नयाँ पुस्ताको बिगुल : हरित चेतको अभियान

बिहिबार, ३१ जेठ, २०८१
डिजिटल संस्करण

पूर्ण लोकतन्त्रको अढाई दशक हुँदै गर्दा १३ जना सरकार प्रमुखले सिंहदरबारको बागडोर सम्हाले । तर, कुनै पनि प्रधानमन्त्रीले पूर्ण कार्यकाल सत्ता चलाउन पाएनन् । प्रदेश सरकारको फेरबदल त गनिसक्नु नै छैन । चुनावपछि सत्ता गठबन्धन मात्र होइन, चुनावअघि नै गरिएका गठबन्धनले पनि मुख्यतः अन्तरपार्टी संघर्षले सत्तामा स्थिरता दिन चुकेका छन् । पूर्वप्रधानमन्त्रीहरू नै पुनः प्रधानमन्त्री हुने सत्ताकेन्द्रित लिगलिगे दुश्चक्रको अन्त्य हुन सकेको छैन ।

विकल्प भनिएका शक्तिहरू अव्यवस्थालाई झन् बढावा दिने गरी सत्ता सयरमा व्यग्र देखिएका छन् । कलुषित राजनीतिको खालमा लोकतन्त्रको आत्मालाई संसद्को पुच्छ्रे  अंकगणितमा खेलेर आलोपालो चीरहरण भइरहेको छ ।राजनीतिक दलहरूले राणा र पञ्चकालमा अथाह सम्भावनाबीच आधुनिक विकास प्रवाह पक्रिन चुकेको तितो इतिहासबाट पाठ सिकेको देखिँदैन । आजका दिनमा पहिलो विश्वले विज्ञान–प्रविधिमार्फत विकास र सामरिक शक्ति सन्तुलनको रणनीतिक चेसको गोटी चालिरहँदा नेपाली नेतृत्व भने युवा बेचेर आएको खहरे द्रव्यमा रमाउँदै सत्ताको ‘शकुनी क्यारेम बोर्ड’ खेल्न व्यस्त छ । 

पछिल्लो समय विकल्प दिन राजनीतिक मैदानमा व्यावसायिक तथा प्राज्ञिक क्षेत्रमा सफल मानिएकाहरू जोडिनु सुखद मान्न सकिएला । तर, विकल्प दिने उद्घोष गरेका नेता तथा कार्यकर्ता आर्थिक अपचलन तथा सामाजिक विचलनमा पर्दापछाडि जोडिएको पाउनुले आममानिसमा थप निराशा र संशय पैदा गरेको छ । पछिल्लो समयका बालुवाटारस्थित ललितानिवास, जहाज खरिद, शरणार्थी प्रकरण, टेरामेक्स, प्रिन्टिङ प्रेस, सुन तस्करी, पासपोर्ट, एमडिएमएस, गिरिबन्धु टी–इस्टेट, सहकारी लुटजस्ता दर्जनौँ काण्डमा जोडिएका व्याक्तिको विरासत र तिनले पाएको छुट हेर्दा राजनीतिक गाडीको ऊर्जाले कानुनी राज्यको पर्यावरणलाई नराम्रोसँग प्रदूषित गरेको देखिन्छ । राजनीतिमा जोडिएका यस्ता नयाँ–पुराना मान्छेले कारबाही गर्नुपर्ने निकायबाट परोक्ष रूपमा प्रायोजित उन्मुक्ति पाइरहेका छन् । यसले कानुनी शासनलाई मजाक बनाइरहेको छ । वैकल्पिक राजनीतिको चीरहरण गरेको छ ।

हरित चेतको राजनीतिक शक्तिको उभार आउन हरित चरित्र भएका युवा शक्ति, नागरिक समूह तथा सामाजिक अभियन्ताले एकीकृत अभियान चलाएर सामाजिक चेतनाको शंखघोष गर्ने समय आएको छ 
 

