मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछाने भन्छन्–३२ जेठबाट उपत्यकामा पानी नपठाउने निर्णय भएको छ । तर, ठूलो पानी परेन र सुरुङ हुँदै सुन्दरीजलसम्म आउने पानीमा धमिलोपन बढेन भने दुई–तीन दिन पर धकेलिन पनि सक्छ ।
पाँच महिनाअघि अस्थायी रूपमा काठमाडौं उपत्यकामा ल्याइएको मेलम्चीको पानी फेरि बन्द हुने भएको छ । मनसुन नेपाल भित्रिएसँगै आयोजनामा सम्भावित वर्षा र बाढीका कारण क्षति पुग्ने भन्दै जेठ मसान्तभित्रै बन्द गर्न लागिएको हो ।
मेलम्ची खानेपानी विकास समितिका अनुसार जेठ मसान्तबाट मेलम्चीको पानी उपत्यकामा नपठाउने निर्णय भएको छ । समितिले चौथो वर्ष पनि मेलम्चीको पानी उपत्यका पठाउन रोक लगाउन लागेको हो । ‘३२ जेठबाट उपत्यकामा पानी नपठाउने निर्णय भएको छ । तर, ठूलो पानी परेन र सुरुङ हुँदै सुन्दरीजलसम्म आउने पानीमा धमिलोपन बढेन भने दुई–तीन दिन पर धकेलिन पनि सक्छ,’ समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले भने । अघिल्लो वर्ष असारमा पनि मेलम्चीमा धमिलो पानी आउन थालेपछि बन्द गरिएको थियो । त्यसपछि गत १ माघदेखि मात्र उपत्यकावासीको धारामा पठाउन थालिएको थियो । मेलम्ची नदीमा बाढी आउन थालेपछि गत साउनदेखि पूर्ण रूपमा पानीमा रोक लगाइएको थियो ।
२७ र २८ साउन ०७९ मा आएको बाढीले आयोजनाको हेडवर्क्स बगाएकाले अस्थायी रूपमा समेत पानी ल्याउन सकस भएको थियो । बर्खा सुरु भएसँगै समितिले (असार पहिलो सातादेखि) मेलम्चीको पानी बन्द गरेको थियो । यस्तै, १ असार र १५ साउन ०७८ मा मेलम्चीमा आएको बाढीले हेडवर्क्स र सुरुङमा क्षति पुगेको थियो । १५ चैत ०७७ बाट मेलम्चीको पानी उपत्यकाका धारामा वितरण थालिएको थियो । यसअघिका बर्खायाममा पनि मेलम्चीको पानी रोकिएको थियो । मेलम्चीको पानी रोकिने भएसँगै फेरि उपत्यकामा पानीको अभाव हुने भएको छ । हाल उपत्यकामा करिब ४० करोड लिटर पानीको माग छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले विभिन्न माध्यमबाट करिब १२ देखि १३ करोड लिटर पानी संकलन गरेर वितरण गरिरहेको छ । मेलम्चीबाट आएको १७ करोड लिटर पानी रोकिनेबित्तिकै उपत्यकावासीले अरू विकल्प खोज्नुपर्ने हुन्छ । भने ट्यांकर व्यवसायीको मनोमानी बढ्ने उपभोक्ता बताउँछन् ।
हेडवर्क्स सार्न अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त गरिँदै
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हेडवर्क्स (बाँध क्षेत्र) सार्ने निर्णय गरेसँगै समितिले हेडवर्क्स सार्ने प्रक्रिया अगाडि बढाउने भएको छ । यसका लागि असारभित्र परामर्शदाता नियुक्त गर्न सूचना निकाल्नेछ । ‘हेडवर्क्स सार्ने ठाउँको विस्तृत अध्ययनका लागि अन्तर्राष्ट्रिय परामर्शदाता हायर गर्छौँ । यसका लागि असारमा सूचना जारी गर्छाैँ । सरकारले हेडवर्क्स सार्ने निर्णय गरेसँगै हामी पक्रियामा जाँदै छौँ,’ लामिछानेले भने । नयाँ हेडवर्क्स निर्माणका लागि चार अर्ब लाग्ने अनुमान छ भने सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि जम्मा ५० करोड बजेट छुट्याएको छ । आर्थिक वर्ष ०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले मेलम्ची खानेपानीका लागि ५० करोड छुट्याएको बताएका थिए ।
हेडवर्क्स सार्नका लागि एसियाली विकास बैंक (एडिबी)ले करिब दुई अर्ब अनुदान दिने घोषणा गरिसकेको छ । प्रत्येक वर्ष बाढीले मुख्य हेडवर्क्समा क्षति पुग्न थालेपछि सरकारले हेडवर्क्स सार्ने तयारी थालेको हो । यसका लागि आयोजनाको मुख्य ऋणदाता एसियाली विकास बैंक, परामर्शदाता र विशेषज्ञहरूको समूहले हेडवर्क्स सार्न सिफारिस गरेको थियो । ऋणदाताबाटै हेडवर्क्स सार्न सुझाव आएपछि सरकार पनि सकारात्मक भएको थियो ।
समितिले सिन्धुपाल्चोकको अम्बाथानबाट सुन्दरीजलसम्मको मुख्य सुरुङ, पानी डाइभर्ट गर्नका लागि हेडवर्क्स र सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण गरेको थियो । ती संरचनामध्ये हालसम्म सुरुङ र प्रशोधन केन्द्र पूर्ण रूपमा सम्पन्न भएर चार वर्षअघिदेखि पानी वितरण भएको थियो । हेडवर्क्स भने आयोजना सम्पन्न नहुँदै बाढीका कारण क्षतिग्रस्त भएको समितिले जनाएको छ । हेडवर्क्स प्रयोग गर्न नमिलेपछि यसअघि आयोजनाले अस्थायी बाँधमार्फत पानी ल्याउने गरेको थियो । १ जेठमा संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाई उपत्यकाको चक्रपथबाहिर र भक्तपुर जिल्लाको अरनिको राजमार्गसँग जोडिएका क्षेत्रमा क्रमशः खानेपानी आपूर्ति गरिने बताए पनि बाह्रै महिना पानी कहिलेदेखि आउने भन्नेबारे निक्र्योल गर्न नसकिने सरोकारवाला बताउँछन् ।