तत्कालीन वेस्टर्न डेभलपमेन्ट बैंकका पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ), ब्रान्च मेनेजर र सञ्चालक समितिका सदस्य मिलेर गरेको घोटालामा आफूहरूलाई फसाइएको भन्दै मंगलबार पीडितहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।
तत्कालीन वेस्टर्न डेभलपमेन्ट बैंकमा भएको कुल १८ करोड रुपैयाँ घोटाला प्रकरणमा निर्दोषलाई फसाइएको भन्दै उनीहरूले दाेषीमाथि कारबाही र निर्दोषलाई न्याय दिन माग गरेका छन्।
देव विकास बैंकसँग मर्ज हुनुअघि बैंकका तत्कालीन ब्रान्च मेनेजर समीर बुढाथोकीले आफूले विभिन्न व्यक्तिसँग नगद सापटी लिने र बैंकमा फर्जी ऋणी खडा गरी सापटी लिएकाहरूको खातामा फर्जी ऋणबापतको रकम हालिदिएर घोटाला गरेका थिए। सोही कारण बुढाथोकीलाई नगद सापटी दिएका र बैंक खातामार्फत पैसा फिर्ता लिएकाहरू फर्जी ऋण खडा गरी बैंक मेनेजरले गरेको १८ करोड घोटाला प्रकरणमा मुछिएका छन्।
उच्च अदालत दाङले समेत दोषी देखाएर सजाय सुनाएपछि हाल वेस्टर्न डेभलपमेन्ट बैंकका पीडितहरू सर्वोच्च गएका छन्।
बैंकका सिइओ, सञ्चालक समितिका सदस्य तथा शाखा प्रबन्धकको मिलेमतो र प्रभावका आधारमा निर्दोषलाई बैंकिङ कसुरमा सजाय दिइएको र सिँगो गाउँ नै जेल जाने स्थिति देखिएपछि पीडितहरूले उक्त बैंक घोटाला प्रकरणको पुनः अनुसन्धान गर्न, पीडितलाई न्याय दिन र दोषीलाई कानुनअनुसार कारबाही गर्न माग गर्दै आन्दोलन गरेका हुन्।