नेपाली राजनीतिक ऊर्जाको चरित्र र रंग :  आर्थिक क्रान्तिको महाभियानको न्यायपूर्ण लोकमार्गको नेतृत्व गर्छु भन्दै विभिन्न रंगका खोलभित्र अपचलन र विचलनका फोहोर बोकेर हिँड्नेको भिड बढ्दो छ । नागरिकमा भावना र भ्रमको खेती गर्ने मायावी चरित्रले नेपाल निर्माणमा चुनौती खडा गर्न सक्छन् । चौतर्फी अनिश्चितताबीच सबल नेतृत्व खड्किरहेको छ । भूराजनीतिक रणनीतिमा जेलिएको अवस्थामा राजनीतिक नेतृत्वले रचनात्मक पहल लिन सकेको छैन । तरल आन्तरिक राजनीतिमा चलायमान नेतृत्वका ऊर्जावान् चरित्रलाई खुट्याएर खराबलाई किनारा लगाउन ब्यालेट र कानुन एकसाथ चुकिरहेका छन् ।

प्राविधिक उपकरण सञ्चालनमा प्रयोग गरिने ऊर्जाको प्रकृतिले वातावरणमा प्रभाव पारेजस्तै देशको गाडी हाँक्ने नेतृत्वको ऊर्जाको राजनीतिक चरित्रले देश र जनतालाई ठूलो प्रभाव पारिरहेको हुन्छ । जस्तो कि ऊर्जा विज्ञानको नजरमा विश्व विज्ञान मुख्यतः तीन प्रकारका उर्जाले चलिरहेको छ । प्रतीकात्मक रूपमा तिनलाई रातो, निलो र हरित ऊर्जामा सूचीकृत गरिएको छ । रातो ऊर्जा पेट्रोलियमको हो, जसबाट ऊर्जासहित पर्यावरणीय प्रतिकूल ग्यास उत्सर्जित हुन्छन् । निलो ऊर्जाको पर्यावरणीय प्रतिकूलता तुलनात्मक रूपमा कम हानिकारक हुन्छ भने हरित ऊर्जा हानिरहित हुन्छ र पर्यावरणीय सन्तुलनमा सहयोगी मानिन्छ । हाम्रो देशको पछिल्लो राजनीति पर्यावरण नियाल्ने हो भने विगत दुई दशकमा मुख्यतः तीन ऊर्जावाला चेत राजनीतिक ‘इकोसिस्टम’मा आएका छन् ।

पहिलो, लोकतान्त्रिक राज्य स्थापना गर्ने विचारको रातो पुस्ता, जसले रातो ऊर्जासहित सफल नेतृत्व ग¥यो, तर अधिकांश देश विकासमा भन्दा आफ्नो परिवार/आसेपासेको वृद्धि विकासमा भुल्यो । यस वर्गको चेतले राजनीतिक अस्थिरताको निरन्तरताको उत्प्रेरक बन्दै राष्ट्रवाद, धर्म, मोर्चा, गठबन्धन र सहकार्यको नाममा कलुषित स्वार्थानुकूल पार्टी फुटाउँदै÷जोड्दै सिन्डिकेट खडा गर्दै छ । यो समूहमा पुराना राजनीतिका अधिकांश नेतृत्व पर्छन् । रातो ऊर्जाको यो नेतृत्व वर्ग आधुनिक देश निर्माणका लागि पूर्णतः प्रतिकूल छ । 

दोस्रो, राजनीतिक विचारको निलो पुस्ता, जो पूर्ण लोकतन्त्रको पृष्ठभूमिमा रातो ऊर्जावालाको अकर्मण्यतालाई प्रहार गर्दै पपुलिज्मको कुहिरो बनाउँछ । जो अहिले रातो ऊर्जाको सिन्डिकेटतन्त्रको घोडा बनेको छ । पृष्ठभूमि चहकिलो रातो त छैन । तर, व्यावसायिक तथा व्यावहारिक जीवन विवादित र सन्देहास्पद छ । अर्थात्, केही कालो पोतिएको निलो ऊर्जाजस्तै अवगुण बोकेको छद्म चेतको जस्तो देखिन्छ । यसमा पहिचान/जातीयताको खोल ओडेका तथा वैकल्पिक बेलुन उडाउने पार्टीका अधिकांश नेता पर्छन् । जो सत्ता सयरमा रातो ऊर्जाका नेतृत्वसँग बेथितिको लौरो समातेर ताते गरिरहेका छन् ।

