धितोपत्र बोर्डको ३२औँ वार्षिकोत्सव : पुँजी बजारसम्बन्धी कानुन संशोधन गरिने

शनिबार, २६ जेठ, २०८१
डिजिटल संस्करण

डा. रामप्रसाद घिमिरे, राजस्व सचिव : धितोपत्रसम्बन्धी कानुन संशोधन गरेर आवश्यक नीतिगत व्यवस्था गरिनेछ । यसैगरी, बोर्डको संस्थागत सुदृढीकरण पनि गर्ने तयारी भइरहेको छ ।

अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले पुँजी बजारसम्बन्धी कानुनमा सुधारको काम भइरहेको बताएका छन् । शुक्रबार नेपाल धितोपत्र बोर्डको ३२औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले बोर्डलाई शुभकामना दिँदै भने, ‘हालै संसद्मा प्रस्तुत भएको आगामी आवको बजेटमा पनि बोर्डको संस्थागत सुदृढीकरण गर्ने उल्लेख छ । सोहीअनुसार बोर्डको सुदृढीकरण गर्न हामी सकारात्मक छौँ ।’ बोर्डका अध्यक्ष नरेन्द्रकुमार रानाले धितोपत्र बजार थप सुदृढ बनाउन संस्थागत तथा कानुनी सुधार आवश्यक रहेको बताए । 

साथै, उनले बोर्डको नेतृत्व पदपूर्ति हुनुपर्नेमा जोड दिए । उनले छिटोभन्दा छिटो बोर्डमा पूर्ण अधिकारप्राप्त अध्यक्ष नियुक्त हुनुपर्ने बताए । ‘लामो समयसम्म बोर्ड नेतृत्वविहीन हुँदा अधिकांश काम प्रभावित भएका छन् । अहिले अर्थ मन्त्रालयको प्रतिनिधिका रूपमा मैले अध्यक्षको हैसियतमा काम गरिरहेको छु । यसले बोर्डको काम–कारबाहीमा केही सहजता आउँछ,’ उनले भने, ‘तर, सरकारले छिटोभन्दा छिटो अध्यक्ष नियुक्त गरोस् भन्ने चाहन्छु ।’ 

बोर्डले आफ्नै भवन बनाउन पहल गरिरहेको अध्यक्ष रानाले बताए । हालसम्म बोर्ड भाडाकै भवनमा बस्दै आएको छ । तर, अब बोर्डको आफ्नै भवन बनाउने तयारीमा रहेको उनले बताए । बोर्डको भवन निर्माणका लागि आफूले सक्दो पहल गर्ने उनको भनाइ छ । जग्गा खरिदका लागि उपत्यका विकास प्राधिकरणलाई तीन वर्षअघि नै रकम भुक्तानी गरेको थियो । तर, जग्गा अझै पनि बोर्डको स्वामित्वमा आउन सकेको छैन । 
राजस्व सचिव घिमिरेले बोर्डको जग्गा खरिद र भवन निर्माणका लागि सहजीकरण गर्ने बताए । 

सुझावित समाचार