दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल दिल्लीको मदिरा नीति घोटालासँग जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा अन्तरिम जमानतको म्याद शनिबार सकिँदै छ। उनी आज तिहाड जेल फर्किँदै छन्।
केजरिवाललाई सर्वोच्च अदालतले मे १० मा लोकसभा चुनावको प्रचारका लागि अन्तरिम जमानत दिएको थियो र २ जुनमा तिहाड जेलमा आत्मसमर्पण गर्न भनिएको थियो।
दिल्लीका मुख्यमन्त्रीले यसअघि अन्तरिम जमानतको म्याद थपका लागि सर्वोच्च अदालतमा अपिल गरेका थिए। बुधबार सर्वोच्च अदालतले उनको निवेदन खारेज गर्दै उनलाई नियमित जमानतका लागि ट्रायल कोर्ट जाने स्वतन्त्रता दिएकाले यहाँको निवेदन विचारणीय नभएको बताएको थियो।
यसैबीच, दिल्लीको राउज एभेन्यु अदालतले कथित अन्तःशुल्क नीति घोटालासँग सम्बन्धित सम्पत्ति शुद्धीकरणको मुद्दामा चिकित्सकीय कारण देखाउँदै मुख्यमन्त्री केजरिवालले दायर गरेको अन्तरिम जमानत याचिकाबारे आदेश शनिबार स्थगित गरेको छ।
अदालतले सात दिनको जमानतको माग गर्दै दायर गरिएको याचिकामा जुन ५ तारिखका लागि मिति तोकेको छ भने केजरिवालका वकिलको अनुरोधअनुसार आजै आदेश दिन अस्वीकार गरेको छ।
केजरिवालका तर्फबाट वरिष्ठ अधिवक्ता एन हरिहरनले आफ्नो पार्टी (आमआदमी पार्टी)का लागि चुनाव प्रचार गर्नका लागि अन्तरिम जमानत दिइएको बताए।
मुख्यमन्त्री केजरिवालले शनिबार आफ्नो भिडियो सन्देशमा भनेका छन्, ‘भोलि २१ दिन बित्दै छ, भोलि मैले आत्मसमर्पण गर्नुपर्छ। मलाई थाहा छैन, यसपटक मलाई कहिलेसम्म जेलमा राख्नेछन्। तर, मेरो आत्मबल उच्च छ। देशलाई अधिनायकवादबाट जोगाउन म जेल जाँदै छु। यसमा मलाई गर्व छ।’