मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
मुख्यमन्त्री सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आइतबार जनमत पार्टीका तर्फबाट त्रिभुवन साहलाई वन तथा वातावरणमन्त्री र मोहम्मद सकिल मियाँलाई विनाविभागीय राज्यमन्त्री नियुक्त गरेकी हुन्।
दुवैलाई आजै प्रदेश प्रमुख भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छिन्। यसअघि विनाविभागीय राज्यमन्त्री नियुक्त रञ्जुकुमारी मण्डल खंगलाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
यससँगै मधेश प्रदेश मन्त्रिपरिषद् १६ सदस्यीय भएको छ। यसअघि मुख्यमन्त्री सिंहले १० मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए।