सखुवाघाटमा निःशुल्क स्वास्थ्य शिविर, ६५० जना लाभान्वित

सोमबार, २१ जेठ, २०८१
डिजिटल संस्करण

बाराको जितपुरसिमरा उपमहानगरपालिका– १६ सखुवाघाटमा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरणमा ६ सय ५० सर्वसाधारण लाभान्वित भएका छन्। 

वडा कार्यालयको आर्थिक सहयोग र स्थानीय महिला विकास तथा सामुदायिक विकास केन्द्र महेन्द्रनगरको आयोजनामा शनिबार र आइतबार जेठ १९ र २० मा सञ्चालन गरेको विशेषज्ञसहितको स्वास्थ्य शिविरको पहिलो दिन चार सयजना र दोस्रो दिन दुई सय ५० सर्वसाधारणले स्वास्थ्य सेवा तथा निःशुल्क औषधिसमेत पाएका थिए।  

स्वास्थ्य शिविरमा स्त्री रोग विशेषज्ञ बबिता चौधरी, बालरोग विशेषज्ञ उपेन्द्र यादव, दन्त रोग विशेषज्ञ नेहा साह, अर्थोपेडिक चिकित्सक जयन्त भगवान मिश्रा गरी १० जना स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो।

स्वास्थ्य शिविरमा २० वर्षदेखि ५५ वर्षसम्मका महिलाको पाठेघरको क्यान्सरको अवस्था थाहा पाउन सर्भाइकल टेस्ट, दाँत, अर्थोपेडिक, सामान्य चेकजाँच, ज्येष्ठ नागरिक, अपांग, महिला तथा बालबालिकाको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको जितपुर सिमरा उपमहानगरपालिका– १६ का वडाध्यक्ष हरिदेव खरेलले बताए। 

उनले जिल्लाको पूर्वी–उत्तरी क्षेत्रका स्थानीयको स्वास्थ्य सेवामा सहज, सुलभ र समान पहुँच विस्तार गर्ने उद्देश्यका साथ स्वास्थ्य शिविरको तयारी गरेको वडाध्यक्ष खरेलले जानकारी दिए।

निःशुल्क शिविरमा आफ्नै गाउँ ठाउँमै स्वास्थ्य परीक्षण गराउन पाएपछि स्थानीयहरू निकै प्रसन्न भएका थिए। जितपुरसिमरा उपमहानगरपालिका– १६ को स्वास्थ्य शिविरमा आइपुगेकी ३८ वर्षीय उषा साफकोटाले गाउँमै स्वास्थ्य जाँच र निःशुल्क औषधि पाएकोमा खुसी हुँदै वडा अध्यक्ष र डाक्टरहरूलाई धन्यवाद दिइन्। 

उनीजस्तै उपचार गराउन टाडासम्म जान नसक्नेहरूले गाउँघरमै यसरी सञ्चाललित शिविरबाट औषधि उपचार पाएपछि निकै प्रसन्नता व्यक्त गरे। शिविरमा धेरै प्रकारका रोगी आए पनि बालबालिका र महिलाहरू शिविरमा धेरै आएको स्त्री रोग विशेषज्ञ बबिता चौधरीले बताइन्। शिविरमा सहभागीले उपचार मात्र नभएर आफ्नो स्वास्थ्यबारे परामर्शसमेत लिएका थिए।

शिविर सञ्चालन गर्नाले आफूलाई धेरै राहत भएको पसाहाका ७४ वर्षीया भीम लामाले खुसी व्यक्त गरे। उनले भने, ‘हाडजोर्नीको डाक्टरबाट उपाचार पाए, केही दिनबाट राम्रोसँग हिँड्नसमेत सकेको छैन । लौरोको सहारामा अलिअलि मात्र हिँड्न सक्थेँ, तर यहाँ अर्थोपेडिकसँग चाँज गरेपछि रोग पहिचा भएर निःशुल्क औषधिसमेत प्राप्त भयो।’ 

रोग लागेर ग्रामीणस्तरमा आर्थिक अभावमा अस्पतालसम्म जान नसक्ने गरिब, वृद्ध, असहायहरूका लागि निःशुल्क स्वास्थ्य शिविर गरिएको थियो भने सर्वसाधारणको स्वास्थ्य उपचारलाई ध्यानमा राखी वडाले सुरु गरेको अभियानअन्तर्गत आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य सेवाका लागि स्थानीय घण्टौँ हिँडेर शिविर स्थल आइपुगेका थिए।

See More On

सुझावित समाचार