नेकपा (माओवादी केन्द्र) समाज कल्याण विभागले ‘सामाजिक न्याय, सुशासन र समृद्धि’को अभियानलाई केन्द्रमा राखेर सामाजिक अभियन्तामाझ बृहत्तर अन्तर्क्रिया एवं भेला गर्ने भएको छ।
यही जेठ २५ र २६ गते गर्न लागिएको भेलामा देशभरबाट ३०० भन्दा बढी सामाजिक अभियन्ताहरू काठमाडौं आउने विभागका प्रमुख सत्या पहाडीले जानकारी दिइन्।
उनका अनुसार ‘सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रा, सामाजिक अभियन्ताहरूको अर्थपूर्ण सहभागिता र हाम्रो प्रतिबद्धता’ नारामा आधारित भएर गरिने भेलाको अन्त्यमा काठमाडौं घोषणापत्र जारी गरिनेछ।
भेलाबाट सरकारले तय गरेको सामाजिक रूपान्तरणको अभियानमा सामाजिक संघसंस्थालाई सहभागी गराउने र सरकारको नीति नियमभित्र रहेर आमसामाजिक अभियन्ताहरूले राजनीतिक परिवर्तनको यात्रामा गरेको योगदान सँगसँगै बुझ्न पाइने बताइएको छ।
सामाजिक संघसंस्थालाई पार्टीको धारणा बुझाउने र माओवादी केन्द्रले सामाजिक संस्थालाई कसरी हेरेको छ भन्ने विषयमा विभिन्न वृत्तबाट फरक धारणा आउने पहाडीले बताइन्।