अमित शाह पुनः भारतीय गृहमन्त्री

बुधबार, ३० जेठ, २०८१
डिजिटल संस्करण

भारतीय जनता पार्टी (भाजपा) का नेता अमित शाह दोस्रो कार्यकालका लागि मंगलबार भारतको गृहमन्त्री चुनिएका छन् । जिम्मेवारी सम्हालेपछि मन्तव्य दिने क्रममा शाहले नयाँ सरकारले देशको सुरक्षालाई अर्को तहमा पुर्याउने र भारतलाई आतंकवाद, विद्रोह र नक्सलवादविरुद्धको सुरक्षाकवचका रूपमा निर्माण गर्नेे बताए । प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो सरकारका ३० क्याबिनेट मन्त्रीको नयाँ सूचीमा शाहलाई गृहमन्त्रीको जिम्मेवारी तोकिएको छ । 

पद सम्हालेलगत्तै शाहले सामाजिक सञ्जाल ‘एक्स’मार्फत भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीजीको नेतृत्वमा मैले आज पुनः गृह मन्त्रालयको कार्यभार सम्हालेको छु । गृह मन्त्रालय देश र जनताको सुरक्षाका लागि सधैँजस्तै प्रतिबद्ध रहनेछ । प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालमा भारतले आफ्नो सुरक्षाका लागि आफ्नो प्रयासलाई थप उचाइमा पुर्याउनेछ र भारतलाई आतंकवाद, विद्रोह र नक्सलवादविरुद्ध एक सुरक्षाकवचको रूपमा निर्माण गर्नेछ ।’

यदि शाह लगातार पाँच वर्ष पदमा रहे भने उनी भारतको इतिहासका सबैभन्दा लामो समयका गृहमन्त्री बन्नेछन् । यसअघि भारतीय राष्ट्रिय कंग्रेसका गोविन्दबल्लभ पन्त र भाजपाका लालकृष्ण आडवाणी दुवैले ६ वर्ष केन्द्रीय गृहमन्त्रीको रूपमा काम गरेको इतिहास छ । मोदीको पहिलो प्रधानमन्त्री कालमा भाजपाका पूर्वअध्यक्षसमेत रहेका रक्षामन्त्री राजनाथ सिंह गृहमन्त्री थिए । 

सुझावित समाचार