नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले सञ्चालन गरेको आधुनिक र वैज्ञानिक अन्न भण्डारणगृहमा सर्वसाधारणको चासो बढ्दै गएको पाइएको छ । सुरक्षित भण्डारण, प्रशोधन, बढाबढमा बिक्री, भण्डारण गरेको अनाज धितो राखी बैंक वित्तीय संस्थाबाट कर्जा पाइनेजस्ता सुविधाले यसप्रति सर्वसाधारणको आकर्षण बढेको कम्पनीले जनाएको छ ।
सुनसरीको गढीस्थित भण्डारणगृह सञ्चालनमा आएको तेस्रो वर्ष पूरा भएको अवसरमा कम्पनीले आयोजना गरेको उक्त अन्तक्र्रिया कार्यक्रममा कम्पनी अध्यक्ष आनन्द बगरियाले उक्त भण्डारणगृहमा दाना उद्योग र सर्वसाधारण किसानले आफ्ना अनाज भण्डारण गरेको जानकारी दिए ।
अन्तक्र्रिया कार्यक्रममा कम्पनीका महाप्रबन्धक समीरराज सत्यालले साइलोमा अनाज राख्ने तरिकाबारे जानकारी गराए । उनका अनुसार साइलोमा राखेको अन्न नौ महिनासम्म ताजा बस्छ । कुहिने, किरा लाग्नेजस्ता समस्या हुँदैन ।
सर्वसाधारणको २० प्रतिशत स्वामित्व रहेको यो कम्पनीले पर्साको बिरुवागुठीमा केही दिनअघि अन्न भण्डारणगृह सञ्चालनमा ल्याएको थियो । कपिलवस्तुको वीरपुरमा पनि चाँडै नै यो सेवा उपलब्ध गराउने तयारी कम्पनीको छ ।