धनगढी उपमहानगर र गलेश्वर आश्रमलाई महालक्ष्मीको आर्थिक सहयोग

बिहिबार, १७ जेठ, २०८१
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंक लिमिटेडका विभिन्न शाखाले नगरपालिका र आश्रमलाई सहयोग गरेका छन् । जसअन्तर्गत बैंकको धनगढी शाखाले धनगढी उपमहानगरपालिकाको ‘नगरप्रमुख शैक्षिक सुधार कोष’लाई एक लाख ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । 

ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाले आर्थिक अभावका कारण बीचैमा पढाइ छाड्नुनपरोस् भनेर स्थापना गरिएको नगरप्रमुख शैक्षिक सुधार कोषमार्फत विपन्न परिवारका बालबालिकाको शैक्षिक गुणस्तर सुधार्न गर्न मद्दत पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको जनाएको छ । 

बैंकको सुदूरपश्चिम प्रदेश प्रमुख सुनीलकुमार नेपालले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरे ।त्यसैगरी, नारायणगढ शाखाले देवघाटधाम, तनहुँस्थित गलेश्वर आश्रमलाई तीन लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

आश्रमले शिव मन्दिर निर्माण गरिसकेको, तर आर्थिक अभावका कारण मन्दिर प्रांगणमा नेपाली ढुंगा बिछ्याउने कार्य बाँकी रहेकाले सो कार्य सम्पन्न गर्नका लागि बैंकले उक्त सहयोग गरेको बैंकको भनाइ छ । बैैंकको बाग्मती प्रदेश ‘ख’ प्रमुख शम्भुप्रसाद पराजुलीले गलेश्वर आश्रमलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन् ।

 त्यसैगरी, महिलबार (लुम्बिनी) शाखाले लुम्बिनीमा निःशुल्क पानी तथा मिठाई वितरण गरेको बताइएको छ । 

सुझावित समाचार