सानदार बलिङ गर्दै चिरप्रतिस्पर्धी भारतलाई सामान्य स्कोरमा अलआउट गरे पनि ब्याटिङ नचल्दा पाकिस्तानको जारी टी–२० विश्वकप यात्रा संकटमा परेको छ।
गएराति सम्पन्न समूह ‘ए’को बहुप्रतीक्षित म्याच गुमाएसँगै सुपर एटमा पुग्ने पाकिस्तानको सम्भावना कमजोर बनेको हो।
पहिलो खेलमा अमेरिकाविरुद्ध हार व्यहोरेको पाकिस्तानले समूह चरणका बाँकी दुवै खेल जिते पनि सुपर एटमा पुग्न अरू टिमको नतिजा कुर्नुपर्नेछ।
यो समूहमा भारत र अमेरिकाले आ–आफ्ना दुवै खेल जितेर समान चार अंक आर्जन गरिसकेका छन्।
तुलनात्मक रूपले कमजोर अमेरिकाविरुद्धको खेल गुमाएपछि दबाबमा परेको पाकिस्तानले गएरातिको खेलमा उत्कृष्ट बलिङ गर्दै भारतलाई १९ ओभरमा एक सय १९ रनमा अलआउट गरेको थियो।
पाकिस्तानका नसिम साह र हरिश राउफले घातक बलिङ गर्दै समान तीन–तीन तथा मोहम्मद अमिरले दुई विकेट लिए। साहिन साह अफ्रिदीले एक विकेट लिए।
केवल एक सय २० रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १३ रन मात्र बनाउन सक्यो।
पाकिस्तानबाट जित खोस्दै भारतीय पोल्टोमा हाल्ने क्रममा जसप्रित बुमराहले झन् घातक बलिङ गरे। चार ओभरमा जम्मा १४ रन दिएका बुमराहले तीन विकेट लिए।
कुनै विकेट नलिए पनि मोहम्मद सिराजले चार ओभरमा जम्मा १९ रन दिए। यस्तै, हार्दिक पान्ड्याले दुई तथा अक्षर पटेल र अर्षदीप सिंहले एक–एक विकेट लिए।
पाकिस्तानका तर्फबाट विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले ४४ बलमा ३१ रन बनाए। यो नै पाकिस्तानको उच्च स्कोर थियो।