स्तरोन्नतिका क्रममा सडक भासिएपछि बन्द रहेको कान्तिलोकपथ आजबाट खुलेको छ। कान्तिलोकपथ सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले आजबाट लोकपथमा सवारी आवागमनमा कुनै अवरोध नभएको जानकारी दिए।
ललितपुरको बागमती गाउँपालिका– २ स्थित रातोभिरस्थित सडक खण्डमा निर्माणका क्रममा सडक भासिएपछि केही दिनअघिदेखि कान्तिलोकपथमा सवारी सञ्चालनमा रोक लगाइएको थियो।
काल्चेबाट बगुवासम्मको भित्ता कटिङका क्रममा खसेको ढुंगाले ग्याबिनवालमा पूर्ण रूपमा क्षति पुगेको थियो। भासिएको ठाउँमा तारजाली राख्ने र ग्याबिनवाल बनाउने काम सकिएकाले सवारी आवागमन खुला गरिएको इन्जिनियर महर्जनले बताए।
उनले सडक स्तरोन्नतिका लागि सडकमाथिका कडा चट्टान कटिङ गर्ने र सडक चौडा गर्ने काम पनि अन्तिम चरणमा पुगेको जानकारी दिए । अब केही दिनभित्रै सडक चौडा गर्ने काम पुरा हुने इन्जिनियर महर्जनको भनाइ छ।
‘स्तरोन्नतिका क्रममा सडक भासिएको ठाउँमा मर्मतको काम सकेका छौँ। सडक चौडा गर्नका लागि सडकमाथिको चट्टान काट्ने काम पनि लगभग सकिएको छ। मर्मत र सडक चौडा गर्ने काम अन्तिम चरणमा रहेकाले आजबाट सवारी आवागमन खुला गरेका छौँ,’ उनले भने।
इन्जिनियर महर्जनले काल्चेदेखि बगुवासम्मको एक किलोमिटर क्षेत्रमा एक ठाउँमा भने मुआब्जाका कारण सडकमाथिको चट्टान काट्न स्थानीयले रोकेको बताए। उनले त्यस ठाउँमा चट्टान कटिङ गर्दा केही घरहरूमा क्षति पुग्ने भएकाले स्थानीयले मुआब्जा नपाई काम गर्न नदिएको जानकारी दिए।
०१३ सालमा शिलान्यास गरिएको संघीय राजधानी काठमाडौंलाई हेटौँडासँग जोड्ने सडक मार्गको करिब पाँच किलोमिटर भाग अझै कालोपत्रे हुन बाँकी छ। यो सडकखण्ड मकवानपुरको हेटौँडास्थित बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म जम्मा ९२ किलोमिटर लामो छ।