कुवेतमा श्रमिक बस्ने भवनमा भीषण आगलागी: मृतक ४९ मध्ये ४१ भारतीय रहेको आशंका

बिहिबार, ३१ जेठ, २०८१
डिजिटल संस्करण

कुवेतमा करिब दुई सय विदेशी कामदार रहेको एक भवनमा बुधबार बिहानै आगलागी हुँदा ४९ जनाभन्दा बढीको मृत्यु भएको छ । आगलागीबाट दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन् ।कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार राजधानी कुवेत सिटीको दक्षिणमा अवस्थित मंगफ क्षेत्रमा भएको आगलागीमा थप ४३ जना घाइते भएका छन् । मंगफ आप्रवासी कामदारहरूको बसोवास रहेको क्षेत्र हो ।

घटना बिहान ठीक छ बजे मंगफ क्षेत्रमा घटेको गृह मन्त्रालयअन्तर्गतको जनरल डिपार्टमेन्ट अफ क्रिमिनल इभिडेन्सका प्रमुख मेजर जनरल इद अल–ओवाइहानले भने ।भवनमा एक सय ९६ कर्मचारी बस्दै आएको अधिकारीले जानकारी दिएका छन् । तेलको धनी मुलुक कुवेतमा ठूलो संख्यामा विदेशी श्रमिक काम गर्छन् । प्रायः दक्षिण तथा दक्षिणपूर्वी एसियाका आप्रवासी निर्माण वा सेवा उद्योगमा संलग्न छन् । जनरल फायर डिपार्टमेन्टको एक स्रोतका अनुसार भुइँ तलामा आगो लागेपछि निस्केको धुवाँले पीडितहरू निस्सासिएका थिए । 

‘फोरेन्सिक टोलीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ ।अहिलेसम्म तीन शवको सनाखत भएको छ,’ मेजर जनरल अल–ओवाइहानले भने । सबै पीडितहरूको राष्ट्रियता सार्वजनिक भइसकेको छैन, तथापि भारतीय मिडियाले मर्नेमध्ये अधिकांश भारतीय रहेको उल्लेख गरेका छन् । एक स्रोतलाई उल्लेख गर्दै ४१ जना मृतक भारतीय भएको लाइभमेन्टले लेखेको छ । भारतका विदेशमन्त्री एस. जयशंकरले सामाजिक सञ्जाल एक्समा घटनाको समाचारबाट स्तब्ध भएको बताएका छन् । साथै उनले दुःखद रूपमा ज्यान गुमाउनेहरूको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । 

कुवेतका गृहमन्त्री शेख फहद अल–युसेफले घटनास्थलको भ्रमण गर्दै सम्भावित लापरबाहीको जाँचका लागि भवनका मालिकलाई पक्राउ गरिएको जानकारी दिए । उनले सुरक्षा नियम उल्लंघन गरेर बनाइएका अन्य भवन तुरुन्त खाली गरिने चेतावनी दिए । ‘हामी कामदारको भिडभाडयुक्त बसोवास र उपेक्षा समस्यालाई सम्बोधन गर्न काम गर्नेछौँ । 

सुझावित समाचार