दुई वर्षको प्रतिबन्धपछि सागमा स्वर्ण जितेर मात्रै दशरथ रंगशाला टेकेँ

शनिबार, १९ जेठ, २०८१
डिजिटल संस्करण

सन् २००६ मा श्रीलंकामा भएको दसौँ दक्षिण एसियाली खेलकुदमा राजेन्द्र भण्डारीले दुई स्वर्ण पदक जित्नै इतिहास बनाएका थिए । सागको एकै संस्करणको एथलेटिक्समा दुई स्वर्ण जित्ने भण्डारी त्यसवेलासम्म एक्लो नेपाली खेलाडी थिए । तर, प्रतियोगिताको दुई महिनापछि उनी डोपिङमा असफल भए । अन्तर्राष्ट्रिय खेल संस्थाले प्रतिबन्ध लगाएको औषधि सेवन गरी उनले कोलम्बो सागमा स्वर्ण जितेको राखेपले गठन गरेको छानबिन कमिटीको निष्कर्ष रह्यो । उनका दुवै स्वर्ण खोसिएनन् मात्र, दुई वर्ष प्रतिबन्धमा पनि परे । भण्डारीले हरेस खाएनन्, आत्मबल राख्दै प्रतिबन्ध फुकुवाको प्रतीक्षा गरे । र, सन् २०१० मा बंगलादेशमा भएको सागमा फुल म्याराथनमा सहभागी हुँदै स्वर्ण मात्र जितेनन्, आफूमाथि लागेको दाग केही हदसम्म हटाउन सफल भए । प्रतिबन्धको समयमा सामना गरेको मानसिक तनावसँगै ढाका सागमा स्वर्ण जित्दाको स्मरण उनले नयाँ पत्रिकाका श्रीलोचन राजोपाध्यायलाई सुनाए :

मैले इमानदारपूर्वक र मिहिनेतपूर्वक श्रीलंकामा भएको १०औँ साग गेममा दुई स्वर्ण जितेको थिएँ । एकै संस्करणमा एथलेटिक्स विधामा दुई स्वर्ण जित्ने त्यसवेला मैले एक्लो नेपाली खेलाडीका रूपमा इतिहास बनाएको थिएँ । कोलम्बोको ट्र्याकमा पाँच हजार र १० हजार मिटर दौडमा सबैलाई आश्चर्यमा पार्दै स्वर्ण चुमेको थिएँ । सागमा इतिहास रचेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खुबै चर्चा कमाइयो । कोलम्बोबाट फर्किँदा विभिन्न क्षेत्रबाट सम्मान थापेँ । दमौलीमा सम्मान कार्यक्रम सकेर साँझ काठमाडौं फर्किरहेको थिएँ । बीचबाटोमा मिडियाकर्मीले मसँग यस्तो प्रश्न गर्नुभयो । कस्तो हावादारी प्रश्न गरेको होला ? जुन कल्पनाविपरीतको उहाँले प्रश्न राख्नुभएको थियो, ‘हजुरलाई थाहा छ । तपाईँ डोपिङ टेस्टमा असफल हुनुभयो नि ।’ 

मैले उल्टै प्रश्न राखेँ, ‘हैन तपाईँले के भन्नुभएको हो, यस्तो नि हुन्छ र ?’ आधिकारिक रूपमा सम्बन्धित निकायका एकजनाले पनि मलाई ‘राजेन्द्र तिमी डोपिङमा असफल भयौ है’ भन्दै जानकारी दिएका थिएनन् । दमौलीदेखि काठमाडौंसम्मको यात्रामा विभिन्न कुरा खेलिरहे । यो के भएको होला ? मैले प्रतिबन्धित औषधि सेवन गरी स्वर्ण जितेको पक्कै थिएन । वर्षौँदेखिको मिहिनेतको प्रतिफल कोलम्बो साग थियो । काठमाडौं आउँदा राष्ट्रिय खेलकुद परिषद्मा ठूलै पत्रकार सम्मेलन आयोजनाको तयारी भइरहेको थियो । अच्चम के छ भने डोपिङको नतिजा २४ घण्टाभित्र आउने गर्छ । मेरो हकमा दुई महिनापछि नतिजा आएको थियो, जसमाथि आरोप वा दोषी देखाइएको छ । ती व्यक्तिलाई केही जानकारी नदिई पत्रकार सम्मेलन हुँदै थियो । 

