नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्र प्राप्तिपछिका अवधिमा मुलुकको समग्र विकासले गति लिएको बताएका छन्।
गणतन्त्र दिवस– २०८१ का अवसरमा राष्ट्रिय समाचार समितिले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको अवलोकनपश्चात् उनले मुलुकमा आर्थिक समृद्धिको प्रमुख आधार मानिएको पूर्वाधार क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताएका हुन्।
अध्यक्ष नेपालले गणतन्त्र स्थापनापछि नेपालमा ‘केही पनि भएको छैन’ भन्नेलाई फोटो प्रदर्शनीले गतिलो जवाफ दिएको बताए। ‘गणतन्त्रपछिको अवधिमा विकास निर्माणको कार्य उपलब्धिमूलक भएको छ, त्यसको झलक प्रदर्शित तस्बिरले सबै कुरा यथार्थ रूपमा बोलेको छ,’ उनले भने।
नेताले गणतन्त्रका उपलब्धिलाई जनतामाझ लैजान र जनताको पक्षमा काम गर्न सबै जिम्मेवारीताका साथ लाग्नुपर्नेमा जोड दिए।
प्रदर्शनीमा ऊर्जा, विमानस्थल, पर्यटन, बाटोघाटो, सडक, पुल, स्वास्थ्य शिक्षाका संरचना, सम्पदा पुनर्निर्माण, तराईका हुलाकी मार्ग, मूलपानी क्रिकेट मैदान, काठमाडौं–मधेश द्रुतमार्ग, थानकोट–नागढुंगा सुरुङमार्ग, सुनकोशी–मरिन डाइभर्सन बहुद्देश्यीय आयोजना, सौर्य प्यानल, टेलिफोनका फोरजी टावर, एकीकृत बस्ती, राष्ट्रिय गौरव, प्रदेश गौरवका आयोजनालगायत तस्बिर समावेश छन्।