संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) सेवा सञ्चालन निजी वायुसेवा कम्पनीहरूलाई पनि दिन सकिने बताएका छन्।
अठोट नेपाल र उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको पर्यटन विकास समितिको संयुक्त आयोजनामा शनिबार आयोजित दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटो प्रतियोगिता, २०२४ को उद्घाटन गर्दै मन्त्री तामाङले यस्तो बताएका हुन्।
‘हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ नेपाल वायु सेवा निगमले गरिरहेको छ। तर, अन्तर्राष्ट्रिय उडानको मान्यता पाएका निजी विमान कम्पनीले यस विमानस्थललाई आधार बनाएर नियमित उडान सुरु गरेमा त्यो जिम्मेवारी दिन सकिन्छ,’ उनले भने।
यसका लागि नागरिक उड्ययन प्राधिकरण विमानस्थल सेवाशुल्क नियमावली २०७८ को नियम ५.२ बमोजिम प्रक्रिया सुरु गर्न प्राधिकरण व्यवस्थापनलाई स्वीकृति प्रदान गरिएको पनि मन्त्री तामाङले जानकारी दिए।
यसरी निजी विमान कम्पनीलाई पनि प्रतिस्पर्धा गराएर सेवा सुरु गर्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोझै अन्तर्राष्ट्रिय उडान बढाउन सकिने उनले विश्वास व्यक्त गरे।