दुईपटकको विश्वविजेता वेस्ट इन्डिजसँग युगान्डा निरीह

युगान्डा सर्वाधिक कम योगफलमा समेटिँदा वेष्ट इन्डिजले दर्ता गरायो दोस्रो फराकिलो जित

आइतबार, २७ जेठ, २०८१
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत समूह ‘सी’को पछिल्लो म्याचमा वेस्ट इन्डिजले युगान्डालाई विशाल रनअन्तरले पराजित गरेको छ।

गुयनास्थित प्रोभिडेन्स स्टेडियममा आज बिहान सम्पन्न म्याचमा वेस्ट इन्डिजले युगान्डालाई एक सय ३४ रनले पराजित गरेको हो। युगान्डा ३९ रनमै अलआउट भएको खेलमा दुई भिन्न रेकर्ड बने। 

टी–२० विश्वकपको इतिहासकै दोस्रो फराकिलो जित दर्ता हुँदा सर्वाधिक कम योगफलमा अलआउट हुने टिम पनि युगान्डा बनेको छ।

यसअघि सन् २००७ मा जोहानेसवर्गमा खेलिएको म्याचमा श्रीलंकाले केन्यालाई एक सय १७ रनले पराजित गरी सर्वाधिक ठूलो अन्तरको जितको रेकर्ड आफ्नो नाममा लेखाएको थियो।

६ दिनअघि मात्रै पनि युगान्डा अफगानिस्तानसँग एक सय २५ रनले पराजित भएको थियो। यो पाँचौँ फराकिलो जित थियो।

यसैगरी, युगान्डा आइसिसी पुरुष टी–२० विश्वकपमा सर्वाधिक कम योगफलमा अलआउट हुने टिम पनि बन्यो। यो रेकर्डमा उसले नेदरल्यान्ड्सलाई बराबरी गर्याे। नेदरल्यान्ड्स सन् २०१४ मा श्रीलंकासँग ३९ रनमै अलआउट भएको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको युगान्डा १२ ओभरमा केवल ३९ रनमै समेटियो।

युगान्डालाई कम स्कोरमा समेट्ने क्रममा वेस्ट इन्डिजका अकिल होसैनले पाँच विकेट लिए। चार ओभर बलिङ गरेका उनले केवल ११ रन दिए । टी–२० मा यो उनको सर्वाधिक उत्कृष्ट प्रदर्शन हो।

युगान्डाका जुमा मियागीले मात्र दोहोरो अंक हुँदै १३ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यामले ६ रनभन्दा माथि स्कोर गर्न सकेनन्। युगान्डाले पावरप्लेभित्र केवल २२ रन बनाउँदा पाँच विकेट गुमाइसकेको थियो। 

त्यसअघि वेस्ट इन्डिजले ओपनर जोनसन चार्ल्सको ४४, एन्ड्रे रसेलको अविजित ३०, कप्तान रोभमन पवेलको २३ तथा निकोलस पुरन र सेर्फेन रदरफोर्डको समान २२ रन मद्दतमा बलियो लक्ष्य खडा गरेको थियो।


यो जितसँगै वेस्ट इन्डिस चार अंकसहित समूह ‘सी’को दोस्रो स्थानमा छ। समान दुई खेलमा समान चार अंकसहित अफगानिस्तान शीर्ष स्थानमा छ।

युगान्डाले भने आफ्नो तेस्रो खेलमा दोस्रो हार व्यहोरेको हो। यो समूहमा रहेका अन्य टिम पपुवा न्युगिनीले दुवै खेल गुमाएको छ भने एक खेल खेलेको न्युजिल्यान्ड पनि अंकविहीन छ।

सुझावित समाचार