यो समूहले भावनाको मुकुण्डो लगाएर देश निर्माणको सपनाको मौसमी भ्रमको खेती गरिरहेको छ । तेस्रो, राजनीतिमा उदाइरहेको पुस्ता । जो रातो ऊर्जासँग प्रत्यक्ष नजोडिएको मात्र होइन, व्यावसायिक तथा व्यावहारिक जीवनमा पनि कुनै रातो या निलो ऊर्जाबाट दूषित छैन । यो पर्यावरण सन्तुलनको प्रतीक हरित ऊर्जा बोकेको हरियो चेतको पुस्ता हो । यो शक्तिलाई सम्भावित नयाँ नेतृत्वको रूपमा उदाएका बालेन, विवेकशील अभियान, पारिवारिक विरासत नभएका तथा राजनीतिमा हामफाली नसकेका नवचेत बोकेका युवाले प्रतिनिधित्व गर्छन् । अबको समाजले मुख्यतः यी तीन रंगको खास्टो ओढ्ने राजनीतिक नेतृत्व र चारित्रिक ऊर्जालाई खुट्याउनुपर्छ ।

हरित चेत अभियान : नेपाली समाजको राजनीतिक चरित्र र त्यसले ल्याएको उभारलाई नयाँ पुस्ताले बुझ्ने गरी खुट्याउन विज्ञानको लेन्सले नियाल्नु आवश्यक छ । फिजिक्समा धेरै प्रयोग हुने ‘रिजोनेन्स थ्योरी’को सैद्धान्तिक तथा व्यावहारिक तथ्यले भन्छ– जब कुनै पनि पदार्थको गुण अर्को पदार्थसँग मिल्छ, त्यसले ठूलो उभार देखाउँछ ।

भौतिक विज्ञानमा कैयौँ महत्वपूर्ण तथ्य निक्र्योल गर्न रामवाण मानिने रिजोनेन्सको सिद्धान्तलाई समाज अध्ययनका कोणबाट मनन गर्ने हो भने अहिलेको समाजको मनोविज्ञानको ‘फ्रिक्वेन्सी’ (चरित्र) परावर्तित भएको देखिन्छ । आमनागरिकको बाहिरी व्यवहार र भित्री चरित्रमा कहीँकतै गोलमाल मनोविज्ञान रहेको छ । जसका कारण आमचाहना अनुसारको समृद्धि तथा सुशासनअनुरूप नेतृत्वसँग व्यावहारिक ‘रिजोनेन्स’ गराउन हाम्रो समाज निरन्तर चुकिरहेको छ ।

मुख्यतः लिगलिगे राजनीतिक दुश्चक्रबाट देशलाई बाहिर निकाल्न आममानिसमा हरित चरित्रको रिजोनेन्स गराउनुपर्छ । देश हाँक्नेहरूको वास्तविक रंग चिन्न–चिनाउन सामाजिक पर्यावरणको जागरण जरुरी छ । जस्तो कि, नांगो आँखाले प्रकृतिमा देखेका वस्तुको वास्तविकता निकै फरक हुन्छ । वस्तुको रंगबारे आधारभूत विज्ञानले भन्छ, जसले प्रकाशका सबै रंग आफूमा समाहित गर्छ, त्यो कालो देखिन्छ भने कुनै रंग समाहित नहुने सेतो बेदाग देखिन्छ । जहाँ प्रकृति र समाज रंगीन देखिन्छ, त्यहाँ केही रंग आफूमा लुकाएको हुन्छ । 

अब यी वैज्ञानिक तथ्यलाई समाजको जमिनी अवस्थाबाट हेरौँ । जसरी विज्ञानको लेन्सले बहुरंगी प्रकृतिको रंग हेरेर उसले लुकाएको रंग सजिलै थाहा पाउँछ । कानुनी राज्य र निष्पक्ष पत्रकारिताको अभावमा, समाजका बहुरंगी मानिसको देखिने रंग र लुकाएको रंग ठम्याउन जोकोहीलाई कठिन छ । बहुरुपिया र कस्मेटिक दुनियाँमा बहुसंख्यक मानिसले समय र सन्दर्भमा रंग बदलेर आफ्ना कर्तुत छोप्ने मात्र होइन, भ्रम र भावना भजाएर आफ्नो स्वार्थसिद्ध गर्न उद्यत् देखिन्छन् ।

