भारतमा उष्ण लहर अझै बढ्ने चेतावनी दिइएकाे छ। भारतको इतिहासमा नै सबैभन्दा लामो उष्ण लहर (लु) का कारण जनजीवन प्रभावित बनेको भन्दै मौसमविद्हरूले अति आवश्यक कामबाहेक दिनको घाममा घरबाहिर ननिस्कन सुझाव दिएका छन्।
भारतीय मौसमविद्ले सोमबार नागरिकले अझै केही दिन बढ्दो तापक्रमको सामना गर्नुपर्ने बताएका छन्। उत्तरी भारतका केही भागमा मानिस मे महिनाको मध्यदेखि नै गर्मीको चपेटामा परेको र पछिल्ला केही दिनमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।
लगातार २४ दिनसम्म अनुभव गरिएकाले यो सबैभन्दा लामो ‘लु’ लागेको भारतको मौसम विज्ञान विभाग (आइएमडी)का प्रमुख मृत्युञ्जय महापात्रले दैनिक इन्डियन एक्सप्रेससँगको अन्तर्वार्तामा उल्लेख गरेका छन्।
यस महिना वार्षिक मनसुन वर्षा उत्तरतिर सर्दै जाँदा बिस्तारै गर्मी घट्ने अपेक्षा गरिएको छ। यद्यपि, महापात्रले गर्मीको कारण अझ जटिल मौसमी अवस्था आउन सक्ने चेतावनी दिए।
पछिल्लो गर्मीको लहरले नयाँदिल्लीको तापक्रम सन् २०२२ को ४९.२ डिग्री सेल्सियसको उच्च रेकर्डमा पुगेको छ। तापक्रम वृद्धिसँगै देशवासीले गर्मीबाट राहत खोज्दा विद्युत् ग्रिडमा आठ हजार ३०२ मेगावाटको उच्च रेकर्डको माग पुगेको छ।
मे २९ मा, दिल्लीको उपनगर मुंगेशपुरको एक स्वचालित मौसम स्टेसनले ५२.९ डिग्री सेल्सियसको उच्च तापक्रम रेकर्ड गरेको खबर पत्रपत्रिकामा आएको थियो, तर सरकारी अधिकारीले उक्त तापक्रम सेन्सरको त्रुटिपूर्ण परिणाम भएको जनाएको थियो।
दिल्लीका अन्य ठाउँका १७ अन्य सहरका स्टेसनहरूले सोही दिन अधिकतम ४९ डिग्री सेल्सियस तापक्रम मापन गरेका थिए। रासस