भारतीय कंग्रेसका नेता राहुल गान्धी संसद्मा भारतको प्रमुख विपक्षी दलको नेतामा मनोनीत भएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख प्रतिद्वन्द्वी गान्धी शनिबार विपक्षी नेतामा मनोनीत भएका हुन् ।
कंग्रेस नेतृत्वको बैठकमा राहुललाई भारतको आधिकारिक विपक्षी नेताको रूपमा चयनका लागि सिफारिस गर्न सर्वसम्मतिले मतदान भएको थियो । यो पद सन् २०१४ देखि रिक्त थियो । मोदीले पछिल्लो समय आमचुनाव जितेपछि तेस्रो कार्यकालका लागि शपथ लिँदै छन् ।
गान्धीको पार्टीले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई बहुमतबाट वञ्चित गरेको थियो । यसले भाजपालाई सरकारको नेतृत्व गर्न गठबन्धनका साझेदारमा निर्भर रहन बाध्य पारेको छ ।
गान्धीले विश्लेषकको अपेक्षा र एक्जिट पोललाई बेवास्ता गर्दै आफ्नो पार्टी (कंग्रेस)लाई संसद्मा सिटका हिसाबले लगभग दोब्बर बनाएका थिए । एक दशकपछि कंग्रेसका लागि यो सबैभन्दा राम्रो परिणाम हो ।