गुल्मीको तम्घासमा सञ्चालन भएको प्रथम खुला राष्ट्रिय फुटबल प्रतियाेगिताको उपाधि रामसीता मन्दिरले चुमेको छ । ब्रदर्स युथ सोसाइटी क्लब गुल्मीको आयोजनामा चिदीचौर खेलमैदानमा कोब्रा ग्रुप तम्घास र रामसीता मन्दिर गैँडाकोटबीच उपाधिका लागि प्रतिस्पर्धा थियो ।
निर्धारित समयमा गोल बराबर भएपछि पेनाल्टी सुटमा रामसीता मन्दिर विजयी भएको छ । खेल १५ जेठदेखि १९ सम्म सञ्चालन भएको थियो । सबैभन्दा बढी पुरस्कार राशिको यो खेल जिल्लामै पहिलो हो ।
प्रतियाेगिताका लागि राममन्दिर गैँडाकोट, कोब्रा ग्रुप तम्घास, शिवालय भाडगाउँ युथ क्लब, गोल्डेन स्टार युथ क्लब उपल्लो तम्घास, उनाचौर फुटबल क्लब उनाचौर, दुबीचौर फुटबल क्लब दुबिचौर, पुल्चोक स्पोर्टस् क्लब तम्घास, योङ बोएज तम्घास, राम बाण गुल्म तम्घास र गुल्मी अस्पताल तम्घासले टिम दर्ता गरेको क्लबका सचिव रवि घिमिरेले जानकारी दिए ।
उत्कृष्ट गोल रक्षक रामसीता मन्दिरका सन्देश खनाल, सोही समूहबाटै टप स्कोरर अनुज गैरे भएका छन् । कोब्रा ग्रुपबाट बेस्ट डिफेन्डर रुमन श्रेष्ठ र सोही ग्रुपकै दिवेश छन्तेल बेस्ट स्टाइकर भएका छन् ।
त्यस्तै, रामसीता मन्दिरका मनीष तामाङ प्लेयर अफ टुर्नामेन्ट भएको क्लबकाे सचिव घिमिरेले बताए । प्रतियाेगिताको उपाधि जित्ने राममन्दिरले दुई लाख दुई हजार दुई सय दुई र उपविजेता कोब्राले एक लाख एक हजार एक सय एक रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।