नेदरल्यान्ड्सका बलरले घातक बलिङ गरेपछि आइसिसी टी–२० विश्वकप प्रतियोगिताको पहिलो म्याचमा नेपाल एक सय ६ रनमा अलआउट भएको छ।
अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी खेलमैदानमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको थियो।
तर, कप्तान रोहितकुमार पौडेलका अलावा कुनै पनि ब्याटरले नेदरल्यान्ड्सका बलरसँग स्पर्धा गर्न सकेनन्।
कप्तान रोहितले ३६ बलमा ३५ रन बनाएर संघर्ष गरे पनि अन्य ब्याटरको साथ नपाउँदा सम्मानजनक स्कोरसम्म टिमलाई पुर्याउन सकेनन्।
नेपाललाई धरासायी बनाउने क्रममा नेदरल्यान्ड्सका टिम प्रिन्गल र लागान भान विकले समान तीन, तीन तथा पाउल भान मिकेरेन र बास डे लिडेले समान दुई विकेट लिए।
प्रिन्गलले चार ओभरमा २० रन दिएर तीन तथा लागान भानले पनि घातक बलिङ गर्दै ३.२ ओभरमा १८ रन दिएर तीन विकेट लिए।
पाउल भानले चार ओभरमा १९ रन दिए भने बास डे लिडेले चार ओभरमा २२ रन खर्चिए । भिभियन किङ्ग्माले चार ओभरमा २३ रन दिए । उनी विकेटविहीन रहे।
नेपाली ओपनर आज पनि चल्न सकेनन् । टिमको स्कोर दश हुँदा आसिफ सेख व्यक्तिगत चार रनमा आउट भए । लगत्तै १५ रनको अवस्थामा अर्का ओपनर कुशल भुर्तेलले विकेट गुमाए। एनले सात रन मात्र जोड्न सके। अनिल साह ११, कुशल मल्ल नौ, दीपेन्द्रसिंह ऐरी एक र सोमपाल कामी शून्य रनमा आउट हुँदा नेपाली ब्याटिङ ध्वस्त बनिसकेको थियो।
गुल्सन झा र करण केसीले २२ रनको साझेदारी गरेपछि नेपालले सय रन पूरा गरेको थियो । करणले १२ बलमा दुई छक्कको सहायतामा १२ बलमा १७ तथा गुल्सनले एक छक्काको मद्यतमा १५ बलमा १४ रन बनाए।
अविनाश बोहरा गोल्डेन डक आउट हुँदा सागर ढकाल शून्य रनमा अविजित रहे। नेपाली ब्याटरले निराशाजनक प्रदर्शन गरेपछि नेदरल्यान्ड्ले खेल जित्न एक सय सात रनको सहज लक्ष्य पाएको छ।