चोरी आरोपमा पोखराबाट चार पक्राउ

शनिबार, १९ जेठ, २०८१
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा चारजनालाई पोखरा महानगरपालिकाबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा स्याङ्जाको फेदीखोला गाउँपालिका–६ घर भई पोखरा– ५ जिरो किलोमिटर बस्ने वर्ष २४ का मदन सुनार, सिन्धुपाल्चोक घर भई जिरो किलोमिटरमा फर्निचर उद्योग सञ्चालन गर्दै आएका वर्ष ५१ का भीमसेन थामीसँगै जिरोकिलोमिटर बस्ने १४ र १७ वर्षका दुई किशोर रहेकाे कार्यालयका प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए।

केही समयदेखि साइकल चोरीसम्बन्धी घटनाहरू बढिरहेको र त्यसको अनुसन्धानमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले जिरो किलोमिटरस्थित थामीले सञ्चालन गर्दै आएको फर्निचर उद्योगबाट शंकास्पद अवस्थामा चोरीका साइकलहरू किनबेच गरिरहेको अवस्थामा चोरीका ६ थान साइकलसहित उनीहरूलाई पक्राउ गरेको थापाले जानकारी दिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। उनीहरूबाट बरामद साइकलहरू कोही कसैको भएमा प्रमाण लाग्ने कागजातसहित वडा प्रहरी कार्यालय बैदाममा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
 

सुझावित समाचार