नेपाल पर्यटन बोर्डले पोखरामा ‘अन्नपूर्ण दिवस’ मनाउन लागेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दा असन्तुष्ट भएका छन् । अन्नपूर्ण हिमालमा पहिलोपटक मानव पाइला परेको दिनको सम्झनामा ३ जुनमा अन्नपूर्ण दिवस मनाइँदै आएको छ । सोमबार पोखरामा विशेष कार्यक्रम आयोजना गरी अन्नपूर्ण दिवस मनाइँदै छ ।
३ जुन १९५० मा पहिलोपटक फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुइस लाचेनलले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेका थिए । त्यो नै आठ हजार मिटर अग्लो शिखरमा पहिलो मानव पाइला थियो । अन्नपूर्ण हिमाल आरोहण गरेको ७४औँ पूरा भएको पुगेको छ । नेपालमा व्यावसायिक पर्यटनको सुरुवात पनि त्यहीँबाटै भएको मानिन्छ । ‘सुरुमा अन्नपूर्ण बेसक्याम्पमै कार्यक्रम आयोजनाका लागि बजेट पारियो,’ एक स्थानीयले भने, ‘तर, कार्यक्रम भने पोखरामा गर्न लागिएको छ, यो त सरासर गलत भयो नि ।’
अन्नपूर्ण बेसक्याम्पमा अन्नपूर्ण डेको कार्यक्रम गर्न पहल गरिए पनि सफल नभएको सो गाउँपालिका प्रमुख भरत पुनले बताए । उनले भने, ‘हामीले धेरै नै आग्रह ग¥यौँ, तर कार्यक्रम यता ल्याउन सकिएन ।’ परराष्ट्र मन्त्रालयले राजदूत तथा कूटनीति नियोगका प्रमुखलगायतको सुरक्षालाई देखाउँदै पोखरामै कार्यक्रम गर्न भनेको सुन्नमा आएको उनको भनाइ छ । कार्यक्रममा सहभागी हुन इजरायल, चीन, पाकिस्तान, बेलायत, श्रीलंका, थाइल्यान्डका राजदूत, अमेरिका र भारतीय दूतावासका उच्च अधिकारीसहित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि आइतबार पोखरा पुगेका छन् ।