स्वतन्त्र व्यक्तिहरूको सञ्जाल बन्ने गरी सभापति रवि लामिछानेको परिकल्पनामा ७ असार ०७९ मा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई वर्ष पूरा गर्न लागेको छ । यसबीच रास्वपाले नेपाली राजनीतिमा थुप्रै उतारचढावको सामना गरेको छ । आमनिर्वाचनमा जनताको अभूतपूर्व समर्थन, उपनिर्वाचनमा सफलता र दोस्रो उपनिर्वाचनमा अनपेक्षित परिणामसम्म आइपुग्दा थुप्रै भोगाइ रास्वपासँग छ । साथै, सरकारमा सहभागिताको सन्दर्भ पनि सँगसँगै जोडिएर आउँछ ।
सबैभन्दा पहिले पार्टी स्थापनाको प्रसंग जोडौँ । सञ्चारकर्ममा नाम कमाउनुभएका लामिछानेजस्तै समाजमा प्रतिष्ठित व्यक्तिहरूबाट राजनीति डोरिनुपर्छ भन्ने मान्यताअनुसार कुनै अन्य पार्टीमा नगई पार्टी खोलेर राष्ट्रिय स्वतन्त्र पार्टी नाम राख्यौँ । मूलधारे वा परम्परागत राजनीतिको अभ्यासमा अभ्यस्त नभएको वा थोरै ज्ञान भएको वा शासनसत्ता सञ्चालन र अन्य प्राविधिक विषयका जानकार मान्छे अगाडि बढाउने भनेर ‘जान्नेलाई छान्ने’ नारा ल्यायौँ । जसले गर्दा सुमना श्रेष्ठ, डा. अरनिको पाण्डे, डा. तोसिमा कार्की, डा. चन्दा कार्कीजस्ता गैरराजनीतिक तर आफ्नो क्षेत्रमा अब्बल जान्ने र राजनीतिमा कुनै अभ्यास नभएका स्वतन्त्र व्यक्तिको रास्वपा बनायौँ, चुनाव चिह्न घन्टी राख्यौँ । राजनीतिमा यसले घन्टी बजाउँछ र बेथिति सहिन्न, भ्रष्टाचारीलाई छाडिन्न भन्यौँ । त्यसैअनुसार पार्टी अगाडि बढायौँ । हामीले पार्टीलाई ‘इन्डिपेन्डेन्ड पोल’का रूपमा अगाडि बढाउन खोज्यौँ । समाजमा प्रतिष्ठा हासिल गरेका स्वतन्त्र व्यक्तिलाई जोड्यौँ ।
छरिएर रहेका ‘रवि लामिछानेहरू’लाई जोड्ने र १० देखि १५ वर्ष राजनीति गर्ने ‘प्लाटफर्म’को परिकल्पना गरेर अगाडि बढ्यौँ । थुप्रै प्रतिष्ठित व्यक्तिहरू जोडिनुभयो । नीति–निर्माण तहमा युवालाई अगाडि बढाउन जोड दियौँ । युवा जमात र समाजमा प्रतिष्ठितका साथमा निर्वाचनमा होमियौँ । जनतालाई हाम्रा एजेन्डा बुझायौँ । आशाअनुरूप नै जनताको समर्थन पायौँ । २० सिट प्राप्त गरेर संसद्को चौथो शक्तिमा स्थापित भयौँ ।
इलाम उपनिर्वाचनले राम्रो पाठ सिकाएको छ । नत्र जसरी इलाममा भेल बग्यो, त्यसरी नै अन्य ठाउँमा पनि अनियन्त्रित हिसाबले बग्थ्यो । अतिरिक्त आत्मविश्वासले बढी क्षति गथ्र्यो । अहिलेको हारले आत्मविश्वासमा धक्का लागेको भए पनि नयाँ ऊर्जासाथ अगाडि बढ्नुपर्छ ।
