नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले आगामी वर्षको बजेटका लक्ष्यअनुसार राजस्व संकलन हुनेमा आशंका व्यक्त गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा आर्थिक वर्ष ०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले राजस्व बढाउन करका दायरा र गैरकानुनी कारोबार बन्द गर्नुपर्ने धारणा राखे।
सांसद गुरुङले बजेटमा समेटिएको गाँजाखेतीको विषयलाई कानुन बनाएर कार्यान्वयनमा लैजानुपर्ने भन्दै आफू कानुनमन्त्री हुँदा यसबारेमा कोसिस गरेकोसमेत स्मरण गरे।
‘औषधिका रूपमा गाँजाखेती गर्न सकियो भने रु. दुई खर्ब र घरेलु मदिरालाई ब्रान्डिङ गरे थप रु. दुई खर्ब राजस्व संकलन गर्न सकिन्छ। त्यस्तै, नेपालमा रहेका सात सय ३६ जातका जडीबुटीको व्यावसायिक खेती गरेर थप रु. दुई खर्ब आम्दानी गर्न प्रशस्त सम्भावना छ। यसतर्फ पनि सोच्न जरुरी छ,’ गुरुङ भने।
देश बनाउन सबै मिलेर अगाडि बढ्नुपर्ने, सत्तामा बस्दा र नबस्दा पनि देश बनाउने संकल्पका साथ काम गर्नुपर्ने उनको भनाइ छ। हिन्दू धर्मावलम्बीका लागि नेपाल तपोभूमि र बौद्धधर्मावलम्बीका लागि लुम्बिनी प्रसिद्धस्थल रहेको बताउँदै उनले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न लाग्नुपर्नेमा जोड दिए।
सांसद गुरुङले बजेटमा ‘बर्थिङ हब’ भनेर आएको र अब ‘हनिमुन सिटी’ पनि बनाउनुपर्ने धारणा व्यक्त गरे। ‘घाटा बजेटलाई कम गर्न नयाँ उत्पादनका स्रोत खोज्नुपर्नेछ। यसैगरी बजेट कार्यान्वयनमा जाँदा सक्षम हुन्छ कि हुँदैन, बजेटका कतिपय बुँदामा रकम नै उल्लेख भएको देखिँदैन, यसर्थ यथार्थवादी भएर मूल्यांकन गर्नुपर्छ,’ उनले भने।