फेरि डोपिङ टेस्टमा असफल हुनु संसारभरि कुनै नौलो थिएन । तर, नेपालमा मेरो हक तत्कालका पदाधिकारीले ठूलै स्क्यान्डलका रूपमा लिए । यसअघि पनि नेपालमा डोपिङमा असफल खेलाडीको चर्चा हुने गरेको थियो । उनीहरूको नाम गोप्य र मिडियामा खासै बाहिर ल्याइएन । मेरो हकमा किन यस्तो भयो भन्ने प्रश्न अझै पनि छ । डोपिङमा असफल खेलाडी भनेर नजिकका साथीहरू, खेलका पदाधिकारी तथा आफ्नै विभाग आर्मीका केही साथीहरूले मप्रति व्यवहार र हेराइ एकाएक परिवर्तन गरेका थिए । उनीहरूको बडी ल्यांग्वेजअनुसार राजेन्द्र भण्डारीले ठूलै पाप गरेको र देशको इज्जत बिगारेको जस्तो थियो । त्यसवेला मैले यस्तै मानसिक तनावको सामना गरेको थिएँ । आर्मीकै सुरक्षामा राखेपले गठन गरेको छानबिन कमिटीमा कैयौँ दिन सफाइ दिन पुगेको थिएँ । त्यहाँ धेरैपटक टर्चर खप्नुपरेको थियो । 

तत्काल आर्मीका प्रधानसेनापति रुकमांगद कटवालले मलाई साथ दिनुभएको थियो । जब प्रधानसेनापति मेरो अधिकारका लागि उभिनुभयो, आर्मीभित्र खासै समस्या भएन । जति पनि आए, राखेपको परिसरभित्र नै थियो । अहिले म जुन स्थानमा छु, उहाँकै कारण हो । यदि त्यसवेला मलाई उहाँले हौसला, आत्मविश्वास र लड्न सक्ने क्षमतामा विकास नगर्नुभएको भए, सम्भवतः आज म यो स्थानमा हुने थिइनँ । यसकारण म आजको दिनसम्म पनि उहाँलाई भगवान्कै रूपमा लिने गर्छु ।

स्वर्ण जितेपछि मात्रै रंगशालामा टेक्ने घोषणा गरेँ
करिअरमा मैले नखाएको विष लाग्यो । छानबिन कमिटीमा जति सफाइ दिँदा पनि मैले थाहा पाएरै प्रतिबन्धित औषधि सेवन गरेको जस्तो बुझाइ थियो । कारबाहीस्वरूप ममाथि दुई वर्षको प्रतिबन्ध लगाइयो । वास्तवमा म कसैको षड्यन्त्रमा सिकार भएँ । तत्काल खेलकुदका सबै निकाय मविरुद्ध नै उभिए । दुई वर्षसम्म खेलकुदमा सहभागी हुन नपाउने प्रतिबन्धको सजाय सुनाइएको थियो । यो घटनाले म झनै बलियो भएर निस्किएँ । म लडेको मान्छु हुँ । नलड्दासम्म व्यक्ति उठ्न सक्दैनन् । चोटैचोटले लडेको मान्छे म परेँ । अब यसरी उठनुपर्छ कि करिअरमा लागेको दाग र गुमेको सबै साख फिर्ता गर्नुपर्छ । यस्तै दृढ संकल्पका साथ दुई वर्ष मैले मिहिनेत गरेँ । 

यतिसम्म रह्यो कि ममाथिको कलंक हट्दैन र आगामी सागमा स्वर्ण पदक जित्दैन भन्ने नै भयो । त्यसवेलासम्म दशरथ रंगशालामा पाइला नराख्ने घोषणा नै गरेँ । यो भनिरहँदा धेरैजसोले ‘राजेन्द्र भण्डारी बौलाएछन्’ सम्म भने । एक किसिमले यो घमन्ड नै थियो । फेरि अरूबाट हुँदैन । जे गर्नुपर्छ एक्लै गर्नुपर्छ । किनभने खेल क्षेत्रमा अप्ठ्यारोमा परेको समयमा सहयोग र आत्मविश्वास बढाउने काम हुँदैन । दुई वर्ष खेलकुद क्षेत्रमा मात्र प्रतिबन्धमा परेको थिएँ । आर्मीभित्र ममाथि केही प्रतिबन्ध थिएन । यो समयलाई भरपूर प्रयोग गरेँ । जसरी पनि बंगलादेशमा हुने सागमा स्वर्ण जित्नुपर्छ भनी लागिरहेँ । संयोग मान्नुपर्छ, दुई वर्षको प्रतिबन्धमा शान्ति सेनाको टोलीमा थिएँ । फेरि तनहँुमा जन्मेको मान्छे काठमाडौंमा घर बनाउनुपर्ने अर्को संकल्प थियो । प्रतिबन्धको समयमै घर बनाउन सुरु भएको थियो । त्यसवेला शून्य लेभलमा पुगेको व्यक्ति वा खेलाडी कसरी फेरि माथि उठ्न सकिन्छ भन्ने ज्ञान दिने किताब मात्र पढेर बसँे । यी विभिन्न पक्षका कारण मलाई कमब्याक गर्न सजिलो भएको थियो ।

