कुनै समय उजाड देखिने जमिन अहिले हरियाली भएको छ। लटरम्म तरकारी फलिरहेको दृश्यले त्यहाँको वातावरण नै मनोरम बनाएको छ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ डोक्रेनामा १० बिघा जग्गामा बक्सिङ प्रशिक्षक राजु थापाले व्यावसायिक तरकारी खेती गरेका छन्। तुलसीपुर– ४ बनहरी निवासी उनी होटेल व्यवसायी पनि हुन्। दिउँसो र साँझ जागिर र होटेलतिर व्यस्त भए पनि बिहानको समय उनले तरकारी खेतीलाई दिने गरेका छन्। ‘दिउँसो जागिर (बक्सिङ प्रशिक्षण)तिर जान्छु,’ उनले भने, ‘साँझ होटेलतिर पनि हुर्नुपर्छ, बिहान र कहिलेकाहीँ साँझ तरकारीलाई समय दिएको छु।’
कोरोना महामारीको सुरुवातमा भएको ‘लकडाउन’का वेलादेखि उनले व्यावसायिक तरकारी खेती सुरु गरेका हुन्। सुरुमा पाँचजनाले संयुक्त तरकारी खेती गरेको भए पनि पछिल्लो दुई वर्षयता राजु एक्लैले उक्त तरकारी खेती गरिरहेका छन्। उनले करेला, बोडी, काँक्रा, लौका, फर्सीलगायतको खेती गरेका छन्।
डेढ बिघा क्षेत्रफलमा बोडी, डेढ बिघा क्षेत्रफलमा काँक्रा, १५ कट्ठा क्षेत्रफलमा लौका, एक बिघामा करेला, दुई बिघामा टमाटर तथा १५ कठ्ठामा स्पाइस खेती गरेको राजु बताउँछन्। तरकारी खेतीमा उनले ४५ जनालाई रोजगारीसमेत दिएका छन्। मासिक तलब दिएर १० जना कामदार राखेका छन्। उनीहरूलाई मासिक २५ हजारसम्म तलब छ भने बाँकीलाई ज्यालादारीमा रोजगार दिइएको राजुले बताए। ज्यालादारीहरूलाई उनले दैनिक पाँच सयका दरले दिने गरेका छन्। रोजगार पाएकाहरू सबै गाउँकै हुन्। गाउँमै रोजगारी पाउँदा स्थानीय पनि खुसी भएका छन्।’
गाउँमै रोजगारी पायौँ, पहिले लेबर गर्न बजार जानुपर्थ्याे,’ ज्यालादारीमा काम गरिरहेकी शर्मिला चौधरीले भनिन्, ‘तर, अहिले गाउँमै रोजगारी पाएका छौँ।’ राजुले दुई सिजनमा तरकारी खेती गर्दै आएका छन्। हिउँदे र बर्खे तरकारी खेती गर्दै आएका उनले एक सिजनमा कम्तीमा २० लाख आम्दानी गर्दै आएका छन्। ‘कुनै समय बजारले भाउ नपाउने, नियमित वर्षात् हुँदा तरकारीमा क्षति हुने गरेको अवस्था पनि छ,’ उनले भने, ‘त्यसबाहेक राम्रो हुँदै गएमा एक सिजनमा २० लाखभन्दा बढी पनि आम्दानी हुने गर्छ।’
तर, एक सिजनमा खर्च पनि ४५ लाख रुपैयाँसम्म हुने गरेको उनले सुनाए। वर्षमा दुई सिजन खेती हुँदा एक करोड खर्च हुने र त्यो खर्च कटाएर ५० लाखको हाराहारीमा आम्दानी हुने उनी बताउँछन्।
तरकारीले वैशाख १५ गतेसम्म राम्रो मूल्य पाउने गरेको भए पनि त्यसभन्दा पछि भने बिस्तारै मूल्य घट्दै जाने गरेको उनले बताए। ‘बजार भाउमा सरकारले अलिकति ख्याल गरिदिए हुन्थ्यो, सबैतिर मूल्यमा एकरूपता भएमा सहज हुन्थ्यो,’ उनले भने, ‘तीन दिनअघि मात्रै होलसेलमा ७० रुपैयाँ किलो बिक्री हुने गरेको बोडी हिज आज ३० रुपैयाँमा बिक्री गर्नुपरेको छ,’ उनले भने, ‘टमाटर ३० रुपैयाँ थियो, एक्कासि २० भयो।’ दिन प्रतिदिन यसरी तरकारीको मूल्य एक्कासि घट्दै गइरहेको उनको उनी बताउँछन्।
उत्पादित तरकारी दाङको बजारमा मात्रै होइन, बाहिरी जिल्लामा समेत निर्यात हुने गरेको छ। सुर्खेत, धनगढीलगायतका बजारमा तरकारी निर्यात हुने गरेको थापाले बताए। उनले १० बिघा जग्गालाई वार्षिक पाँच लाख रुपैयाँ तिरेर लिजमा लिएका छन्।
तरकारी खेतीबाट आम्दानी राम्रै लिन सकिने भए पनि यसमा सरकारले थप सहजता भने बनाउनुपर्ने उनको माग छ। ‘समयमा मल पाइँदैन, मल महँगोमा किनेर ल्याउनुपर्छ,’ उनले भने, ‘मूल्यमा पनि एकरूपता ल्याइदिए सहज हुन्थ्यो।’
उनी लामो समय बक्सिङ खेलाडीका रूपमा पनि रहे। ०४८ देखि ०५४ सम्म बक्सिङ खेलाडीका रूपमा रहेका उनले तीनवटा राष्ट्रिय खेल पनि खेले। अहिले प्रशिक्षकका रूपमा रहेका उनले उत्पादन गरेका चेलाहरू अन्तर्राष्ट्रिय खेलका लागि समेत छनोट भएका थिए। तर, लकडाउनले गर्दा उनीहरू त्यो खेल खेल्न जान पाएनन्। थापा ४९औँ खाद्य दिवसका अवसरमा लुम्बिनी प्रदेशबाट ‘तरकारी विधा’मा सम्मानितसमेत भएका छन्। तरकारी विधामा उहाँ सम्मानित भएका थिए।