मधेश प्रदेश लागुऔषध कारोबारीहरूको ‘ट्रान्जिट प्वाइन्ट’ हुँदै आएको छ। पछिल्लो समय लागुऔषध कारोबारी पक्राउ परेका तथ्यांकले पनि प्रदेश लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’का रूपमा प्रयोग हुँदै आएको देखिएको हो।
पछिल्ला तीन आर्थिक वर्षको तथ्यांक हेर्दा प्रदेशमा रहेका आठ जिल्लामा लागुऔषधको कारोबार बढ्दै गइरहेको छ। पूर्व–पश्चिम लोकमार्गको दुई सय ५० किलाेमिटरसँग जोडिएका हुलाकी र अन्य खडक हुँदै सीधै भारतसँग सहज पहुँज रहेका राजमार्ग हुँदै लागुऔषध ओसारपसार हुने गरेका छन्।
मुलुकको प्रमुख आर्थिक नगरी तथा प्रवेशद्वारको रूपमा चर्चित रहेको पर्सा जिल्लामा सबैभन्दा बढी लागुऔषधको मुद्दा दर्ता भएको छ भने रौतहटमा तुलनात्मक रूपमा कम मुद्दा दर्ता भएको छ। तीन वर्षको अवधिमा मधेशमा लागुऔषधको मुद्दा वृद्धि भइरहेको मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरको तथ्यांकले देखाएको छ।
प्रदेशमा एक वर्षमा औसत एक हजार लागुऔषध मुद्दा दर्ता हुन्छन्। प्रदेशमा दर्ता हुने कुल मुद्दामध्ये लागुऔषधको मुद्दा पाँचौँ स्थानमा रहेको छ भने प्रहरीले लागुऔषध प्रयोगकर्ता पक्राउको क्रमले पनि प्रदेशमा लागुऔषध प्रयोगकर्ता बढिरहेको देखाएको छ। मधेशका सीमावर्ती क्षेत्र भारतको बिहार राज्यसँग रहेको हुँदा भारतबाट लुकाइछिपाइ लागुऔषध भित्र्याउने र यहाँबाट राजधानीलगायत मुलुकका विभिन्न ठाउँमा आपूर्ति हुँदै आएको छ।
नेपालबाट समेत मधेश प्रदेश हुँदै ठूलो परिमाणमा गाँजा भारत लगिने गरेको पाइएको छ । गाँजा तस्करीका निम्ति प्रदेशको बारा, पर्सा, रौतहट निकै प्रख्यात छन्। यी जिल्लालगायत बागमती प्रदेशका मकवानपुरबाट समेत ठूलो मात्रामा मधेश हुँदै गाँजा भारत पुग्ने गरेको छ।
प्रहरी तथ्यांकअनुसार मधेशको बजार क्षेत्रमा अवैध लागुऔषधको कारोबार बढ्दो छ। आर्थिक वर्ष ०७८/७९ मा एक हजार दुई सय ८५ जनालाई लागुऔषधसहित पक्राउ गरी मुद्दा चलाइएको थियो। सो वर्ष नौ सय २२ वटा लागुऔषधका मुद्दा दर्ता भएका थिए। यसैगरी आर्थिक वर्ष ०७९/८० मा एक हजार तीन सय चारजनालाई पक्राउ गरी लागुऔषध मुद्दा दर्ता गरिएको थियो। सो वर्ष नाै सय ३७ वटा लागुऔषधका मुद्दा दर्ता भएका थिए।
चालू आर्थिक वर्ष ०८०/८१ को वैशाखसम्ममा नाै सय २६ जनाविरुद्ध लागुऔषध मुद्दा चलाइएको प्रहरीले जनाएको छ। यस अवधिमा ६ सय ५९ वटा लागुऔषधका मुद्दा दर्ता भएका छन्। पक्राउ परेका अधिकांशको साथबाट फेनारगन, डाइजिल्याब, नोफिन, लुपिजेसिक, नाइट्राजेपाम, नाइट्रोसन, कोरेक्स, नाइट्राभेट, स्पास्मो पेरिमोन, डाइलेक्स डिसी र गाँजा बरामद भएको बताइएको छ। लागुऔषध प्रयोग र कारोबार रोक्न प्रहरीले शून्य सहनशीलताका साथ काम गरिरहेको बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।
नेपालमा प्रतिबन्धित लागुऔषधहरू भारतका सीमावर्ती बजारहरूमा खुलमखुला रूपमा खरिद0बिक्री हुनु र खुला सीमाका कारण यसको कारोबारमा नियन्त्रण गर्न प्रहरीलाई समेत टाउकोदुखाइ बनेको छ। जसका कारण मधेश प्रदेशका बजार लागुऔषध सेवनकर्ता र कारोबारीको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको हो ।
भारतीय सीमावर्ती बजार क्षेत्रका केही किराना र औषधि पसलमा औषधि र अन्य सामानसरह सहज रूपमा प्रतिबन्धित लागुऔषध पाइने गरेको जानकारहरू बताउँछन्। यसबाट सेवनकर्ताको संख्यामा वृद्धि भई स्थानीयस्तरमा आपराधिक मनोवृत्ति हाबी हुँदै गएको उनीहरूको बुझाइ छ। राज्यका तीनैवटा तहबाट लागुऔषध सम्बन्धित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने विश्लेषक सुदर्शनप्रसाद कोइराला बताउँछन्।
लागुऔषध नियन्त्रणका लागि प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयहरूले जाँच तथा खोजीकार्यलाई तीव्र पारेको मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले बताए। कडाइ गरेका कारण पक्राउ पर्नेको संख्या बढी देखिए पनि विगतको तुलनामा लागुऔषध कारोबारमा निकै कमी आएको उनको भनाइ छ।