पदभार ग्रहणपछि नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले भने–काँधमा थप जिम्मेवारी थपिएको छ, इमानदारीपूर्वक वहन गर्नेछु । संघीयतामाथि आक्रमण भइरहेकाले संघीयतालाई संस्थागत गर्ने पहिलो प्राथमिकता हुन्छ । भ्रष्टाचार न्यूनीकरण गर्ने पहिलो प्राथमिकता रहन्छ । ६ वटा दल सरकारमा सहभागी भएका कारण हाम्रो पार्टीले बढी मन्त्रालयको जिम्मेवारी पाएन । तैपनि ती मन्त्रालयको कामकारबाही चुस्तदुरुस्त बनाउन हरेक प्रयास गर्छु ।
जनता समाजवादी पार्टी (जसपा)को साढे ६ वर्र्षे वर्चस्व विस्थापित गर्दै मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनेको छ । ६ दलीय गठबन्धनबाट जनमतका नेता सतिश सिंह मधेशको तेस्रो मुख्यमन्त्री नियुक्त भएका छन् ।
उनलाई एमाले, माओवादी, जनमत, नेकपा एस, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका ५५ सांसदको समर्थनमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।
मुख्यमन्त्री सिंहले शुक्रबार नै तीन राज्यमन्त्रीसहित १४ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन् । एमालेबाट सरोजकुमार यादव भौतिक पूर्वाधार, शत्रुधनप्रसाद सिंह स्वास्थ्य, राजकुमार लेखी शिक्षा र प्रमोद जयसवाल खेलकुदमन्त्री बने । माओवादीबाट भरतप्रसाद साह अर्थ र युवराज भट्टराई उद्योगमन्त्री नियुक्त भएका छन् ।
यसैगरी, एकीकृत समाजवादीबाट भूमिमन्त्री गोविन्द न्यौपाने र खानेपानीमन्त्री बेची लुङेली बनेका छन् । संघीय समाजवादीबाट विमला अन्सारी गृहमन्त्री बन्दा नाउपाबाट उर्मिला चौधरी श्रममन्त्री बनेकी छिन् ।
मुख्यमन्त्री सिंहले भागबन्डा मिलाउन तीनजना राज्यमन्त्री पनि नियुक्त गरेका छन् । एमालेबाट केशव राय स्वास्थ्य र शारदादेवी थापा शिक्षा राज्यमन्त्री बनेका छन् भने जनमतबाट मञ्जुकुमारी मण्डल खंगले विनाविभागीय राज्यमन्त्रीका रूपमा शपथ लिएकी छिन् ।
गाउँपालिका अध्यक्षमा पराजित, पहिलो निर्वाचनमै बने मुख्यमन्त्री
जनमतले संसदीय दलका नेता महेशप्रसाद यादवलाई पन्छाएर सतिशकुमार सिंहलाई मुख्यमन्त्री बनाएको छ । सिंह ०७९ को स्थानीय तहको निर्वाचनमा सप्तरी तिलाठीकोइलाठी गाउँपालिकाको अध्यक्षमा पराजित भएका थिए । त्यसअघि उनी ०७४ को निर्वाचनमा तत्कालीन दल राजपाबाट सोही गाउँपालिका अध्यक्ष बनेका थिए । गाउँपालिकामा चुनाव हारेपछि उनी जनमतमा प्रवेश गरेका थिए । र, जनमतबाट सप्तरी २ को (१)बाट निर्वाचित भएका थिए । मुख्यमन्त्री सिंहका बुबा शेखरकुमार सिंह लोसपाबाट राष्ट्रिय सभा सदस्य छन् ।
पहिलोपटक दलित समुदायबाट मन्त्री
मधेशमा पहिलोपटक दलित समुदायले मन्त्री पाएको छ । प्रदेश संरचनाको साढे ६ वर्षमा जसपा नेतृत्वमा दुईवटा सरकार बनेकामा दलित समुदायबाट मन्त्री बन्न पाएनन् । शुक्रबार बनेको सतिश सिंह नेतृत्वको मन्त्रिपरिषद्मा जनमतकी सप्तरीकी समानुपातिक सांसद रञ्जुकुमारी मण्डल खंग राज्यमन्त्री बनेकी हुन् । प्रदेश सभामा आठजना दलित सांसद छन् ।
मुस्लिम महिला गृहमन्त्री
मुख्यमन्त्री सतिश सिंहले मुस्लिम समुदायबाट गृह, सञ्चार तथा कानुनमन्त्री बनाएका छन् । नेपाल संघीय समाजवादी पार्टीकी सांसद विमला अन्सारी गृहमन्त्री बनेकी हुन् । मधेशमा मुस्लिम समुदायबाट गृहमन्त्री बन्ने अन्सारी पहिलो महिला हुन् । यसअघि तत्कालीन मधेशी जनअधिकार फोरमले वीरगन्जकी करिमा बेगमलाई केन्द्रमा राज्यमन्त्री बनाएको थियो । तर, अन्सारी मुस्लिम महिलाबाट पहिलोपटक क्याबिनेट मन्त्री बनेकी हुन् । मधेश प्रदेशमा मुस्लिम समुदायको १२ प्रतिशत जनसंख्या छ ।
सांसदलाई बजेट दिने मन्त्रिपरिषद्को पहिलो निर्णय : प्रत्यक्ष निर्वाचितलाई पाँच करोड र समानुपातिकलाई डेढ करोड
सतिश सिंह नेतृत्वको मधेश सरकारले सांसदलाई बजेट दिने पहिलो निर्णय गरेको छ । सर्वाेच्च अदालतले सांसदका नाममा बजेट दिने संघ र प्रदेश सरकारको चालू आवको बजेट रोकिदिए पनि मधेशले भने फेरि पुरानै प्रक्रिया दोहोर्याएको हो ।
मन्त्रिपरिषद् बैठकले प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय गरेको हो । यसैैगरी, सहिद परिवारका लागि राहत र वृत्ति विकास तथा संघीयता र गणतन्त्रका संस्थापक नेताद्वय गजेन्द्रनारायण सिंह तथा रामराजाप्रसाद सिंहलक्षित कार्यक्रम ल्याउने निर्णय गरेको छ ।