सगरमाथा चढ्ने घटे, करिब ६ सय चुचुरोमा

सन् २०२३ को वसन्त सिजनमा गाइडसहित ६ सय ४६ जनाले सगरमाथाको चुचुरो चुमेका थिए

बुधबार, २३ जेठ, २०८१
डिजिटल संस्करण

यस वर्षको वसन्तकालीन सिजनमा सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्ने आरोहीहरू घटेका छन् । वसन्त सिजनमा पथप्रदर्शक (गाइड)सहित करिब ६ सयजनाले सगरमाथा आरोहण गरेको पर्यटन विभागका निर्देशक राकेश गुरुङले बताए । यो संख्या अन्तिम तथ्यांक नभएकाले केही संख्या थपघट हुने उनको भनाइ छ । सन् २०२३ को वसन्त सिजनमा गाइडसहित ६ सय ४६ जनाले सगरमाथाको चुचुरो चुमेका थिए । जसमा १३ नेपालीसहित दुई सय ८७ आरोही र तीन सय ५९ गाइड रहेका थिए । 

यो वर्ष सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहीको संख्यामै कमी आएको छ । अघिल्लो वर्ष विभिन्न देशका चार सय ७८ आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएकोमा यस वर्ष चार सय २१ जनाले मात्र अनुमति लिएको निर्देशक गुरुङले जानकारी दिए । यो वर्ष सगरमाथासहित अन्य हिमाल आरोहणको अनुमति लिनेको संख्यामै गिरावट आएको विभागले जनाएको छ ।

सन् २०२३ को वसन्त सिजनमा विभिन्न हिमाल आरोहण गर्न अनुमति लिनेहरूको संख्या ११ सय ८९ रहेकोमा यस वर्ष एक हजार दुई मात्रै रहेको छ । ‘यस वर्ष आरोहीको संख्या घट्नुमा दुई–तीन कारण मुख्य छन्, सुरुमा तिब्बतर्फबाट पनि सगरमाथा आरोहण खुला गरिँदै छ भने हल्ला गरियो, कतिपयले उत्तरबाट चढ्ने तयारी गरे, तर धेरै पछि मात्र आरोहण खुला गरियो,’ उनले भने, ‘यही समय भारतमा लोकसभा निर्वाचन भयो, जसले गर्दा कर्मचारी, आर्मी, पुलिसलगायतले बिदा पाउन सकेनन् ।’  

विश्व आर्थिक मन्दीका कारण पनि आरोहीको संख्या घटेको हुन सक्ने उनको अनुमान छ । रुस युक्रेन द्वन्द्वका कारणले धेरै देशहरू मन्दीमा फसेका कारण पनि हिमाल आरोहण गर्न आउने विदेशी आरोही घटेको गुरुङले बताए । सगरमाथा आरोहण गर्न एकजना विदेशीले ११ हजार अमेरिकी डलर रोयल्टीसहित कम्तीमा ३५÷४० लाख नेपाली रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।  

हिमाल आरोहणका क्रममा खुम्बु क्षेत्रका हिमालमा नौजनाको निधन भएको पर्यटन विभागले जनाएको छ । जसमध्ये सगरमाथामा पाँचजना र लोत्सेमा एकजनाको निधन भएको छ भने सगरमाथामै तीनजना हराइरहेका छन् । यस्तै, मकालु हिमाल आरोहणका क्रममा दुईजनाको निधन भएको गुरुङले बताए ।
 

See More On

सुझावित समाचार