एक वर्षमा १२ सय लागुऔषध कारोबारी पक्राउ

शुक्रबार, १८ जेठ, २०८१
डिजिटल संस्करण

लागुऔषध नियन्त्रण ब्युरोले पछिल्लो एक वर्षमा एक हजार दुई सय ४० जनालाई पक्राउ गरेको छ। १ जेठ ०८० देखि १५ जेठ ०८१ सम्म आठ सय ७१ मुद्दा दायर गरेको छ।

यो एक वर्षको अवधिमा लागुऔषध अपराध नियन्त्रणमा प्रहरीलाई अभूतपूर्व सफलता मिलेको ब्युरोले जनाएको छ। यो अवधिमा ६ सय ५२ केजी गाँजा, एक सय २३ केजी चरेस, ९.७ केजी अफिम, ७.३ केजी खैरो हेरोइन, २१ केजी खात र ८.३ केजी कोकिन बरामद भएको छ।

यसैगरी, बुप्रोनर्फिन–डाइजेपाम र फेनारगन ५१ हजार सात सय ७० एम्पुल तथा ट्रामाडोल एक लाख ३४ हजार दुई सय ९१ क्यापसुल ब्युरोले बरामद गरेको छ। आइसड्रगको कारोबार गर्ने इटालियन समूहदेखि केकमा गाँजा तथा चरेस मिसाएर बिक्री गर्ने समूहलाई कानुनी दायरामा ल्याएको ब्युरोले जनाएको छ।

पछिल्लो एक वर्ष एसएसपी गोविन्द थपलियाले ब्युरोको नेतृत्व गरेका थिए। उनको प्रहरी प्रधान कार्यालय सरुवा भएको छ। थपलियाको नेतृत्वमा ब्युरोले लागुऔषध अपराध नियन्त्रणमा महत्त्वपूर्ण सफलता पाएको छ। नियमती सरुवाअन्तर्गत केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा कार्यरत एसएसपी दिनेश आचार्यलाई ब्युरोको प्रमुखमा पठाइएको छ। 

खैरो हेरोइन कारोबारका मुख्य एजेन्ट चाबहिलबाट पक्राउ
काठमाडौंमा लागुऔषध खैरो हेरोइनको कारोबार गर्ने दुई मुख्य एजेन्ट पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोले झापाका जाहिर आलम र अन्जिला खातुनलाई एक सय ९७ ग्राम खैरो हेरोइनसहित बिहीबार चाबहिलबाट पक्राउ गरेको हो।

उनीहरूले भारतबाट हेरोइन ल्याई काठमाडौंमा बिक्री गर्दै आएको ब्युरोका एसएसपी गोविन्द थपलिया बताउँछन्। आलम हेरोइनको पैसा लिन काठमाडौं आएका वेला पक्राउ परेका हुन्। उनी पैसा लिन प्लेनमा काठमाडौं आएका थिए।

लागुऔषध ओसारपसार तथा आर्थिक कारोबारका लागि उनी प्लेनमा यात्रा गर्दै आएको प्रहरीले जनाएको छ। खातुनले आफैँ पनि भारतबाट हेरोइन तस्करी गर्दै आएकी थिइन्।

सुझावित समाचार