जनादेश प्राप्तिपछि हामी सत्ता साझेदार दलका रूपमा सरकारमा गयौँ । सुधारका कैयन् प्रयास गर्दैगर्दा छोटो समयमै हामीलाई हटाइयो । न्यायालयको निर्णय स्वीकार गरेर उपनिर्वाचनमा गयौँ । जनताले हामीलाई थप जनादेश दिएर पठाए । चितवन २ मा सभापति लामिछानेसहित तनहुँ १ बाट स्वर्णिम वाग्ले निर्वाचित हुनुभयो । यद्यपि बारा २ मा हामीले जित्न सकेनौँ, जमानत जफत भयो । बाराको पराजयबाट नसिक्नु नै हाम्रो सबैभन्दा ठूलो भूल भयो । गीतामा कृष्णवाणी छ, मानिसले जब इच्छा राख्छ, तब जुन इच्छा पूरा भइसकेपछि एकप्रकारको अहंकार आउँछ, इच्छा नै पूरा नभइसकेपछि निराशा आउँछ । हामीमा कताकता तलदेखि माथिसम्म सबै जित्दै छौँ भन्ने भयो । देश बनाउने शक्तिका रूपमा हामीले आफूलाई चिन्दै गर्दा बारा २ को जमानत जफतको स्थितिलाई नजरअन्दाज गर्यौं, जब कि बढी फोकस त्यसमै हुनुपथ्र्यो ।
दुई सिट जितेको उत्साहलाई केन्द्रमा राखेर अघि बढ्यौँ । उत्साहित भएर बारा पुग्नुपर्नेमा हामी अलमलियौँ । उत्साहले बाराको निराशालाई भर्नुपर्ने दायित्व हामीले बिर्सियौँ । त्यसपछि ‘मिसन ०८४’ सुरु भयो । रास्वपाका सांसदले सदनमा रचनात्मक प्रतिपक्षको भूमिका खेल्नुभयो । राजनीतिमा केही न केही गर्ने हुटहुटी बोकेका साथीलाई स्थापित गर्ने अवसर पनि भयो । यसबीच पार्टीको राजनीतिक दर्शन स्पष्ट गरी आफूलाई लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्याैँ ।
प्रतिपक्षी भूमिकामा रहँदै गर्दा पुनः सरकारमा जाने परिस्थिति बन्यो । सरकारमा जाने भनेको काम गर्न जाने भन्ने हाम्रो बुझाइ हो । प्रतिपक्षमा रहँदा अन्य दलबाट तिमीहरू पनि बोल्ने मात्रै हो के गर्छौं र भन्ने प्रश्न आएका थिए । हामीले के गर्यौँ भनेर जनताले परिणाम खोजिराखेको वेला सरकारमा गएर ‘पर्फम’ गर्ने हो भने त्यसले नतिजा दिन्छ भनेर हामी गयौँ । पंक्तिकार र धेरै साथीलाई एकैपटक ०८४ मा जनताको म्यान्डेट लिएर सरकारमा जानुपर्छ भन्ने नलागेको होइन । अहिले सरकारमा गएर परीक्षण हुँदा पर्फम गर्न सके त राम्रै हुन्छ, नसके जनताले हिसाबकिताब गर्छन् नै । त्यसैले सरकारमा जानु भनेको औचित्य पुष्टि गर्नु हो । नेपालको राजनीतिमा काम गर्ने पार्टीका लागि ठूलो ‘स्पेस’ छ । प्रतिपक्षी भूमिका मात्र होइन, सत्ता पक्ष भएर सरकारमै गएर काम गरेर देखाउन सकेको खण्डमा ठूलो स्पेस हुन्छ र मिसन ०८४ अझ सफल हुन्छ भन्ने मान्यताअनुरूप हामी सरकारमा गएका हौँ ।
सरकारमा जानुअघि उपनिर्वाचनको मिति तय भयो । उपनिर्वाचनमा हाम्रा केही चुनौती थिए । समावेशी सहभागिताको सवालमा प्रश्न थियो । बारा २ मा मधेसी समुदाय नभएकाले नतिजामा असर परेको देखिन्थ्यो । जलेश्वर बैठकमा यो कमजोरीलाई आत्मसात् गरेका थियौँ । समावेशी अनुहार र आमतहबाट स्थानीय उठाउनुपर्छ भन्ने हिसाबले इलाम २ मा उम्मेदवार तय गर्यौँ । चुनाव जित्ने नै लक्ष्य थियो । तर, त्यो माहोलमा पार्टी बग्न पुग्यो । यहाँनेर नेतृत्वमा बस्ने हाम्रो कमजोरी भयो । मन्त्री र अन्य नेता त्यसरी जान हुँदैनथ्यो । चुनाव प्रचारमा रोक्न पनि सकिएन । हार्नु ठूलो कुरा थिएन ।
