अध्यागमनका कर्मचारीलाई अब छुट्टै पोसाक

विमानस्थलमा तथा नाकामा अन्य कर्मचारीभन्दा फरक र स्मार्ट देखिने गरी नयाँ पोसाक स्वीकृत, अध्यागमनका कर्मचारीलाई अनुशासनमा राख्ने उद्देश्य

सोमबार, २८ जेठ, २०८१
डिजिटल संस्करण

विमानस्थल र सीमानाकास्थित अध्यागमनका काम गर्ने कर्मचारीलाई गृह मन्त्रालयले छुट्टै पोसाकको व्यवस्था गरेको छ । विमानस्थलमा तथा नाकामा अन्य कर्मचारीभन्दा फरक र स्मार्ट देखिने गरी नयाँ पोसाक स्वीकृत भएको हो । 

असार महिनादेखि अध्यागमनको फ्रन्टमा खटिने कर्मचारीले नयाँ पोसाक लगाउने अध्यागमन विभागका महानिर्देशक कोशहरि निरौलाले बताए । ‘अध्यागमनका कर्मचारीको सजिलै पहिचान होस् भनेर नयाँ पोसाकको व्यवस्था गरेका हौँ,’ निरौला भन्छन्, ‘साथै अध्यागमनलाई स्मार्ट बनाउने उद्देश्यअनुसार यसलाई कार्यान्वयनमा लगेका हौँ ।’ 

 असारदेखि अध्यागमनको फ्रन्टमा खटिने कर्मचारीले लगाउने नयाँ पोसाकमा दायाँतर्फ कर्मचारीको नाम र बायाँतर्फ अध्यागमन भनेर लेखिएको छ

अध्यागमनमा कार्यरत सबै कर्मचारीको नाप लिएर सिलाउने काम भइरहेको विभागले जनाएको छ । नयाँ पोसाकमा दायाँतर्फ कर्मचारीको नाम र बायाँतर्फ अध्यागमन भनेर लेखिएको छ । गत १६ जेठमा गृहमन्त्रीस्तरीय निर्णयबाट नयाँ पोसाकको डिजाइन स्वीकृत भएको छ । अध्यागमनमा नागरिक उड्डयन प्राधिकरण र अध्यागमनका कार्यरत कर्मचारीको पोसाक एकै हुने भएकाले पहिचान गर्न गाह्रो हुने गरेको छ । अध्यागमनका कर्मचारी भिजिट भिसासम्बन्धी सेटिङमा समेत मुछिँदै आएका छन् । अध्यागमनका कर्मचारीलाई अनुशासनमा राख्ने उद्देश्यले पनि छुट्टै पोसाकको व्यवस्था गरिएको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् । 

अध्यागमन विभागका महानिर्देशक कोशहरि निरौला भन्छन् ‘अध्यागमनका कर्मचारीको सजिलै पहिचान होस् भनेर नयाँ पोसाकको व्यवस्था गरेका हौँ । साथै अध्यागमनलाई स्मार्ट बनाउने 
उद्देश्यअनुसार यसलाई कार्यान्वयनमा लगेका हौँ ।’

२०७३ सालमा पनि विभागले अध्यागमन कर्मचारीलाई छुट्टै पोसाक लगाउनुपर्ने नियम लागू गरेको थियो । तर, त्यसवेला महानिर्देशक फेरिएसँगै नीति फेरिएको स्रोत बताउँछ । अध्यागमन विभागमा महानिर्देशक भएर काम गरेका पूर्वसचिव केदार न्यौपाने अध्यागमनका कर्मचारीलाई छुट्टै पोसाकले सकारात्मक प्रभाव रहने बताउँछन् । यसलाई निरन्तरतासमेत दिनुपर्ने उनको भनाइ छ । 
 

सुझावित समाचार