फुल म्याराथनबाट कमब्याक गरेँ
एकदम पिक समयमा रहँदा प्रतिबन्ध परेको थिएँ । त्यसवेला घुँडासमेत नचल्ने रहेछ । खासमा म छोटो दूरीको धावक हुँ । तर, मैले एथलेटिक्सको दोस्रो इनिङ्स फुल म्याराथनबाट कमब्याक गरेँ । फुकुवा भएपछि पाँच हजारबाट पुनः करिअर सुरु गर्ने योजना थियो । यसबीचमा यो विधाका कुनै प्रतियोगिता भएनन् । सीधै फुल म्याराथनमै होमिएँ । सन् २००६ को कोलम्बो सागमै रजत जितेका अर्जुन बस्नेतलाई काठमाडौं म्याराथनमा पछि पारेँ । मैले सोचेको जस्तो भयो । पहिलो पाइलामै पहिलो भएँ । यसलाई मैले उत्कृष्ट पुनरागमन भएको मान्छु । यस सफलतापछि सागमा स्वर्ण जित्न सक्ने हिम्मत बढ्यो । काठमाडौं म्याराथनको विजेता धनराशि पाँच हजार डलर थियो । मेरो ध्यान पाँच हजार डलरमाथि थियो । यसको कारण थियो । त्यही समयमै मेरो घर बनिरहेको थियो । प्रतियोतिगा जित्दा घर बनाउन आर्थिक सहयोग हुने पक्कै थियो । सोचेजस्तै भयो । 

केही समयपछि डाबरले आयोजना गरेको रियल म्याराथन भयो । यसमा पनि म पहिलो भएँ । यी दुई प्रतियोगितामा पहिलो भएपछि अब ढाकामा ममाथिको दाग मेटाउन सक्ने शतप्रतिशत दाबी गर्न सक्ने आधार बनेको थियो । त्यही प्रतियोगिताबाट ११औँ सागका लागि छनोट भएँ । प्रतिबन्धपछिको पहिलो र दोस्रो प्रयासमै स्वर्ण हात पारेपछि निकै खुसी भएँ । यद्यपि, यसमा पूर्ण सन्तुष्ट थिइनँ । मलाई जसरी पनि दाग मेटाउनु थियो । त्यो नेपालमा नभएर विदेशी भूमिमा थियो । 

फुल म्याराथनमा आफ्नो कमजोरी र बलियो पक्षको विश्लेषण गर्ने अवसर पाएँ । कुन वलामा स्पिड बढाउनुपर्ने, घटाउनुपर्ने र कुन प्वाइन्टमा पुग्दा रिकभरी लिनेजस्तो महŒवपूर्ण प्रावधिक पक्ष विश्लेषण गरेँ । यसबाट मलाई ढाकामा दौडिन सहज भएको थियो । मेरो लक्ष्य सागमा वैकुण्ठ मानन्धर दाइले राख्नुभएको रेकर्ड तोड्नु पनि थियो । यही लक्ष्यका साथ ढाकामा भएको सागमा सहभागी हुन पुगेँ ।