तर, सारा शक्ति लगाएर पनि हा¥यो भन्ने जुन अर्थ लाग्यो, त्यो गलत भयो । त्यसले निराशा बढायो । सामान्यतः हार्दै छौँ भन्ने हामीसँग भएको सर्वेले देखाएको भए पनि यो तहमा हार्छौं भन्ने थिएन, नतिजा अनपेक्षित नै भयो । प्रतिस्पर्धामा तेस्रो हुन्छ भन्ने मूल्यांकन थियो । तर, जमानत जफत भयो । त्यस क्रममा पार्टीको जुन बगाइ थियो, त्यसलाई नियन्त्रण गर्न सकिएन । शक्ति प्रदर्शनका क्रममा रणनीतिक ‘मुभमेन्ट’ भए । कता कता जानिएन । ब्याक फायर भयो । शक्ति प्रदर्शनले चुनाव जितिँदैन भन्ने सन्देश पनि दियो । नियन्त्रित तरिकाले हामी जानुपथ्र्यो । परिपक्व रणनीति बनाउन सकिएन ।
उपचुनावको सन्देश : हामीले आम निर्वाचन र दुइटा उपनिर्वाचनमा भाग लियौँ । इलाम उपनिर्वाचन रास्वपाले प्रतिस्पर्धीका रूपमा सामना गरेको पहिलो चुनाव हो । रास्वपाका लागि यो तेस्रो चुनाव होइन । किनभने आम निर्वाचन हामी लड्दै छौँ भन्ने पुरानालाई थाहै थिएन । दोस्रो चुनावमा यिनीहरू भेल हो, हुरी हो भनेर नजरअन्दाज गर्दागर्दै अन्तिममा जितेपछि धक्का लाग्यो । यसपालि पहिलोपटक उनीहरूले ‘काउन्ट’ गरेका हुन्, यस हिसाबले यो पहिलो चुनाव हो ।
हामी हारेको पनि पहिलो चुनाव नै हो । यस हारबाट हामीलाई असल साथी चिन्ने मौका मिलेको छ । यसले राम्रो पाठ सिकाएको छ । नत्र जसरी इलाममा भेल बग्यो, त्यसरी नै अन्य ठाउँमा अनियन्त्रित हिसाबले बग्थ्यो । अतिरिक्त आत्मविश्वासले बढी क्षति गथ्र्यो । अहिलेको हारले आत्मविश्वासमा धक्का लागेको भए पनि नेतृत्वले आत्मसात् गर्दै व्यवस्थापन गरेर नयाँ ऊर्जासाथ अगाडि बढ्नुपर्छ । ‘इनरसिया’ रोकिएको छ भने ‘फोर्स’ लगाएर बढाउने, ‘स्पिड’मा छ भने फोर्स लगाएर रोक्ने सिद्धान्त छ । हाम्रो स्पिड यति थियो कि त्यसबाट दुर्घटना निश्चित थियो । त्यसमा जनताले ब्रेक लगाइदिए । जहिले पनि नियन्त्रित रूपमा अगाडि बढ्नुपर्छ भन्ने पाठ यसले सिकाएको छ ।
०८४ मिसनमा कस्तो असर ? : नेतृत्वमा बसेका हामी सबैले कमजोरी महसुस गरेर ब्रेक लागेको अवस्थालाई सम्हालेर राम्ररी अगाडि बढ्नु जरुरी छ । अबको हाम्रो कामकारबाही र गतिविधिले अर्थ राख्छ । अहिले हामी सरकारमा डेलिभरी दिने ठाउँमा छौँ । सरकारको ‘पर्फमेन्स’ले नै पार्टीका अन्य आयामलाई व्याख्या गर्छ । पार्टी भनेको एउटा मेसिनजस्तो हो । मेसिनले एकापट्टीबाट पार्टी सदस्य हाल्ने, अर्को पट्टीबाट मन्त्री, सांसद निकाल्ने रहेछ । एउटा तहसम्म यस्तो सांसद बनाउनुपर्छ भनेर मानक दियौँ । तर, आजको दिनमा कस्तो मन्त्री दियौँ भन्नेमा मेसिन अन्योलमा छ । किनभने हाम्रा चार मन्त्री सरकारमा गएको सय दिन पनि पुगेको छैन । नतिजामा कस्तो मन्त्री भन्ने मानक आउनेछ । अब यो मेसिनले राम्रो मन्त्री निकाल्छ भन्ने भयो भने मात्र जनताले भोट हाल्छन् ।
