चीन र पाकिस्तानबीच सिपेक स्तरोन्नतिको सहमति

शनिबार, २६ जेठ, २०८१
डिजिटल संस्करण
चीन र पाकिस्तानबीच सिपेक स्तरोन्नतिको सहमति

पूर्वी पाकिस्तानको लाहोर–अब्दुल हकीम मोटरवेको शारकपुर–राजाना खण्ड । तस्बिर : सिन्ह्वा

चिनियाँ राष्ट्रपति सी जिनपिङ र पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफबीच चीन–पाकिस्तान इकोनोमिक करिडोर (सिपेक)को स्तरोन्नति गर्ने सहमति भएको छ।

आम चुनावपछि पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ र उनको प्रतिनिधिमण्डल चीनको पाँचदिने भ्रमणमा रहेको अवस्थामा यस्तो सहमति भएको हो। दुई नेताले सिपेकको स्तरोन्नति र मेगा परियोजनाको विकासलाई दोस्रो चरणमा अगाडि बढाउन सहमति जनाएका छन्।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले सिपेकको दोस्रो चरणको उद्घाटन गर्ने सम्भावना रहेको जनाइएको छ। यद्यपि, यो यात्राले सामान्यतयाः जुनको पहिलो हप्तामा प्रस्तुत हुने वार्षिक संघीय बजेटमा ढिलाइ निम्त्याएको छ भने सरकारको अस्थायी योजनाअनुसार जुन–१२ मा प्रस्तुत हुने अपेक्षा गरिएको छ।

पाकिस्तानी प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सीलाई आर्थिक सुधार, दिगो विकास, औद्योगिक विकास, कृषि आधुनिकीकरण, क्षेत्रीय सम्पर्क र देशको विकासमा सिपेकले खेलेको महत्त्वपूर्ण भूमिकाका लागि पाकिस्तानको नीतिबारे जानकारी गराए।

उनले सिपेकको उच्च गुणस्तरिय विकास र घनिष्ठ समन्वयको माध्यमबाट दुई देशको विकास रणनीतिबीच तालमेललाई बढावा दिन पाकिस्तानको प्रतिबद्धतालाई जोड दिए। प्रधानमन्त्री शाहबाजको राष्ट्रपति सीसँग पदभार सम्हालेपछि भएको यो पहिलो भेट हो।

प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिका अनुसार यो भेट दुई देशबिचको घनिष्ठ मित्रता र रणनीतिक सम्बन्धको परम्परागत न्यानो प्रतिबिम्बद्वारा उजागर गरिएको थियो। पाकिस्तानी प्रधानमन्त्री सरिफले राष्ट्रपति सीको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) र ग्लोबल डेभलपमेन्ट इनिसिएटिभको प्रशंसा गर्दै बिआरआईको प्रमुख परियोजनाका रूपमा सिपेकले पाकिस्तानको सामाजिक–आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याएको कुरामा जोड दिए। 

यसैबीच, चिनियाँ नेताले पाकिस्तानमा चिनियाँ परियोजनाको सुरक्षा सुनिश्चित गर्न प्रयास बढाउन शाहबाज सरिफलाई पनि आह्वान गरे। 

सुझावित समाचार