उपेन्द्रको राजनीतिक प्रतिवेदन संशोधनसहित पारित

बुधबार, ३० जेठ, २०८१
डिजिटल संस्करण

अध्यक्षमा उपेन्द्र यादव नै सर्वसम्मत हुने सम्भावना, पदाधिकारीमा रस्साकस्सी 

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको राजनीतिक प्रतिवेदन केही सुझावसहित पारित भएको छ । ३१ पृष्ठको प्रतिवेदनमा आएका सुझावलाई समेटेर संशोधन गर्ने प्रतिबद्धता जनाएपछि महाधिवेशनको बन्दसत्रले यादवको राजनीतिक प्रतिवेदन पारित गरेको हो । 

यादवको राजनीतिक प्रतिवेदनमाथि बन्दसत्रमा १० वटा समूह बनाई छलफल गरिएको थियो । ती समूहले दिएको सुझावलाई समेटर प्रतिवेदन संशोधन गर्ने जनाएपछि प्रतिवेदन पारित भएको जसपा महाधिवेशन प्रतिनिधि रामआशिष यादवले बताए । महाधिवेशनको बन्दसत्रमा पूर्वमन्त्री विजय यादवले प्रस्तुत गरेको पार्टीको आय–व्यय प्रतिवेदन र लेखा आयोग प्रमुख अमरेशनारायण सिंहले प्रस्तुत गरेको लेखापरीक्षण प्रतिवेदन पनि पारित भएको उनले बताए । 

जसपा नेपालमा पार्टीको नारामा पहिचान शब्द जोडनुपर्ने, पार्टीको अधार क्षेत्र मधेश किटान गरी देशभरि संगठन निर्माण गर्नुपर्ने सुझाव आएको छ । मधेशलाई मरुभूमीकरण हुनबाट जोगाउन पार्टीले ठोस नीति र पहलकदमी लिनुपर्ने, जसपा नेपाललाई मात्रै विरोध गर्ने जनमत पार्टीलाई शत्रु दलका रूपमा घोषणा गर्ने सुझाव आएको छ । लोसपासहित विचार मिल्ने पार्टीसँग एकता गर्नेसहितका सुझाव आएको उनले बताए । महाधिवेशनबाट राजनीतिक, आर्थिक प्रतिवेदन पारित भएपछि बुधबारदेखि पदाधिकारी तथा कार्यकारिणी सदस्य चयन प्रक्रिया सुरु हुनेछ । 

जसपा नेपालको महाविधेशनबाट २० पदाधिकारीसहित दुई सय एकजना केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य छनोट प्रक्रिया सुरु हुनेछ । महाधिवेशनले अध्यक्ष एक, सहअध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव दुई, उपमहासचिव तीन, सचिव सात र कोषाध्यक्ष एक गरी दुई सय एक केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गर्नेछ । अध्यक्षमा उपेन्द्र यादव नै सर्वसम्मत हुने सम्भावना प्रबल देखिए पनि पदाधिकारीमा भने रस्साकस्सी देखिएको छ । राजकिशोर यादवले अध्यक्षमा उम्मेदवारी नदिए सहअध्यक्ष पदमा उम्मेदवारी दिने सम्भावना छ । सो पदमा पूर्वमुख्यमन्त्री लालबाबु राउत, रकम चेमजोङ, विजय यादवलगायत आकांक्षी देखिएका छन् ।

उपाध्यक्षमा हरिनारायण यादव, पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, शिवलाल थापा, सुमन चौधरी, किशोरी यादव, रामअवतार यादव, उर्मिला साह, रेखा यादवसहित आकांक्षी देखिएका छन् । महासचिवमा दीपक कार्की, रामकुमार शर्मा, प्रकाश अधिकारी र विजय यादवको चर्चा छ । उपमहासचिवमा शैलेन्द्रप्रसाद साह, योगेन्द्र यादव, सर्शराम यादव, निर्मला यादवलगायत आकांक्षी देखिएका छन् । सचिवमा डा. सुरेन्द्र यादव, सरोजकुमारसिंह कुसवाह, ज्ञानेन्द्रकुमार यादव, जितेन्द्र यादव, रामआशिष यादवलगायत चर्चामा छन् । कोषाध्यक्षमा बलराम महतो, प्रमिला यादवलगायत आकांक्षी देखिएका छन् ।

सुझावित समाचार