बाराबाट नसिकेको पाठ : बारा २ को उपनिर्वाचनको नतिजापछि मधेशका आठ जिल्लामा स्थानीय नेतृत्व विकासका लागि गर्नुपर्ने काम गरिएन । राष्ट्रियस्तरमा मधेशबाट नेता को हो भन्दा एकजना मनिष झा हुनुहुन्छ । एकजनाले त पुग्दैन, अरू पनि चाहिन्छ । पहाड र काठमाडौंंतिर थुप्रै हुनुहुन्छ । मधेशमा यसको कमी छ । कर्णाली, सुदूरपश्चिम, पूर्वी पहाडमा पनि देखिएको छ । काठमाडौंको सेन्टर मात्रको आकर्षणले पेरिफेरीमा काम गर्दैन भन्ने बाराले प्रमाणित गरेको हो । यहाँनेर कमी भएको हो ।
अबको बाटो : इलाम उपनिर्वाचनसम्म आइपुग्दा हाम्रा थुप्रै कमजोरी उजागर भएका छन् । त्यसलाई अवसरका रूपमा लिँदै ट्र्याकमा ल्याएर मिसन ०८४ को अभियानमा केन्द्रित हुनु आवश्यक छ । उपनिर्वाचनको नतिजापछि पार्टीले जनतामा जाने निर्णय गरेको छ । पार्टी सचिवालयको निर्णयअनुसार महामन्त्रीको नेतृत्वमा समीक्षा यात्रा प्रारम्भ भएको छ । तल्लो तहसम्म पुगेर छलफल गर्ने र प्रतिवेदन बनाउने कार्यादेशअनुसार हामी देशका प्रत्येक भूभागमा पुगेर छलफल गरिरहेका छौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वतन्त्र भन्ने शब्द नै हराएको हो कि भन्ने प्रश्न उठिरहेको समयमा त्यो शब्द खोज्ने वा छोड्ने निर्णय गर्नुपर्छ । हरियो कांग्रेस, राता कम्युनिस्ट भनिनेबाहेक जुन स्वतन्त्र पोल भनियो, त्यसको आफ्नै रंग हुन्छ कि हुँदैन ? निलो हुन्छ कि हुँदैन ? वा बेरंगको हुन्छ ? वा पानी रंगको हुन्छ ? जुन हाम्रो सुरुवाती स्पिरिट थियो, त्यो मिस भएको हो कि ?
पढिरहेको, जागिर गरिरहेको, अनुभव प्राप्त समाजमा नाम कमाएको व्यक्तिले भविष्यमा राजनीतिमार्फत सेवा गर्न मेरा लागि रास्वपा छ भन्ने बनाउने कि पुरानै ढर्राको पार्टीमा योगदान गर्नुपर्ने, १० वर्षदेखि लागेको मान्छेले अवसर पाउने भन्ने प्रश्न हो । अबको दिनमा यो पार्टीमा नयाँ–नयाँ रवि लामिछानेहरूलाई ठाउँ छ कि छैन ? ‘इन्डिपेन्डेन्ट स्पेस’ छ कि छैन ?
इन्डिपेन्डेन्ट पोल बन्न सक्छ कि सक्दैन ? रास्वपाको स्वतन्त्र भन्ने शब्द जिउँदो हुन्छ कि हुँदैन भन्ने मुख्य प्रश्न हो । यी प्रश्नलाई हामीले ख्याल गर्नुपर्छ । रास्वपाको स्व भनेको आफू पनि हो । आफूलाई राख्ने वा राष्ट्रिय पार्टी मात्रै बनाउने ? संगठनमा जब आफूले पाइँदैन, तबसम्म त्यो भोक लाग्छ, जब आफूले पाइसक्छ, त्यसपछि अनुभवको प्रश्न आउँदो रहेछ । मान्छेको यो चरित्रलाई हामी जित्न सक्छौँ कि सक्दैनौँ ? हिजोको दिनमा फ्रेसले पाउनुपर्छ भन्दै गर्दा भोलिका दिनमा अनुभवीले पाउनुपर्छ भन्छौँ कि भन्दैनौँ ? यसको निक्र्योल गरेर अगाडि बढ्छौँ ।
(ढकाल रास्वपा महामन्त्री हुन्)