अहिलेको सामाजिक सञ्जालमा पनि यस्तै प्रवृत्तिको ठूलो उभार देखिन्छ, यो वास्तविक र भर्चुअल संसारको भ्रामक रिजोनेन्सको अर्को नमुना हो । मानवको सामाजिक जीवनमा लुकेका यस्तै विशृंखलताले नयाँ पुस्तालाई दिग्भ्रमित पारिरहेका छन् । जब चरित्रका खोल चिन्ने र चुन्ने हरित चेत अभियानमा आमनागरिक समाहित हुन्छन्, तब मात्र देशमा समृद्धिको पर्यावरण फस्टाउँछ ।

नयाँ पुस्ताको बिगुल : सामाजिक भ्रमीकरणलाई रोक्दै हरेक क्षेत्रमा हालीमुहाली गरिरहेका समाज तथा राजनीतिक खराब ऊर्जाका असली रूपको उजागर गर्न हरित ऊर्जाको पुस्ताले हरित चेतको बिगुल फुक्नैपर्छ । अमेरिकी राष्ट्रपति रुजवेल्टको आमचेतबारे एक प्रसिद्ध टिप्पणी छ, ‘मतदान भनेको त्यो राइफल हो, जसको प्रभावकारिता मतदाताको चरित्रमा निर्भर हुन्छ ।’ आमनागरिकले जनमतको राइफललाई सही निसानामा लगाएर देश निर्माणको चरित्र प्रतिबिम्बित गर्नुपर्छ ।

नत्र मतदाताको रंगभेदी चेतना तथा चरित्रमाथि प्रश्न तेर्सिन्छन् । त्यसैले, मतपत्रमार्फत खराब पात्र र प्रवृत्तिलाई निषेध गरेर समाजमा हरित चरित्र निर्माण गर्न आमनागरिक सुसूचित हुनुपर्छ । देशका अनगिन्ती बेथितिको शल्यक्रिया गर्न अब हरित चेतको राजनीतिक शक्तिको उभार आउनैपर्छ । यसका लागि हरित चरित्र भएका युवा शक्ति, नागरिक समूह तथा सामाजिक अभियन्ताले एकीकृत अभियान चलाएर सामाजिक चेतनाको शंखघोष गर्ने समय आएको छ । 

अबका दिनमा रातो र निलो छविका जोसुकैलाई राजनीतिक मात्र होइन आर्थिक, शैक्षिक तथा व्यावसायिक नेतृत्वमा पुग्न निषेध गर्ने कडा राजनीतिक तथा कानुनी अंकुश लगाउन ‘वाच डग’जस्तो हरित अभियान चलाउनु अपरिहार्य छ । नागरिकसामु तर्कानुकूलको तथ्यांक देखाउने कुटिलता प्रस्तुत गरेर विद्वान् नेता टोपलिने र वाक्कलाले सिर्जना गर्ने दिग्भ्रमित माहोललाई चिर्नुपर्छ ।

एक प्रसिद्ध दार्शनिक एडोनिसले भनेका छन्, ‘मतदान भनेको कुन राजनीतिक दल वा नेताले जनतालाई उसको भाषणबाट कति धेरै भ्रामक प्रभावमा पा¥यो भन्ने कुराको मापन हो ।’ भ्रमित चेतले सही गन्तव्यमा पु¥याउँदैन । भुलभुलैयामा पार्नेहरूलाई आममानिसले चिन्न र निषेध गर्न आवश्यक छ । हरित चेतको नेतृत्व आममानिसमा स्थापित भए मात्र राजनीतिक शुद्धीकरणको नयाँ अध्याय सुरु हुन्छ ।

सम्मुनत नेपालको दरिलो जग बसाउन सकिन्छ । समाजमा हरित चेत र चरित्रसहितको अभियान स्थापित नहुने हो भने हामी लाहुरे विरासतको दलदलमा सदा फसिरहने नै छौँ । बनिबनाउ आर्थिक इमारतका कल्पवृक्षको ओत पुस्तौँसम्म खोजिरहनेछौँ । विप्रेषण अर्थशास्त्रको पहिलो ‘च्याप्टर’मा सधैँ सूचीकृत हुनेछौँ । अहिलेको अन्योलको जन्जिर तोड्न, आधुनिक विश्व विकास बुझेको नयाँ पुस्ताले हरित चेतको अभियानमार्फत राजनीतिक शुद्धीकरण गर्दै आधुनिक राष्ट्र निर्माणमा अनुकूल स्थानबाट एकाकार हुनैपर्छ ।
 

सुझावित समाचार