तीन किलोमिटर दूरी छोटो
ढाकामा मुख्य प्रतिस्पर्धाको अघिल्लो दिन एउटा गज्जबको सपना देखेँ । एउटा पहाडको टुप्पोमा केही व्यक्तिहरू उभिरहेका थिए । म दौडिरहेको थिएँ । पहाडको टुप्पोमा पुग्दा त्यहाँ रहेका व्यक्तिहरू मलाई देख्दा जिल्ल परेका थिए । उनीहरूको बोली नै बन्द भयो । सम्भवतः मैले स्वर्ण जित्दा यस्तै दृश्य नेपालमा पाउने आशा गरेँ । दौडमा भारत र श्रीलंकाका खेलाडी असाध्यै राम्रा थिए । उनीहरूको टाइमिङ दुई घण्टा १८ मिनेट र दुई घण्टा १७ मिनेटको थियो । मेरो भन्दा विपक्षीहरूको टाइमिङ राम्रो रहँदा पनि जसरी पनि पहिलो हुनुपर्छ भन्ने विचार आइरह्यो । 

फुल म्याराथनका क्रममा धेरै पक्षमा होस पुर्याउनुपर्छ । सँगै दौडिरहेका खेलाडीको नियत खराब हुँदा पछाडि पर्न सकिन्छ । विभिन्न स्थानमा पानी खाने जक्सन हुन्छन् । त्यो जक्सनमा अगाडिका खेलाडीले जानाजान पानीको बोतल भुइँमा खसाल्न सक्छन् । पछाडि परेका खेलाडीले बोतल उठाएर पानी पिउँदासम्म समय आफ्नो हातबाट गइसकेको हुन्छ । म्याराथनमा प्रत्येक मिनेट र सेकेन्डको हिसाब–किताब राख्नुपर्छ । श्रीलंकाली र भारतीय खेलाडीविरुद्ध स्पिड लिने र घटाउने काम गरेको थिएँ । यहाँसम्म उनीहरूसँगै ३२ किमिसम्म सँगै दौडिने । अनि ३९ किमि पुग्दा स्पिड लिनुपर्ने रणनीति बनाएँ । एक फन्को लगाउँदा मैले फिनिसिङ लाइन देखेँ ।  

त्यसैवेला मलाई लागेको थियो, यहाँ कम्तीमा तीन किलोमिटर दूरी कम छ । मेरो आफ्नो घडीमा दौड पूरा गर्दा एक घण्टा ५९ मिनेट मात्र देखाएको थियो । एक किसिमले यो विश्व रेकर्ड थियो । म्याराथनको विश्व रेकर्ड दुई घण्टा दुई मिनेटको थियो । त्यहाँको स्पोट्र्स च्यानल र अन्तर्राष्ट्रिय मिडियाले नेपालका धावकले विश्व रेकर्ड राखेको हेडलाइन र समाचार बजाइसकेका थिए । पछि आयोजकले आफ्नो गल्ती सच्याउन र गुपचुप राख्न एकैपटक मेडल सेरोमनी राख्यो । ४२ किलोमिटर नै रहँदा मैले वैकुण्ठ दाइको रेकर्ड सायद तोड्थेँ ।

स्वर्णपछि व्यवहार फरक पाएँ
दुई वर्ष प्रतिबन्धमा रहँदा आगामी सागमा स्वर्ण नजितेसम्म दशरथ रंगशालामा पाइला नटेक्ने घोेषणा गरेको थिएँ । त्यसबेला धेरैले ‘राजेन्द्र भण्डारी पागल भयो’ सम्म भनेका थिए । मैले सन् २०१०को सागमा स्वर्ण चुम्दै आफूमाथि लागेको दाग मेटाउँदै रंगशालामा पाइला राखे । म एकपटक नराम्रोसँग लडेको मान्छे हुँ । सेनामा जागिर नभएको भएँ, सायद जे पनि नराम्रो घटना हुन सक्थ्यो । त्यस किसिमको अपमान सामना गर्दा जे पनि गर्न सक्छन् । अब मैले कसैसँग शिर निहुर्याएर हिँड्नुपर्ने अवस्था छैन । भनिन्छ, शक्तिको पूजा सबैले गर्छन् । मैले स्वर्ण पदक जितेँ, मप्रतिको हेराइ र व्यवहार परिवर्तन भयो । हिजोको दिनमा गाली र बेइज्जत गर्ने समूहले आजका दिनमा सम्मान गर्न थाले । डोपिङ काण्डमा नमुछेको भए म आजको दिनमा एसियाडमा एक पदक विजेता खेलाडीका रूपमा परिचित हुन्थँे होला । एक खेलाडीका रूपमा मैले नगरेको गल्तीको सजाय पाएँ । 

See More On

सुझावित समाचार