयोजनामा करिब दुई अर्ब मूल्यबराबरको क्षति पुगेको गृह मन्त्रालयले जनाएको थियो। गत साउन २८ र २९ गतेको बाढीले फेरि आयोजनाको संरचनामा क्षति पुगेको थियो  

सुझावित समाचार