बागमतीमा ६० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी

बुधबार, ३० जेठ, २०८१
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ को अनुमानित आय–व्ययसहितको बजेट यही असार १ गते ल्याउँदै छ । प्रदेश सरकारको आयस्रोतमा आएको संकुचनका कारण आगामी आवको बजेटको आकार घटेर आउने भएको छ । प्रदेश सरकारले आगामी आवका लागि ६० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको प्रदेशको आर्थिक ममिला तथा योजना मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रदेशको राजस्व संकलन दर न्यून रहेको र संघीय सरकारले दिने अनुदानमा समेत कटौती भएपछि चालू आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको हो ।

यसअघि प्रदेश सरकारले १३ वैशाखमा प्रदेशका मन्त्रालयलाई आगामी आर्थिक वर्षको बजेट सिलिङमा ११ प्रतिशतले कटौती गरेर पठाएको थियो । मुख्यतः राजस्व संकलनमा आएको कमी र संघीय सरकारले दिने अनुदानमा कटौती भएपछि प्रदेश सरकारले बजेट सिलिङमा ११ प्रतिशतले घटाउने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता एवं उपसचिव लक्ष्मीकुमार रिमालले जानकारी दिए । प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । जसमा चालूतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपैयाँ, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख नौ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो । 

बजेट खर्च व्यहोर्ने स्रोतअन्तर्गत प्रदेश सरकारले राजस्व तथा करबाट २५ अर्ब १७ करोड २६ लाख रुपैयाँ र अन्य राजस्वबाट पाँच अर्ब २६ करोड ९४ लाख रुपैयाँ, संघीय सरकारको वित्तीय हस्तान्तरणबाट १७ अर्ब ८१ करोड २३ लाख रुपैयाँ, चालू आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ रहने अनुमान गरेको थियो । तर, प्रदेश सरकारले लक्ष्यअनुसारको राजस्व संकलन हुन नसकेको र संघीय सरकारले दिने अनुदानमा समेत कटौती भएपछि आगामी आर्थिक वर्षको बजेटमा सन्तुलन कायम गर्न चालू आवकै हाराहारीमा बजेट ल्याउन तयारी गरेको हो ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारको आयस्तरलाई अधिकतम प्रयोग गरी बजेट निर्माण भइरहेको जानकारी दिए । ‘प्रदेश सरकारको आन्तरिक आय सोचेअनुरूप हुन सकेको छैन । संघीय सरकारबाट प्राप्त हुने अनुदानबापतको रकमसमेत कटौती भएको छ । यस्तो अवस्थामा बजेटको आकार बढाउने भन्दा पनि सन्तुलन कायम गर्ने कुरा प्रमुख हुन्छ,’ उनले भने । 

 जगन्नाथ थपलिया
आर्थिक मामिला तथा योजनामन्त्री

प्रदेश सरकारको आयस्तरलाई अधिकतम प्रयोग गरी बजेट निर्माण भइरहेको छ । आन्तरिक आय सोचेअनुरूप हुन सकेको छैन । त्यसैले बजेटको आकार बढाउनेभन्दा पनि सन्तुलन कायम गर्ने कुरा प्रमुख हुन्छ । 

See More On

सुझावित समाचार